
अति सुन्दर मोहक फूल अहो,
कसले यसमा नव राग दियो ?
अति कोमल यो मन गर्छ छुन,
भन फूल सधैँ प्रिय लाग्छ किन ।
कति कष्ट खपी कन फूल खिल्यो,
तब पो सबको अझ प्रेम मिल्यो ।
दिनु पर्छ सदा, सुन! प्रेम लिन,
भन फूल सधैँ प्रिय लाग्छ किन ।
जब बोट बुढो तब हेर्दछ को ?
अघिको सब प्रेम त लोप भयो ।
जब रूप ढल्यो, अनि बन्छ घिन,
भन फूल सधैँ प्रिय लाग्छ किन ।
जब यो मन हर्षित बन्छ सदा,
तब खिल्दछ फूल व्यथा नहुँदा ।
मन बाग फुलेछ प्रशन्न बन,
भन फूल सधैँ प्रिय लाग्छ किन ।
छन्द: तोटक
गण: IIS IIS IIS IIS
सीता शर्मा ’शीत’ , सिक्किम