
सरकारी काममा सर्वसाधारणले कतिसम्म सास्ती पाउँछन् भन्ने कुरा चितवनका जोन कँडेलले पाएको सास्तीले देखाएको छ । सार्बजनिक काम (पानी मुहान र जग्गा संरक्षण) सम्पन्न भएको रकम भुक्तानीका लागि उनले १४ दिन सास्ती खेप्नु परेको छ ।
अघिल्ला ७ दिन उनको फाइल वडामा रोकियो । त्यसपछि भरतपुर महानगरपालिकामा पुगेको फाइललाई सदर गराउन उनले थप सातदिन खर्चनु पर्यो ।
कंडेलले वडाबाट फाइल महानगरमा पुर्याएपछि त्यसलाई सदर गराउन सातदिनसम्म भोगेको सास्तीले आम सर्वसाधारणले सरकारी काम गराउन अझै कति सास्ती बेर्होनु पर्छ होला भन्ने देखाएको छ । आफै सामाजिक अभियन्ता रहेका कंडेलले त यति सास्ती बेर्होनु पर्यो भने अन्य सर्वसाधारणले सरकारी कामकै लागि कति हण्डर र ठक्कर खानुपर्छ होला भन्ने सोचनीय विषय बनाएको छ ।
कंडेलले महानगरमा फाइल सदर गराउनका लागि भोगेको पीडा मात्रै होइन महानगरलाई जनताको काममा चुस्त बन्न समेत सुझाव दिएका छन् । ‘जनताको घर दैलोमा सरकार’ भन्ने लोकतान्त्रिक सरकारले व्यवहारमा पनि जनताको घरदैलोमा पुगेर सेवा दिन सकोस् भन्ने कुरा जोनले भोग्नुपरेको पीडाले सन्देश दिएको छ ।
यस्तो छ जोनको कथा
आखिर युद्ध जितेरै छाडियो !
सार्बजनिक काम (पानी मुहान र जग्गा संरक्षण) सम्पन्न भएको रकम भुक्तानीको एउटा फाईल वार्डमा ७ दिन बस्यो । कामको चाप होला बस्यो ठिक छ मेरो समय चाहिँ बर्वाद भएन भनेर चित्त बुझाईयो ।
७ दिनपछी माघ २ गते वार्डको सिफारिस लिएर फाईल महानगर पुराए ।
माघ २ आईतबार,
वार्डबाट फाईल फलानो बरिष्ठ इन्जिनियर भए ठाउँ पुर्याउनु भनेकाले महानगर पुगेर उहाँ सामु नै फाईल पेस गरें । बरिष्ठ इन्जिनियर साबले फाईल हेर्नू भो ल यो एकपटक तल योजना साखा फलानो इन्जिनियर साबलाई देखाउनु अनि यहि लिएर आउनु भनेर भनेपछी सम्बन्धित कार्यकक्षमा आए । कुर्सी खाली थियो । एकघण्टा कुरें । सोही साखाकी एक कर्मचारीसँग मोबाइल नम्बर मागे । फोन गरेपछि इन्जिनियर साब बिदामा रैछन् भन्ने थाहा लाग्यो । म काठमाडौंबाट फर्किदैं छु बाटोमै छु भोली आउँछु अफिस । बिदा लिनु अस्वभाविक होईन तर बिकल्प ? कुर्ने कुरा भएन अनि घर फर्किए ।
माघ ३ सोमबार,
११ बजे फाईल बोकेर महानगर पुगें । त्यो कुर्सी खाली नै थियो । अब त फोन न छ नि म संग (फोन न नहुने सेवाग्राहीलाई कुर्नुको बिकल्प छैन म भन्दा नि घाँसी सेवाग्राही प्रसस्तै हुन्छन् ) फोन गरें –खाना खान आएको छु ११ः३० तिर आईपुग्छु भन्ने जवाफ पाएर हस भन्दै फोन राखे ।
११ः४४ मा उहाँ आईपुग्नु भो । खुशी लाग्यो । फाईल दिए । हेर्नू भो अर्को इन्जिनियर साबलाई देखाउँछु भनेर अर्को कोठा छिर्नु भो फाईल उतै छोडेर फर्किनुभो । भन्नुभो–एकछिन है ।
१५ मिनेट पछि फेरि सोधे–सर भयो ?
