
बाटो छेउमा राखेको बेञ्चमा बस्दै नरेशले पसलेलाई अर्डर गर्छ – ‘साहुजी तीन कप चिया । चिनी कम राख्नु होला है ।’
पसलेले सोध्छ –‘ब्लेक टि कि लेमन टि ?’
‘मिल्क टि ल्याउनुस् न है ।’
तीनजना साथी गफिन थाल्छ । रोशनको मुहार न्याउरो देखेर नरेशले भन्छ –‘यस्को जहिले पनि टेन्सन हुन्छ ।’
‘के गर्नु यार ! आमाले गर्दा सधैं बुढिले किचकिच गर्छ । गाउँ पठाई देउ भनेको भनै गर्छ । के गरुँ । के नगरुँ जस्तो आफुलाई भैराछ ।’ रोशनले विरक्त मानेर भन्छ ।
उस्को कुरा सुनेर दुबैजना गलल हाँस्न थाल्छ ।
झर्केर भन्छ – ‘याँ ! आफुलाई कस्को टेन्सन भैरा’छ । तिमेरुलाई हाँसो ?’
– ‘हैन यार ! न रिसा न । हामीले तिम्रो कुरा सिरियसली पो लेको । हाँस्यो भन्दैमा अन्यथा नठान न ।’ ( चिया आइपुग्छ ) ‘ल ! चिया पि’– दिलिपले सम्झाउँदै भन्छ ।
– ‘यौटा स्वास्नी कजाउन नसक्ने लाछी । आमा भनेको आमा हो । आमा भन्दा संसारमा क्वै ठूलो हुन्छ ? मेरी आमालाई मैले दूध भात खुवाएर सुखका साथ पालेको छु ।’ चिया पिउँदै नरेशले यसो भन्दै गर्दा पछाडीबाट च्यातेको मैलो कपडा लाएकी कपाल फोहरले जिङरिङ भएकी यौटी बुढी आमाले, ‘भोक लागेको छ बाबू । क्यै खान दिनुस् ।’ भन्दै माग्छिन ।’
नरेश फर्केर हेर्छ । आफ्नै छोरा देखेर बुढी आमाले भन्छ – ‘बाबू नरेश !’
ती आम्मै यसो भन्ना साथ रोशनले सोध्छ –‘तपाईं नरेशलाई चिन्नु हुन्छ आमा ?’
आँखाभरी आँसु लिएर भन्छिन –‘बाबू ! आफ्नो छोरालाई पनि आमाले चिन्दैन र ?’
यो सुनेर लाजले नरेशको अनुहार रातो पिरो हुन्छ ।
अनुराग अरुण, महालक्ष्मी नपा ८, ललितपुर