काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारको कारण मुलुक नै असफल बन्ने दिशातिर गएको बताएका छन् । आइतबार पछिल्लो राजनीतिक घटनाबारे एक वक्तव्य जारी गर्दै ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले राज्यका तीनवटै निकायलाई पङ्गु बनाएर मुलुकलाई असफलतातर्फ धकेलिएको आरोप लगाएका छन् । उनले एकपछि अर्को गर्दै सरकार विदेशीको ‘कम्फर्टेबल’ बनिरहेको पनि बताए ।
ओलीले आर्थिक रुपमा देश पूर्णं असफल बन्ने दिशातिर गएको बताएका छन् ।
यस्ता छन् ओलीले गठबन्धन सरकारमाथि लगाएका आरोपहरु :
१. सेटिङ्गका आधारमा परमादेश: शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन सर्वोच्च अदालतले दिएको परमादेश सेटिङ्गमा भएको अध्यक्ष ओलीको निष्कर्ष छ । अलोकतान्त्रिक परमादेशमा भएको सेटिङ्गसँगै नै अदालतमा चरम अराजकता निम्तिएको उनको तर्क छ । अदालतमा देखिएको आन्दोलन गठबन्धनको प्रोत्साहन र संरक्षण भएको भन्दै उनले यो निकै असंवैधानिक शैली भएको बताएका छन् ।
२. तीन वटै अंगलाई असफल बनाउन खोजियो: अध्यक्ष ओलीले वर्तमान सरकार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई असफल बनाउन उद्दत रहेको आरोप लगाएको छन् । कार्यकारी अंगका रूपमा सरकार संविधानले निर्दिष्ट गरेको न्यूनतम दायित्वबाट पन्छिदा न्यायपालिकामा हड्तालको अवस्था सिर्जना गर्न उद्दत रहँदा र व्यवस्थापिकामा एमालेलाई देखाएर आफ्नो दायित्वबाट पन्छिन खोज्दा राज्यका तीनवटै निकायमा अस्थितरता निम्तिएको अध्यक्ष ओलीले उल्लेख गरेका छन् । यसले राष्ट्रलाई नै असलताको दिशातिर धकेल्ने जोखिम पैदा भएको विज्ञप्तिमा उल्लेख छ ।
३. सरकार आर्थिक नीतिमा पूर्णंं असफल: गठबन्धन सरकार आर्थिक रुपमा पूर्णं असफल भएको निष्कर्ष अध्यक्ष ओलीले निकालेका छन् । अर्थतन्त्रका सबै सूचकहरुले मुलुक गम्भिर अनिष्ट तर्फ जाँदै गरेको उनले बताए । अध्यक्ष ओलीले आफ्नो पूर्ववर्ती सरकारले ल्याएको बजेटलाई विस्थापित गरेर गठबन्धन सरकारले मुलुकलाई अधोगति तर्फ लैजान खोजेको आरोप लगाएका छन् ।
४. परराष्ट्र नीतिमा सरकार पूर्णं असफल: अध्यक्ष ओलीले परराष्ट्र नीतिमा मुलुक पूर्णं असफल भएको निष्कर्ष निकालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्ने गरेको ‘कम्फर्टेबल’ सरकारको विषयलाई उठाउँदै उनले सरकार राष्ट्रिय हित विपरित हिँडिरहेको आरोप लगाएका छन् । सीमा समस्याका विषयमा सरकारले मौनता साँधेको प्रति उनले आपत्ति जनाएका छन् । उनले जयसिंह धामी घटनामा सरकारले लाचारी प्रकट गरेको बताए । दर्जनौं मुलुकहरुबाट राजदूत फिर्ता गरी महिनौंसम्म कुटनीतिक नियोगहरु नेतृत्व विहिन बन्नु निकै गैरजिम्मेवार काम भएको अध्यक्ष ओलीको भनाई छ ।
५. स्थानीय तहको निर्वाचन टार्ने बाहानामा सरकार: अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनलाई बाहाना बनाएर धकेल्न प्रतिनिधिसभाको निर्वाचन वैशाखमा गर्ने ‘कार्ड’ फालिएको आरोप लगाएका छन् । वैशाखमा संसदको चुनाव गर्ने कुरा गलत नियतका साथ अघि सारिएको उनको भनाई छ । ओलीले ‘अर्ली इलेक्सन’को कुरा गर्ने सरकारले सार्वजनिक रुपमा जनतासँग क्षमायाचना गर्नुपर्ने पनि माग गरेका छन् ।
६. कोभिड महामारी नियन्त्रणमा सरकार पूर्णं असफल: अध्यक्ष ओलीले कोभिड महामारीमा सरकार लाचार र गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । सिटोमोलसमेत उपलब्ध गराउन नसक्नुले सरकार निकै गैरजिम्मवार देखिएको तर्क उनको छ । उनले २४ लाख मात्रा खोप हराउनुमा सरकारको चरम गैरजिम्मेवार र लज्जास्पद कुरा भएको बताए ।
७. ललिता निवास प्रकरणमा दोषी जोगाउन खोजियो: ललित निवास प्रकरणमा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई काम नै गर्न नदिएको आरोप अध्यक्ष ओलीले लगाएका छन् । उनले प्रकरणका दोषीहरुलाई उन्मुक्ति दिने खेलोमा सरकार लागेको आरोप लगाएका छन् । उनले बतास प्रकरणमा उद्यमी तथा व्यवसायीलाई तर्साउने र बारगेनिङ्ग गर्ने काम भएको बताए ।
८. संक्रणकालीन न्याय सम्पादनमा सरकार गम्भीर भएन: गठबन्धन सरकार संक्रमणकालीन न्याय सम्पादनमा गम्भीर नभएको आरोप अध्यक्ष ओलीले लगाएका छन् । द्वन्द्व पीडितलाई न्याय दिन सरकार अनिच्छुक रहेको भन्दै दण्डहिनालाई सरकारले नै प्रोत्साहन गरेको आरोप उनको छ । मन्त्री रेणु यादवले त्यसकै जगमा ‘गौरकाण्ड’ दोहोर्याउने भनि धम्की दिएकोप्रति एमालेले आपत्ति जनाएको छ । मन्त्री यादवमाथि तत्कालै कारबाही गर्न पनि एमालेले माग गरेको छ ।
यस्ताे छ अध्यक्ष ओलीले जारी गरेकाे प्रेस वक्तव्य
वि.सं.२०७८ माघ ९ आइतवार १५:०८ मा प्रकाशित





























