
काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने स्पष्ट सम्भावना रहेको चेतावनी दिएका छन्। बिहीबार युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीसँग भएको टेलीफोन वार्तामा उनले त्यस्ताे सम्भावना दर्शाएका हुन् ।
“राष्ट्रपति बाइडेनले रुसीहरूले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने स्पष्ट सम्भावना रहेको बताएका हुन्,” ह्वाइट हाउस न्याशनल सेक्युरिटी काउन्सिल प्रवक्ता एमिली हर्नले बताइन्। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा युक्रेनका राष्ट्रपतिसँग बाइडेनले “यदि रुसले थप हमला गरेमा अमेरिका र उसका समर्थक राष्ट्रले निर्णायक कदम चाल्न तयार रहेकोमा आश्वस्त” पारेको जनाइएको छ।
यसैबीच रुसले आफ्नो मुख्य माग अमेरिकाले अस्वीकार गरेपछि युक्रेनको संकट समाधानका लागि आशावादी हुने ठाउँ असाध्यै झीनो रहेको बताएको छ। युक्रेनको सीमामा पछिल्ला हप्ताहरूमा दशौँ हजार रुसी फौज तैनाथ गरिएपछि आक्रमण हुने त्रास बढेको छ। रुसले भनृ त्यस्तो आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ।
युक्रेनमा हिउँ जमेपछि बलिया युद्ध सवारीसाधनहरू गुडाउने प्रतीक्षामा रहेको केही सैन्यविद् ठान्छन्। शुक्रवार फ्रान्सका राष्ट्रपति एम्मानुअल माक्रोँ र भ्लादिमिर पुटिनबीच अर्को महत्त्वपूर्ण फोन वार्ता हुनेछ।
यसअघि अमेरिकाले युक्रेनमाथि आक्रमण गरिए रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने अमेरिकाले चेतावनी दिएको थियो। नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो। बिहीवार बर्लिनस्थित अधिकारीहरूले रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका थिए।
पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने बताएका छन् र पछिल्ला प्रतिक्रियाले आकर्षक पाइपलाइन परियोजनामा उनीहरूको अडान चर्को भइरहेको सङ्केत गर्छ।
अमेरिकी प्रसारक एनपीआरसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले भने, “म एकदमै प्रस्ट भन्न चाहन्छु; यदि एउटा वा अर्को तरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्यो भने, नोर्ड स्ट्रिम टु अघि बढ्ने छैन।”
तर त्यसलाई कसरी रोकिने छ भनेर विस्तृतमा आफू नजाने उनले उल्लेख गरे। विदेश मन्त्रालयका प्रवक्ताले परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्न अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने पनि बताए।