
काठमाडौं। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धन विजयी भएका छन् । राष्ट्रिय सभाअन्तर्गत रिक्त रहेको महिला र अन्यतर्फका गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना र नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।
निर्वाचनको मतपरिणाममा एकीकृत समाजवादीकी तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत अर्थात् २ हजार ८८ मतभार प्राप्त गरेकी थिइन् । पौडेलले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार प्राप्त गरेका थिए ।
तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात् २ हजार ७३६ मतभार गरी कुल ४ हजार ८२४ मतभार प्राप्त गरिन् । पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात २ हजार ६८८ मतभार गरी कुल ४ हजार ७९४ मतभार प्राप्त गरे ।
पराजित विपक्षी दल नेकपा एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात् २ हजार २५६ मतभार प्राप्त गरिन् । उनले कुल ४ हजार ३६२ मतभार प्राप्त गरेकी थिइन् ।
एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत अर्थात् २ हजार ८८ मतभार प्राप्त गरे । प्रदेशतर्फ ४७मत अर्थात् २ हजार २५६ मतभार गरी कुल ४ हजार ३४४ मतभार प्राप्त गरेका थिए ।
सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एस), जनता समाजवादी पार्टी र जनमोर्चा रहेका थिए । राष्ट्रिय सभा निर्वाचनमा वाग्मतीमा ३ सय ४६ मतदाता रहेको थियो । प्रदेशसभाको १०९ मतमध्ये १०६ मत खसेको थियो ।