काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताएकी छन् ।
“यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।” राष्ट्रपतिद्धारा जारी सन्देशमा भनिएको छ ।
देशभक्तिको भावनाले ओतप्रोत हाम्रा पूर्वजको गौरवपूर्ण योगदान र सचेत प्रयत्नका कारण नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा रहेको राष्ट्रपतिको भनाइ छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अङ्कित रहेको राष्ट्रपतिले स्मरण गरेकी छन् ।
राष्ट्रपतिद्धारा जारी सन्देशमा भनिएको छ, “नेपाल एकीकरणको अभीष्ट मुलुकभित्र उपलब्ध प्राकृतिक स्रोत तथा सम्पदाको उपयोग गरी आत्मनिर्भर, स्वाधीन र स्वावलम्बी अर्थन्तन्त्रसहितको सबल राष्ट्र निर्माण गर्नु नै थियो ।”
नेपाल एकीकरणमार्फत यहाँका मौलिक संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधार भूमिसमेत तयार भएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ । सन्देशमा अगाडि भनिएको छ, “तत्कालीन समयमा पृथ्वीनारायणले देशको सामाजिक, आर्थिक एवं वैदेशिक नीतिका सन्दर्भमा छाडेर गएका सन्देश वर्तमान अवस्थामा पनि उत्तिकै मननीय रहेका छन् ।”
वि.सं.२०७८ पुस २७ मंगलवार ०८:५२ मा प्रकाशित





























