
काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको छ ।
२०५५ बैशाख २७ मा शाखा अधिकृतबाट सेवा सुरु गरेका दार्चुलाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्व घर भई हाल सुदूरपश्चिम प्रदेश वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक (उपसचिव) हेमराज विष्टले २२ वर्षमा काठमाडौंमा मात्रै २२ ठाउँमा घर बनाएर विक्रि गरेको र विभिन्न बैंकमा १९ वटा खाता खोलेर लेनदेन गरेको समाचार मंगलवारको कान्तिपुर दैनिकमा छ ।
विष्टले सरकारी सेवा प्रवेश गरेको २२ वर्षमा आधा दर्जन जिल्लाका ८७ ठाउँमा पत्नी रुवी जीसी र आफ्ना नाममा जग्गा किनेको भेटिएको छ । मध्यस्तरको पृष्ठभूमिका विष्टले २२ वर्षमा कमाएको सम्पत्तिको विवरण खोज्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई एक वर्ष लाग्यो । अख्तियारले विष्टको सम्पत्तिमाथि २०७७ असोजबाट अनुसन्धान थालेको थियो ।
विष्ट दम्पत्तिविरुद्ध अख्तियारले पुष २१ मा ६ करोड ८७ लाख ५७ हजार विगो र स्रोत नखुलेको जग्गाजमिन जफतको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
अख्तियारले २ जना अनुसन्धान अधिकृत खटाएर विष्टको सम्पत्तिको खोजविन गरेको थियो । त्यसक्रममा विष्टले सेवा प्रवेश गरेको पाँच महिनापछि २०५६ असोज ६ गते देखि २०७७ असोज १८ को अवधिमा काठमाडौं, भक्तपुर, दाङ, कैलाली, कन्चनपुर, कास्की लगायतका जिल्लाका ८७ ठाउँमा जग्गा खरिद गरेको भेटिएको थियो । उनले २०७१ र २०७४ मा सबैभन्दा बडी ८/८ ठाउँमा जग्गा जोडेको देखिन्छ । उनी २०७१ मा प्युठान र २०७४ मा सुर्खेतको जिल्ला वन अधिकृत थिए । सुर्खेतमा २०७२ जेठदेखि २०७५ असोजसम्म बसेका उनले त्यसअवधिमा काठमाडौंसहित १९ ठाउँमा जग्गा किनेको भेटिएको छ । २०७५ देखि २०७७ को ३ वर्षको अवधिमा १५ ठाउँमा जग्गा किनेका उनी त्यसविचमा जिल्ला वन कार्यालय कैलाली, जिल्ला वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र धनगढी र वन निर्देशनालय धनगढीमा कार्यरत थिए ।
उनले बाँकी जग्गा २०५६ देखि २०७० को बीचमा हरेक वर्ष खरिद गरेको देखिएको छ । त्यसमध्ये ५५ ठाउँको जग्गा बेचिसकेका छन् । काठमाडौंको कपन र चुनिखेलमा २२ वटा घर बनाएका उनले १९ वटा बेचिसकेको र ३ वटा घर पत्नी रुवीको नममा राखेको पनि समाचारमा उल्लेखछ । काठमाडौंको कपनमा मात्रै उनको नाममा १२ ठाउँमा जग्गा छ भने कपन र महाकाल क्षेत्रमा २२ वटा घर बनाएको पाइएको छ । त्यस्तै चपलीमा आठ ठाउँमा जग्गा छ ।
उक्त सम्पत्ति आफू सरकारी सेवा प्रवेश गर्नुअघिको बचत र त्यसपछिका सेवा–सुविधा लगायतबाट किनेको विष्टको जिकिर छ । तर, उनको जिकिर पत्याउनै नसकिने अख्तियारको अनुन्सन्धान प्रतिवेदनमा उल्लेखछ ।