
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको बताएका छन् ।
बुधवार राष्ट्रियसभाको १९ पदका लागि भएको निर्वाचनमा एमालेले एक सिटमात्र प्राप्त गरेपछि महासचिव पोखरेलले यस्तो आक्रोश पोखेका हुन् ।
महासचिव पोखरेलले वहुमतको वामपंथी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरुप राष्ट्रियसभाको चुनावमार्फत प्रचण्ड र माधव नेपालहरुले आफ्नो दलिय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेको आरोप समेत लगाएका छन् ।
‘तर पनि यस निर्वाचनमा पाँच दलिय गठवन्धनका उम्मेद्वारले गठवन्धनको मतभारभन्दा कम मत प्राप्त गरेका छन् । नेकपा(एमाले)का अधिकांश उम्मेद्वारले आफ्नो दलिय भोटभन्दा वढिमत प्राप्त गर्न सफल भएका छन् ,’ सामाजिक संजालमार्फत् महासचिव पोखरेलले भनेका छन्’, ‘स्थानिय तहका जनप्रतिनिधिहरुको अतिरिक्त भोट नेकपा(एमाले)का उम्मेद्वारलाई प्राप्त भएको छ । यसवाट स्थानिय तहलाई कमजोर बनाउने गठवन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ ।’
महासचिव पोखरेलले गठवन्धनका अन्य उम्मेद्वारको तुलनामा नेपाली कांग्रेसका उम्मेद्वारले सबै प्रदेशमा कम भोट ल्याएको बताउँदै पाँच दलिय गठवन्धनको मोर्चावन्दीका बाबजुद पनि प्रदेश १ मा नेकपा(एमाले)का उमेद्वारले विजय हासिल गरेको बताएका छन् ।
‘ एकजना वरावरी मत आएर गोलावाट पराजित भएका छन् ।’ उनले भनेका छन् ।
महासचिव पोखरेलले निर्वाचनपछि पनि राष्ट्रिय सभामा नेकपा(एमाले) पहिलो दलको हैसियतमा कायम गरेको बताउँदै अवहुने सबै निर्वाचन प्रत्यक्षहुने भएकोले गठवन्धन कमजोर हुने र नेकपा(एमाले) थप सुदृढ हुने आधार समेत राष्ट्रियसभाको निर्वाचनले संकेत गरेको बताएका छन् ।