काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छन् ।
मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । राष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वले हाम्रो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै मौलिक पहिचान अभिवृद्धि गर्नसमेत सहयोग पु¥याइरहेको बताएकी छन् ।
“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु” शुभकामना सन्देशमा भनिएको छ ।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष गरी तामाङ जातिले परापूर्वकालदेखि मान्दै आएको ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायका नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले सन्देशमार्फत सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नो विशिष्ट पहिचान रहेको उल्लेख गर्दै यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताएका छन् ।
कोभिड–१९ नियन्त्रणका लागि अवलम्बन गरिएका रणनीति प्रभावकारी देखिए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै यो पर्व हर्षाेल्लासपूर्वक मनाउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले तामाङ सेलो गीत तथा टुङ्ना र डम्फुको सङ्गीत नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अङ्ग बनेको बताएका छन् । ‘तामाङ समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होसार–२८५८ को अवसरमा शुभकामना दिँदै उनले भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको बताएका छन् ।
काठमाडौँ उपत्यका आसपासका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको छुट्टै पहिचान रहेको स्मरण गर्दै उहाँले सोनाम ल्होसारले सम्पूर्ण नेपालीका बीच आपासी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।
ल्होसार पर्व मान्यजनबाट टीका थाप्ने, आशिर्वाद लिने, खालुम, खाप्से, ड्यासिल, गुथुकजस्ता मौलिक परिकार खाने, जमघट, नाचगान गरेर मनाइने गरेको उल्लेख गर्दै उपराष्ट्रपतिले ल्होसारलाई आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा पनि लिनुपर्ने बताएका छन् ।
उपराष्ट्रपति पुनले विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सरकारद्वारा जारी नियमको पूर्णपालना गरेर पर्व मनाउन सबैमा अपिल गरेका छन् ।
वि.सं.२०७८ माघ १९ बुधवार ०८:५४ मा प्रकाशित






























