हिजआज गाऊँले
कतार, दुवई र हङ्कङ्गको सपना देखिरहन्छ
भ्रमण गर्छु भन्छ इज्राइल, इटली र इराकको
अमेरिका मै गाऊँ बसाउँने रहर गर्छ
हुनत, त्यहाँ जे छ, त्यो यहाँ पनि छ
छैन त केवल,
त्यहाँको जस्तो सम्पन्न देश र उच्च शिक्षा
स्वच्छ विचारमा कहाँ पछि छ हाम्रो गाऊँ ?
तर, किन हो ?
गाऊँले गाऊँलाई मनै पराउँदैन
मकै, धान र अँलाईची रोप्नै खोज्दैन गाऊँले
सुन्तला, अदुवा र कुचो फलाउनै मान्दैन
घुर्की लगाई बस्छ
भुटेको मकै र नुनको चिया खान्न भनेर
कोदो र फापरको रोटी देख्दै नाक खुम्च्याउँछ
सिलाम र फिलिङ्गे भूल्यो गाऊँले
तरूल कन्दमुल बस्तुले खान्छ
किनीमा परै गन्हाउँछ अरे गाऊँलाई
भट्मासले जबडा दुख्छ भन्छ
गुन्द्रुक सिन्कीको त झन् कुरै नगरौं
पिज्जा र चिकन चिल्ली खोज्छ
भाती जाँड र तीन पाने होइन
उसलाई महङ्गो वियर र इण्डियन रम चाहियो रे
पटक्कै बस्न रूचाउँदैन
खरको छाना र चिमको भित्ताले बारेको घरमा
पक्की घर, भौतिक समृद्धिको
लालची भएको छ गाऊँ
पौरखी गर्नबाट खै किन डराइबस्छ गाऊँ !
शहरमै सार्छु भन्छ गाऊँलाई
झिलीमिली उतै मनाउछु भनेर दिक्क लागाउँछ
अनि,
संस्कार र संस्कृतिको पोका बन्धकी राखेर
गाऊँ, गाऊँतिरै फर्किन्छ
चिल्लो सडकमा हिँड्न रूचाउँछ गाऊँ !
जुनदिनदेखि पस्यो गाऊँको निन्द्राभित्र
रमझमको सपनाहरू
ऐंठन पारी बस्छ गाऊँवासीहरूलाई
गाऊँको,
सौन्दर्य र रौनकतामा आँच आउन थालेको छ
मान – सम्मानहरूमा बाढ आउन थालेको छ
‘कम श्रम अधिक आयश्रोत’ का
प्रेतात्माहरू कुविचारको चिहानबाट
हात हल्लाई रहन्छ !
हात हल्लाई रहन्छ !!
निरूविन्दु परियार, जल्ढक्का कालेबुङ्ग, भारत !
वि.सं.२०७८ माघ ८ शनिवार ०८:१० मा प्रकाशित