
काठमाडौं । नेपालमा आज ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २० हजार ३५९ नमु्ना परीक्षणमा ८ हजार ४५४ जनामा संक्रमण पुष्टि भएको हो । मंगलवारको तुलनामा आज परीक्षणको संख्या घटेको हुनाले संक्रमितको संख्या पनि घटेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ८ हजार ४५४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ५२ हजार ८२४ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ४,४३३ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४,४३३ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख ३१ हजार ७१२ पुगेको छ ।
आज कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । आज थपिएका ५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको छ ।
मन्त्रालयको विवरण अनुसार हाल ९० हजार ६७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ८८ हजार २४८ र १८१९ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै २५१ जना आइसीयु र ४८ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २ लाख ५६ हजार ४१६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
हालसम्म ५१ लाख ६९ हजार पिसीआर परीक्षण
नेपालमा हालसम्म ५१ लाख ६९ हजार ९६८ वटा पिसीआर नमुना र ९ लाख ४१ हजार २४५ वटा पिसीआर गरी जम्मा ६१ लाख ११ हजार २१३ वटा नमुना परीक्षण गरिएको छ ।
ती मध्ये हालसम्म पिसीआर विधिबाट ९ लाख ३३ हजार ४५१ जना संक्रमित भएका छन् भने ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख २० हजार ६३७ जनामा संक्रमण पुष्टि भएको छ । दुवै विधिबाट गरिएको परीक्षणमा हालसम्म १० लाख ५४ हजार ८८ जना संक्रमित भएका छन् ।
यी जिल्लामा ५०० भन्दा बढी संक्रमित
मन्त्रालयका अनुसार ५०० भन्दा बढी संक्रमित रहेको जिल्ला १६ पुगेको छ । जसमा प्रदेश १ को झापा, मोरङ र सुनसरी, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, नुवाकोट, गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको बाँके, रुपन्देही र दाङ, सुदूरपश्चिम प्रदेशको कैलाली लगायतका जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार नमुना परीक्षणका क्रममा लेखाइएको स्थायी ठेगाना अनुसार संक्रमितको तथ्यांक अद्यावधिक गरिएको हो ।