
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा फ्लोरक्रस भएको घटनाले सत्ता गठबन्धनमा ठूलो तरंग पैदा गरेको छ । १२ माघमा भएको राष्ट्रियसभा चुनावमा गण्डकी र प्रदेश १ मा गठबन्धनका जनप्रतिनिधिहरुले फ्लोर क्रस गरेको विषयले तरंग पैदा भएको हो ।
गण्डकीमा एमालेका उम्मेदवार विजयी नभएपनि प्रदेश १ मा भने गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा (एमाले)का उम्मेद्वार सोना ग्याल्जेन शेर्पा विजयी भएका थिए । यता गण्डकी प्रदेश सरकार नै उम्मेदवारको फ्लोर क्रसले बहुमत गुमाएको होइन भन्ने आशंका जन्माएको छ ।
शुक्रबार बालुवाटारमा गठबन्धनका शीर्ष तीन नेता प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा फ्लोर क्रसको घटनाले प्राथमिकता पाएको थियो । स्रोतले बताएअनुसार एक अर्काले आशंका पनि व्यक्त गरेका थिए ।
बताइएअनुसार नेताहरुबीच छानबिन समिति नै गठन गरेर छानबिन गर्ने विषयमा छलफल भएको थियो । आगामी समय गठबन्धनको भविष्यबारे समेत प्रचण्डले चिन्ता व्यक्त गरेको बुझिएको छ ।