
आधा घण्टासम्म भुत्तानी नदिएपछि म आफैं गएर गुनासो गरेँ, ‘कि चेक साटेर पैसा देऊ कि हामीलाई चेक फिर्ता गर, हामी अन्त कतै गएर साटाँैला ।’ तर, बैँकका कर्मचारीले हामीलाई न पैसा दिए न चेक । बरु एकैछिनमा पुलिसको एउटा डफ्फा बैंकको काउन्टर अगाडी आएर रोकियो । हामी तीन जनालाई हतकडी लगाएर गाडीमा उनीहरुले लगिहाले ।
जर्मनीबाट ल्याएका सामानको बिक्रीबाट प्राप्त पुँजीरुपी बिउलाई नै रोपेर मैले उद्यमको जमिनलाई मलजल गरेको हुँ । यही बिउ नै कालान्तरमा फुलेको र फलेको हो भन्दा यतिखेर मेरो सन्तुष्टिको आयतन बढेको अनुभूति हुन्छ ।
उद्यमी जीवनका मेरा प्रारम्भिक दिनहरु सम्झिदा कतै पढेको एउटा सन्दर्भ उत्तिकै घतलाग्दो छ । जुत्ताको एजेन्टको काम गर्ने एउटा अमेरिकी र एउटा जापानी एउटै जहाज चढेर अफ्रिका गएछन् । उनीहरु सँगै उत्रिए र एउटै होटलमा बसे । अमेरिकी कम्पनीको एजेन्टले आफ्नो कम्पनीमा खबर गरेछ, यहाँ सबै नाङ्गै खुट्टा हिँड्दा रहेछन् । जुत्ता किन्ने कसैको क्षमता नै रहेनछ । त्यसैले म फिर्ता आउँदैछु । तर, जापानी कम्पनीको एजेन्टले भने यहाँ जुत्ता व्यापारको सम्भावना शतप्रतिशत छ भन्दै एक लाख जोर जुत्ता तत्काल पठाउन आग्रह गरेछ । एउटाले बजार पायो तर अर्कोले बजार गुमायो । मलाई लाग्छ, जर्मनी भ्रमणबाट उद्यमी हुने सपना पनि मेरा लागि एउटा त्यस्तै संयोग हो ।
जर्मनीबाट छुट्टीमा सामान ल्याएर बेच्नु मेरा लागि नित्यकर्मजस्तै बनिसकेको थियो । फुर्सद मिल्यो कि हामी जर्मनी गइहाल्थ्यौ । साँच्चै त्यसबेला एक प्रकारले नशाजस्तै लागेको थियो व्यापार । धेरै जोखिम लिनुपर्दैनथ्यो । यसरी ल्याइएको सामानहरु कहिलेकाहीँ छात्रावासबाटै चोरी पनि हुन्थे । त्यसैले यसमा अलिकति सचेत हुनुपथ्र्यो ।
एकपटक हामी ठूलै समूहमा बर्लिन जाँदै । हाम्रो त्यो समूहमा मस्को सडक इन्जिनियरिङ इन्स्टिच्युटमा अध्ययन गर्ने एक नेपाली साथी पनि सँगै थिए । जर्मनी पुगेपछि सबैले आफूसँग भएको ट्राभल्र्स चेक बैँकमा गएर साट्नुपथ्र्यो । यही कामका लागि हामी तीन जना बैंक गयौं । अर्का साथी गौरी महतो र मेरो चेक साटेर बैंकले तुरुन्तै नगद रकम दिइहाल्यो तर ती मित्रको चेक भने साटिएन । आधा घण्टासम्म भुत्तानी नदिएपछि म आफैं गएर गुनासो गरेँ, ‘कि चेक साटेर पैसा देऊ कि हामीलाई चेक फिर्ता गर, हामी अन्त कतै गएर साटाँैला ।’ तर, बैँकका कर्मचारीले हामीलाई न पैसा दिए न चेक । बरु एकैछिनमा पुलिसको एउटा डफ्फा बैंकको काउन्टर अगाडी आएर रोकियो । हामी तीन जनालाई हतकडी लगाएर गाडीमा उनीहरुले लगिहाले । जर्मन पुलिसको फन्दामा पर्दा हामी सबैको सातो गयो । निर्दोस हामीलाई दोषी ठानेर उनीहरुले केरकार गरे । त्यसपछि पो थाहा भयो, उनले त अर्को सहपाठी नेपाली मित्र राजेश भट्टराईको ट्राभल्र्स चेक लिएर आएका रहेछन् । त्यति मात्र होइन, ट्राभल्र्स चेकमा भएको राजेशको हस्ताक्षर इरेजरले मेटेर उनले आफैं हस्ताक्षर गरेका रहेछन् । बैंक सटही काउन्टरकी महिलाले त्यो चेक चोरीको हो कि भन्ने शङ्का गरिछन् । घटनाअघि यस विषयमा उनले हामीलाई केही भनेकै थिएनन् ।
गैरी र मलाई पुलिसले निर्दोष भनेर छाडिदियो । पुलिसको डफ्फाले उनलाई त्यही भ्यानमा लिएर गयो । भोक, प्यास र साथीसँगको बिछोडले हामीलाई एकसाथ गाँज्यो । त्यो बिरानो मुलुकमा रुनु र कराउनुको कुनै अर्थ थिएन ।
राति मस्को फर्कने ट्रेनमा चढ्ने बेला त उनी पनि टुप्लुक्क ट्रेन स्टेसनमा आइपुगे । हामी खुबै खुसी भयौं । त्यो चेकबाट पैसा फिर्ता लिने झन्झट गर्दा पुलिस हिरासतमा बस्नुपर्ने र दुःख हुने भएकाले बरु चेक नै रद्द हुने गरी उनी छुटेर आएका रहेछन् । उनले आफू मस्कोमा अध्ययनरत विद्यार्थी भएको कुरा बेलिविस्तार लगाएपछि पुलिसलाई पनि चेक चोरी गरेको होइन भन्ने विश्वास लागेछ । मस्को फर्केपछि चेकका असली मालिक राजेश भट्टराईले अमेरिकन एक्सप्रेस कम्पनीको कार्यालयमा चेक हराएको निवेदन दिएर आफ्नो ट्राभल्र्स चेकको भुक्तानी लिएका थिए ।
हालै बजारमा आएको जीवा लामिछानेको नियात्रा संग्रह “सरसर्ती संसार” बाट लिइएको केही अंश