Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रचण्डको प्रतिवेदन : नेतृत्वको ‘ओभर कन्फिडेन्ट’ नै माओवादीका लागि घातक



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्वमा पलाएको ओभर कन्फिडेन्ट नै माओवादी आन्दोलनका निम्ति घातक बनेको स्वीकार गरेका छन् । आफ्नै कमजोरी औल्यांउँदै प्रचण्डले चुनवाङ बैठक पछिका निर्णयहरुमा नेतृत्वले जनवादी केन्द्रीयतालाई अतिक्रमण गर्ने शैली अपनाउँदा समग्र पार्टीभित्र समस्या निम्तिएको बताएका छन् ।

चुनवाङ्ग बैठक यता शान्ति प्रक्रियामा आउँदै गर्दा नेतृत्वबाट भएका महत्वपूर्णं निर्णय निकै एकान्की र अदुरदर्शी भएको प्रचण्डको निष्कर्ष छ । उनले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तथा जनमुक्ति सेना र हतियारलाई क्यान्टोन्मेन्टमा राख्ने निर्णय जे–जसरी भए त्यो निकै गलत भएको स्वीकार गरेका छन् ।

‘चुनवाङ्ग बैठकबाट सामान्य सैद्धान्तिक र राजनैतिक दिशाबोध गरिएको भएता पनि शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तथा जनमुक्ति सेना र हतियारलाई क्यान्टोन्मेन्टमा राख्ने जस्तो अत्यन्त गम्भीर र संवेदनशील निर्णय न्यूनतम रुपमा केन्द्रीय समितिको बैठकबाट खुलस्त बहस छलफल गरेर पार्टीको नीति, योजना र कार्यक्रमबारे समेत साझा धारणा बनाएर मात्र गर्नु पर्दथ्यो’, प्रचण्डले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘वस्तुगत रुपले सही नै भए पनि नेतृत्वको उपरोक्त निर्णय लिने प्रक्रियाले पार्टीभित्र कहीँ न कहीँ अविश्वास र आशंकाको जन्म भयो यसमा अध्यक्ष कमरेड प्रचण्डको मनोगत तथा पार्टीको जनवादी केन्द्रीयतालाई अतिक्रमण गर्ने (ओभर कन्फिडेन्ट) अति आत्मविश्वास झल्ने कमजोरी देखिएको छ ।’

उनले सेना समायोजनका विषयमा लिइएको एकांकी निर्णयले नै पार्टीभित्र ठूलो अविश्वास पैदा भएको स्वीकार गरेका छन् । प्रचण्डले प्रतिवेदन अघि भनेका छन्, ‘सेना समायोजनासँग सम्बन्धित निर्णय प्रक्रियाले एकीकृत र केन्द्रीकृत रहेको नेतृत्वका जिम्मेवार कमरेडहरुको मनमा चिसो पस्न गयो भने अर्कातिर आम कार्यकर्ता पंक्तिमा अन्यौंल बढ्न गयो ।’

नेतृत्वमा वैचारिक स्पष्टता नहुँदा पार्टीभित्र अराजकता

प्रचण्डले आफ्नो प्रतिवेदनमा शान्ति प्रक्रियामा आएयता पार्टीभित्र वैचारिक र राजनैतिक अस्पष्टता जन्मिएकै कारण गुटबन्दी, अराजकता र विभाजन आएको स्वीकार गरेका छन् । उनले संविधान निर्माणको चरणमा नेतृत्वबाट सही निर्णय लिन नसक्दा नै प्रगतिशील संविधान बन्ने कुराबाट चुकिएको स्वीकार गरेका छन् ।

प्रचण्डको प्रतिवेदनमा भनिएको छ, ‘मुखले संविधान निर्माणका कुरा गर्ने र मनले विद्रोह कुरा गर्ने भन्ने अत्यन्त अवस्तुवादी र अपारदर्शी कुराले शान्ति सम्झौता गरेर सेना र हतियारलाई क्यान्टोनमेन्टमा राखिसकेपछि विद्रोह त हुने कुरै थिएन बरु संविधान सभाबाट अधिकमत प्रगतिशील संविधान निर्माणको काममा पनि ठूलो क्षति पुग्न गयो । यहि वैचारिक र राजनैतिक अस्पष्टताको जगमा नै पार्टीमा गुटबन्दी र अराजकता झाँङ्गिएर जान थाल्यो ।’

‘प्रचण्ड–पथ’ पार्टीको सम्पत्ति बनेन

पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनले सर्वसम्मत निर्णय गरेर अपनाएको ‘प्रचण्ड–पथ’लाई प्रचण्डको व्यक्ति पूँजी जस्तो गरि स्थगित गरिँदा पार्टीभित्र निकै ठूलो आशंका र अराजकता निम्तिएको बताएका छन् । प्रचण्डले ‘प्रचण्ड–पथ’लाई पार्टीको सम्पत्तिको रुपमा स्थापित गर्न नसक्नु आफ्नो कमजोर भएको स्वीकार गरेका छन् ।

‘युद्धको बीचमा जीवन हत्केलामा राखेर सम्पन्न गरिएको दोस्रो राष्ट्रिय सम्मेलनको सर्वसम्मत निर्णय तथा आम माओवादी कार्यकर्ता एवं समर्थक जनसमुदायले समेत सवर्ग अनुमोदन गरेको ‘प्रचण्ड–पथ’ न केन्द्रीय समितिमा न राष्ट्रिय भेला वा सम्मेलन आयोजना गरेर कुनै खालको बहस, छलफल र निर्णय प्रक्रिया बिना नै प्रचण्डको व्यक्तिगत पूँजी जस्तो गरी स्थगित गर्नुले पनि पार्टीभित्र गम्भीर आशंका र अराजकतालाई टेवा पुर्‍यायो, वास्तवमा प्रचण्ड पथका बारेमा पपार्टीभित्र गम्भीर बहस, छलफलसहित सम्भव भए राष्ट्रिय सम्मेलन, सो सम्भव नभए कम्तिमा केन्द्रीय समितिको बैठकमार्फत त्यसबारे एकरुप धारणा बनाएर निर्णय लिनु पर्दथ्यो’, प्रचण्डको प्रतिवेदनमा भनिएको छ, ‘तर, शान्ति प्रक्रियामा आए पछि विचार र नेतृत्वको आवश्यक बहस, छलफल गरी निष्कर्ष निकाल्ने काम गर्न सकिएन, यी दुवै कुरा नगरी अत्यन्त हल्का ढंगले विषयलाई पन्छाइनु गलत भएको छ ।’

तत्कालिन समय माओवादी आन्दोलनलाई अगाडि बढाउन ‘प्रचण्ड–पथ’ निकै महत्वपूर्णं आधार भएपनि २१ औं शताब्दीको यो कालखण्डमा भने सन्दर्भ सामाग्रीका लागि मात्रै उपयुक्त हुने निष्कर्ष निकालेका छन् ।

उदारवादी शैलीले समस्या

प्रचण्डले आफ्नो प्रतिवेदनमा एमालेसँग गरिएको एकतामा आफ्नो नेतृत्वगत कमजोरीका स्वीकार गरेका छन् । उनले आफु उदारवादी बन्दा ओलीलाई षडयन्त्रमुलक खेल खेल्नै प्रशस्त ठाउँ सिर्जना भएको बताएका छन् । उनले आफ्नो उदारवादी कमजोरी सच्याउन विशेष सजक र सर्तक रहन जरुरी रहेको बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा