मानिस सौखिन प्राणी हो । उसले आफ्नो शोखको लागि आफ्नो ज्यानै समेत धरापमा पार्छ भन्ने संसारमा धेरै उदाहरण छन् ।
त्यस्तै भएको भारतमा पनि । भारतका एक डाक्टर दम्पती यतिबेला सुगा हराएको शोकमा डुबेको छ । उनीहरुले त्यसलाई खोज्नका लागि लाखौं खर्चेर विज्ञापन समेत गरेका छन् । सुगा हरायो, खोजीका लागि लाखौं खर्चेर विज्ञापन पनि छापियो । त्यो नौलो विषय भएन ।
यसअघि कुकुर तथा विरालो हराएको र त्यसको खोजीका लागि लाखौं खर्चिएको समाचार आइरहेका छन् । तर सामान्य सुगाको लागि श्रीमतीले खानै नखाइदिएपछि भने ती डाक्टर यतिबेला आपद्मा परेका छन् ।

राजस्थानको सीकर शहरका डाक्टर वीके जैनका सुगा तीन दिन पहिले हराएपछि उनकी श्रीमतीले खानापिना नै छोडिदिएर उसकै सम्झनामा रुने कराउने गर्न थालिन् । श्रीमतीको यस्तो हालतपछि श्रीमानले पत्रपत्रिका, अनलाइन, तथा सोसियल मिडियामा त्यसको खोजीका लागि विज्ञापन छपाए । भेटाउनेलाई १ लाख पुरस्कारको घोषणा समेत गरे तर पनि सुगा फेला पर्न सकेको छैन ।
अस्पतालकै घरमा बसिरहेका उनीहरु छतमा बसेर सुगालाई खाना खुवाइरहेका बेला सुगा भागेको थियो । दुईवर्ष पहिले ८० हजारमा किनेको त्यो कोको नामको सुगा एकहजार भन्दा बढी शब्द बोल्ने गरेको थियो ।
वि.सं.२०७८ माघ २० बिहीवार १४:५६ मा प्रकाशित

























