
१४ माघ, काठमाडौँ । नेपाल बैंकले गैरआवासीय नेपालीहरुलाई लक्षित गरि आकर्षक सुविधाहरुसहितका एनआरएन निक्षेप खाताहरु संचालनमा ल्याएको छ ।
विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंक लिमिटेडमा बिदेशी मुद्रामा बचत र मद्दती खाता खोल्न सक्नेछन् । अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम व्याज दिने बैंकले जनाएको छ । बैंकले अमेरिकी डलरमा बचत तथा मद्दती खाता खोल्दा बार्षिक व्याजदर क्रमशः ४।५ प्रतिशत र ५ प्रतिशत दिनेछ भने अन्य विदेशी मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने ब्यबस्था गराएको छ ।
बचत तथा मुद्दती खाता दुबैमा न्युनतम मौज्दात अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य विदेशी मुद्रा हुनुपर्ने बैंकले जनाएको छ । एनआरएन खाता गैर(आवासीय नेपालीहरुले एकल तथा संयक्तरुपमा तथा गैर आवासीय नेपालीबाट प्रबर्द्धित विदेशस्थित संस्थाको नाममा पनि खोल्न सकिनेछ ।
उक्त खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नु पर्नेछ । साथै बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिनेछ भने मुद्दती खाता कम्तिमा १ बर्ष वा सो भन्दा बढि अवधिको लागि खोल्न सकिने बैंकले जनाएको छ ।