फलानो सर रामनगर साईड हेर्न गएर आएर हेर्छु भन्नू भा छ ।
ढिलाहोला जस्तो छ उसो भए म भोलि आउँछु सर ।
होईन होईन बस्नु कतिबेर लाग्छ र यसो हेरेर फर्किने त हो ! यस्तायस्ती काम सकिहाल्न पर्छ ।
ल त भनेर कुरें । कमजोर नै भएनी फ्री वाइफाई सुबिधा रैछ थोरै सहज भयो ।
कोहि साईड हेर्न जानुभो उहाँ चाहिँ गाडी चढेर खोप लगाउन जानू भो ।
दुईघण्टा देखि म यहिँ महानगर कुरेर बसिराछु । काम त कर्मचारीको मात्र हुन्छ सेवाग्राहीको अरु केही काम हुँदैन उनिहरुको नजरमा सेवाग्राही सब घाँसी हुन् । तर पनि रिस उठेको छैन बुद्ध ज्ञान छ ।
अहँ फिटिक्कै रिस राग केही छैन ।
सेवाग्राहीको दुख सास्ती एकातिर अर्कोतिर कामगर्ने ज्यालादारी श्रमिकको ज्याला रोकिएको छ । सबैभन्दा पीडा त्यो छ । कसले बुझ्ने त्यो पीडा । कर्मचारीलाई यसैगरी एकपटक सेवाग्राही बनाएर खटाउन पाए कसोगर्दा हुन भनेर सोच्न थालेँ ।
३ः३० बजे साईड गएको पनि आउनुभो खोप लगाउन जानुभएको पनि आईपुग्नु भो । फाईल मिसप्लेस भएछ एकछिन फाईल खोज्न थालियो ।
भेटियो । दुबै इन्जिनियर साबलाई लिएर उहाँकै साधनमा कामको अनुगमन निरीक्षण गर्न आयौं । नाप जाँच भयो । ४ बजिसकेको थियो उहाँ अर्को साईड नि हेर्न छ भन्दै जानुभो । म एकजना भाइ संग आफ्नो साधन लिन महानगर गएँ ।
माघ ४ मंगलबार,
पौने ११ बजे कार्यालय पुग्दा सम्बन्धीत इन्जिनियरको कुर्सी खाली थियो । सोही कक्षको अर्को कुर्सिको इन्जिनियरलाई सोधे क्यान्टिन खाना खान जानुभएको छ आउनुहुन्छ, एकछिन बस्नुस भन्नु भयो । सवा ११ बजे सम्म आउनु भएन । आधा घण्टा त खान पक्कै लाग्दैन । अनि फोन गरे –
सर नमस्कार, कता हुनुहुन्छ ?
नमस्कार, म त फिल्ड मा छु नि वार्ड न १६ मा ।
म अफिस आएको थिए कति बजे आईपुग्नुहुन्छ त अफिस ?
