
कमजोर छ ऊ
भनेको उसको मन कमजोर छ
भनेको उसको मुटु कमजोर छ
भनेको उसको मस्तिष्क कमजोर छ
त्यसैले
बेला कुबेला
गोत्र एउटै भएको
तर, नाम थर राशि
फरक फरक भएको भाइरसले
आकर्मण गर्छ घेरा हालेर
र थिलो थिलो पार्छ
उसको कमजोर मन
उसको कमजोर मुटु
उसको कमजोर मस्तिष्क ।
अनि,अनि
रामायणका दोहा गाउँदा गाउँदै
हनुमान चालिसा उत्रिए जस्तै
कम्पन छुटाउँछ
बर्बराहट आउँछ
अन्ट सन्ट
थोरै बुझिने
धेरै नबुझिने गरी बकाउछ
द्वैध अर्थी शब्द वाण वाक्यहरु,
आफ्नै लयमा
उसको विलयमा ।
भाषणका पर्रा छुटाउँछ
पर्र पट्किन्छन् हातहरू
ह्वाल ह्वाल्ती दूर्गन्धित शब्दहरू बान्ता गराउदै
दंगदास, मक्ख
परचक्री भाइरस
चुडाउँदै आस्थाका स्नायुहरू
चलन चल्तीका
सेता राता हरिया पहेंला रङ्गहरूलाई
भारी कष्ट दिंदै शब्दहरूलाई
यथार्थ सकार्न बबुरो वर्तमानलाई ।
अझ,
सिधै दृष्टिमा आकर्मण
शाश्वत यति, गति र नियम नै
उल्टो पाल्टो पार्ला कि जस्तो गरेर,
उधिन्छ मज्जाले
उसको भित्री आँत ।
बाङ्गोलाई सोझो
र सोझोलाई बाङ्गो प्रमाणित गराउला कि जस्तो
कालोलाई सेतो
र सेतोलाई रातो,हरियो पहेंलो
आफुखुसी रङ्गहरूमा,
बदल्छ जादुगरले जस्तै घरि घरि
लठ्याउँछ मिलाएर शब्दजालमा ।
विद्या,बुद्धि, विवेक
कसौटीमा घोटेर
अब्बल प्रमाणित गर्न
हज्जार तर्क
लाख कु पनि (तर्क)
शेष नागलाई माथ गर्दै
पछार्न लगाउँछ
धोबीले लुगा पछारे सरि च्याप्टो लाम्चो ढुंगामा उसलाई,
झुट बस्त्र
सफेद हुन्छ भन्दै ।
भए भरको सीप
भए भरको उर्जा
भए भरको प्रज्ञा
तेल र पानी उस्तै हो भन्दै
ढल र जल उस्तै हो भन्दै
जोर र बिजोर उस्तै हो भन्दै
औशी र पूर्णे उस्तै हो भन्दै
विनियोजन गर्न लगाउँछ भैपरी आउने शिर्षकहरूमा ।
संक्रमण तीब्र छ
प्रकोप व्यापक छ
दिन दुगुना रात चौगुनाका हिसाबले
निर्दा निमुखाहरू पिस्दै जाँतोमा
घुन पिसिए जस्तै पिठोमा ।
भाषणका पर्रा छुटाउँछ
पर्र पट्किन्छन् हातहरू
ह्वाल ह्वाल्ती दूर्गन्धित शब्दहरू बान्ता गराउदै
दंगदास, मक्ख
परचक्री भाइरस
चुडाउँदै आस्थाका स्नायुहरू
चलन चल्तीका
सेता राता हरिया पहेंला रङ्गहरूलाई
भारी कष्ट दिंदै शब्दहरूलाई
यथार्थ सकार्न बबुरो वर्तमानलाई ।
ओम आचार्य, अर्घाखाँची