
काठमाडौं । सत्तारुढ गठबन्धनभित्र वैशाखमै चुनाव गर्ने विषयले खटपट सिर्जना गरेको छ । निर्वाचन आयोगले वैशाख दोस्रो र तेस्रो साता निर्वाचन गर्न सिफारिस गरेसँगै सत्ता गठबन्धनभित्र खटपट सिर्जना भएको हो ।
सत्ता साझेदार कांग्रेस वैशाखमै चुनाव गर्ने पक्षमा देखिएको छ भने माओवादी केन्द्रसहितका अन्य दल तत्काल चुनावको पक्षमा नदेखिएका हुन् । मंगलबार बसेको गठबन्धनको बैठकले वैशाखमै चुनाव गर्ने सहमति भएको विषय बाहिरिएको थियो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले वैशाखमा गर्ने विषयमा सहमति भएको बताएका थिए । तर, दलहरुबीच मितिमा सहमति नभएको खुलाएका थिए ।
तर, बालुवाटास्रोत स्पष्ट पारेअनुसार वैशाखमा चुनाव गर्ने विषयमा सहमति नै भएको छैन् । सत्ता साझेदार कांग्रेस चुनावको पक्षमा उभिएको भए पनि अन्य दलहरु चुनावको एजेण्डामा सहमत छैनन् ।
मंगलबार बसेको सत्ता गठबन्धनको उच्चस्तरीय रानजीतिक समन्वय समितिको बैठकमा देउवाले “वैशाखमै चुनाव गरौं” भन्दै प्रस्ताव राखेका थिए । तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरुले भने उक्त विषयमा सहमति जनाएनन् ।
नेताहरुले कोरोनाको कारण वैशाखमै चुनाव गर्न कठिन हुने तर्क राखेका थिए । बैठकमा सहभागि एक नेताले बताएअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “वैशाखमै चुनाव गर्न कोरोनाले साथ नदेला, तत्काल निर्णय नलिऔं” भन्ने धारणा राखेका थिए ।
देउवालाई चिन्ता एमाले राजनीतिको
सत्ता गठबन्धनको बैठकमा वैशाखमै चुनाव गर्ने विषय सहज नभएपनि एमालेले चुनावी विषयलाई नै राजनीतिकरण गर्ने चिन्ता देउवाले राखेका थिए । उनले वैशाखमा चुनाव नगर्दा जनताको बीचमा आफुँहरु अलोकप्रिय हुनसक्ने सम्भावना औंल्याएका थिए ।
“कोरोनाले वैशाखमै चुनाव गर्ने विषय त्यति सहज त छैन तर, एमालेले यही विषयलाई नै राजनीतिकरण गर्छ, यो अवस्थामा चुनावको तयारीमै जुट्नु उत्तम होला, त्यतिञ्जेल कोरोना पनि नरहला ।”
आफुँहरुलाई चुनाव विरोधी भनेर एमालेले चर्चा चलाउने उनको भनाई थियो । उनले वैशाखमा हुने चुनाव आफुँहरु अनुकुल भएको पनि बताएका थिए ।
कांग्रेस इतरलाई आन्तरिक तयारीको चिन्ता
अहिले चुनावमा जाने विषयमा माओवादी र एकीकृत समाजवादीले मुख्यतः कोरोनाको कारणलाई देखाइरहेका छन् । तर, वास्तविक विषय उनीहरुभित्रको आन्तरिक तयारी रहेको देखिन्छ । माओवादी केन्द्रले तल्लो तहमा अधिवेशन गरेको भएपनि चुनाव नै गर्ने गरी तयारी गरिसकेका छैनन् । एकीकृत समाजवादीले सबै जिल्लामा कमिटीसमेत विस्तार गरिसकेको छैन् ।
यता, जसपा भर्खरै विभाजन भएर आएको पार्टी जसको तल्लो तहमा निकै समस्या छ । यहीबीच जसपामा विवाद बढीरहेको छ । पार्टी विभाजन पछि जसपाको मुख्य प्रभाव क्षेत्रमै समस्या देखिएको छ ।