एक बज्छ होला ।
ल सर म एक बजे आउँछु ।
हस म एक बजे आउँछु अनि काम अघि बढाउँला ।
म फर्किए । पुन एक बजे कार्यालय पुगें । १ः०७ मा आईपुग्नु भो खुशी लाग्यो ।
फाईल हेर्नू भयो । उहाँले आफ्नो काम गर्दिनुभयो ।
धन्यवाद भन्दै चार तलामाथी अर्को बरिष्ठ इन्जिनियरलाई भेट्न पुगे । कुर्सी खाली छ ।
कसैसंग फोन गरेर फोन न मागेर फोन गरें तल छु तल आउनुस् भन्नुभो तल आए उहाँले फाईल हेरेर आफ्नो काम गर्दिनु भो हाकिम समक्ष लैजानुस भन्नू भो ।
धन्यवाद भन्दै हाकिम कक्ष अगाडि पुगें । कक्ष अगाडि पहिल्यै हाकिम भेट्न खोज्नेको भिड थियो । सोधें । हाकिम साब मिटिङ्गमा । १ः३० भएको थियो । मिटिङ्गको समयावधि थाहा छैन । २ बजे सम्म कुरे । केही सेवाग्रागी आक्रोशित थिए कोहि बिहान देखि कुरेको खै के हो के हो भन्दै निरास थिए ।
म चाहिँ अब कुर्न सक्दिन भनेर फर्किए ।
माघ ५ बुधबार,
११ः४५ मा महानगर पुगे । हाकिम साबको कक्षमा फाईल बुझाए ।
१२ बजे फाईल आर्थिक प्रसासन साखाको लागि भनेर हाकिम साबको सिफारिस लिएर निस्कियो ।
छेउमै रहेको आर्थिक प्रसासन साखाको कुर्सी खाली छ ।
उहाँ १ बजे आउने कुरा थाहा पाएर निस्किए ।
१ः३० बजे पुन कार्यालय पुगे कुर्सी खाली नै छ । उहाँ नगरप्रमुख संग मिटिङ्गमा हुनुहुन्थ्यो संगै धुर्मुस पनि उहीँ रहेछन् उनलाई नि कति तनाब छ बरा अहिले ।
कुर्नै पर्यो २ बजे निस्किनु भयो । फाईल लिएर कार्यकक्ष पुगें । फाईलको पहिलो टिप्पणी आदेश हेरेर ठाडो जवाफ आयो – यो खै बजेट छैन यस्तो फाईल लिएर नआउनु । कर्मचारीको शैली चित्त बुझेन ।
म एकछिन बसिरहे उहाँ अरु फाईल हेर्दै हुनुहुन्थ्यो । अरु फाईल हेरेर सकेपछि पुन सोधे मैले कुरा बुझिन सर बुझाईदिनु त ।
सम्झौता बमोजिम काम भैसकेको छ अघिल्लो बर्षको कार्ययोजना हो कोभिडले काम ढिला हुनपुग्यो । भुक्तानी बाँकी छ ।
त्यसपछि उहाँले पुन फाईल पल्टाएर भन्नुभो–योजनामा गएर भुक्तानी बाँकी छ छैन देखाएर ल्याउनुस् ।
योजनामा आएँ । कुर्सी खाली छ । एकजना सहयोगि भाइ भेटिए । भाईले सम्बन्धित कर्मचारीलाई फोन गर्नुभो उहाँ बैंक जानू भएको रैछ ।
फाईल मेरो टेबलमा राखिदिनु म आएर हेर्छु नि भन्ने जवाफ पाएपछि फाईल टेबलमा राखेर उहाँको आगमनको प्रतीक्षामा बसें ।
३ः३० मा उहाँ आईपुग्नु भयो । सोधेँ । आज अब भ्याईदैन । फलानो सर पनि हुनुहुन्न उहाँ नभै हुँदैन । म बनाएर भरेर राख्दिन्छु भोलि आउनु है त । मान्नै पर्यो । हस म भोलि आउँछु भन्दै निस्किए ।
माघ ६, बिहिबार
११ः२५ मा कार्यालय पुगें ।
हिजो बनाएर राखिदिन्छु भनेको अनुगमन तथा मुल्यांकन प्रतिबेदन रहेछ । प्रतिबेदन भरिवरी तयार रहेछ तर सम्बन्धीत ३ जना इन्जिनियरको हस्ताक्षर गर्न बाँकी ।
एकजना बरिष्ठ इन्जिनियर बाहिर निस्किन लाग्नुभएको रहेछ बाटोमै रोकेर हस्ताक्षर गराए । अर्को एकजनालाई कार्यकक्षमा । अर्को एकजना कार्यकक्षमा देखिनँ । फोन गरे ब्यस्त छ । संगैको कुर्सिको इन्जिनियर लाई सोधे – फलानो सर आउनुभएको छैन र ?
उहाँ आज बिदामा ।
फेरि सोधे उहाँको हस्ताक्षर नभए नि हुन्छ कि ?
हुनसक्छ जानू न एकपटक आर्थिक प्रसासनमा देखाउनु । आर्थिक प्रसासन साखाको ढोकामा चाबी लगाएको छ । माघ ११ गते उहाँको परीक्षा छ रे आउने नआउने भर भएन । एकपटक लेखाको फलानो सरलाई देखाउनु न हुन्छ कि ।
लेखाको फलानो सरको कुर्सी पनि खाली छ ।
फलानो सरको कुर्सि कतिबेला भरिएला भनेर कुरेर बसे । छुटेको इन्जिनियरको हस्ताक्षर गराउन पुन फोन गरें – म बिदामा हो त्यही नि दुई बजेतिर म आईपुग्छु अनि गरिदिउँला ।
एकजना भाईको सहयोग लिएर लेखा साखाको कर्मचारीलाई फाईल देखाए ल ठिक छ मैले लेखिदिए पनि हुन्छ भनेर लेखिदिनु भयो । ल हाकिमको पुराएर फेरि यहिँ लिएर आउनु ।
फाईल पुन : हाकिम समेक्ष पेस गर्नुपर्ने पेस गरे । १५ मिनेटमा फाईल सदर भएर निस्कियो ।
२ बज्यो छुटेको इन्जिनियरको पनि उपस्थित भयो उहाँको पनि हस्ताक्षर गराएँ र फाईल पुनः लेखा साखामा पुराए ।
फाईल धेरै छन् आज त बन्दैन नाम फोन नम्बर लेखेर छोडेर जानू २÷४ दिन लाग्छ म चेक बनाएर फोन गर्छु ।
हस भन्दै फाईल छोडेर फर्किए ।
माघ ११ मंगलबार
फोन आएन । कार्यालय पुगें । चेक तयार रहेछ । चेकको अर्धकट्टि लगायत आवश्यक ठाउँमा उपभोक्ता समितिको छाप लगाएर धन्यवाद सर भन्दै खुशी भएर चेक लिएर महानगरबाट बाहिरिएँ ।
चेक डिपोजोटको लागि राष्ट्रिय बाणिज्य बैंक चौबीसकोठी पुगेँ । कर्मचारि अमिक्रोनबाट संक्रमित भएर सेवा बन्द रहेछ । नारायणगढ साखा जानुस …….
सुझाब
१. प्रक्रिया लामो भयो यस्तो झन्झट हटाउनुस ।
२. फाईल एक ठाउँ बुझाए पछि सबै आवश्यक चेक जाँच गरि चेक तयार होस् सेवाग्राहीले फाईल बोकेर कोठाकोठा चाहार्न नपरोस ।
आवस्यक कर्मचारी थपियोस् ।
३. कर्मचारी सेवाग्राही मैत्री बन्नुपर्छ ।
४. कर्मचारी बिदामा बस्दा वा फिल्ड भिजिट हुँदा सम्बन्धित कर्मचारीको बिकल्प होस !
युद्धमा सहयोग गर्ने भाई Sakar Lama लाई विशेष धन्यवाद !
सम्पुर्ण कर्मचारीप्रति पनि आभारी छु नै । दोष ब्यक्तिको होईन संयन्त्रको हो, प्रणालीको हो, सिकाईको हो, बुझाईको हो र संस्कारको हो ।
सबैको जय होस !