
पछिल्ला केही समय यता विदेशमा बस्ने नेपालीहरु पनि त्यहाँको राजनीतिमा सक्रियतापूर्वक लागिरहेका छन् ।
अमेरिका तथा अष्ट्रेलिया मात्र नभएर युरोपको बेल्जियम, बेलायत लगायतका देशमा नेपालीहरुले त्यहाँको स्थानीय निकायमा जनप्रतिनिधि बनेर केही कार्यकाल काम गरिसकेका छन् भने केहीले काम गर्ने चाहना देखाउँदै राजनीतिमा होमिएका छन् ।
हालैमात्र बेलायतको विभिन्न तहमा भएको निर्वाचनमा पाँच नेपाली विजयी भएका छन् । उनीहरु तीनजना विपक्षी दल लेबर पार्टी र २ जना सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट विजयी भएका हुन् ।
उक्त स्थानीय निर्वाचनमा ११ जना नेपाली उम्मेदवार बनेका थिए । उनीहरु मध्ये लन्डनको हन्सलो बरोबाट विष्णु बहादुर गुरुङ काउन्सीलर पदमा निर्वाचित भएका छन् । लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङ तेश्रोपटक काउन्सीलर पदमा निर्वाचित भएका हुन् । गुरुङले १ हजार ३७ मत प्राप्त गरेका थिए ।
भुतपूर्व गोर्खा आर्मी रहेका गुरुङ २०१४ मा हन्सलोको हानवर्थ वडाबाट पहिलोपटक काउन्सीलरमा निर्वाचित भएका थिए भने २०१८ मा दोश्रोपटक निर्वाचत भएका थिए ।
त्यसैगरी कास्की घर भइ लामो समयदेखि बेलायतमा रहँदै आएका लक्ष्य बहादुर गुरुङ पनि काउन्सीलर पदमा निर्वाचित भएका छन् ।
उनी सत्तारूढ कञ्जरभेटिभ पार्टीबाट बार्नेटको एजवेरवरी वडामा बार्नेट काउन्सिल अन्तर्गत एजवेयरबरी वार्डबाट पुनः काउन्सिलर पदमा निर्वाचित भएका छन् । उनले १६९१ मत प्राप्त गरेर विजयी भएका हुन् ।
भुतपूर्व गोर्खा तथा बेलायतमा व्यवसाय सन्चालन गर्दै आएका गुरुङले विगतमा जस्तै स्थानीयहरुको सेवा, सुविधा तथा आइपरेको समस्याहरु समाधानमा लागिपर्ने बताएका छन् । निर्वाचन अभियानका क्रममा स्थानीयहरुले घर अगाडिको सडक पेटी, पार्क, ट्राफिक, स्थानीय स्कुलमा पठन पाठन, चोरीको समस्या लगायतका बारेमा गुनासो राखेको पनि उनी बताउँछन् । गुरुङ २०१९ मा सोही बरोको उपमेयरमा निर्वाचित भएका थिए ।
त्यस्तै बार्नेट काउन्सीलको बन्टओक वडाबाट कमल बहादुर गुरुङ पहिलोपटक काउन्सीलर पदमा निर्वाचित भएका छन् । भूतपूर्व गोर्खा आर्मी रहेका गुरुङ लेबर पार्टीबाट उम्मेदवार बनेका थिए । उनले २०७७ मत प्राप्त गरेर विजयी बनेका छन् ।
त्यस्तै बेलायतको रोयल बरो अफ ग्रीनवीचको प्लमस्टिड एण्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट उम्मेदवार बनेका जीत रानाभाट काउन्सीलर पदमा विजयी भएका छन् । उक्त क्षेत्रबाट निर्वाचित हुने उनी पहिलो नेपाली मूलका व्यक्ति हुन् । तीन काउन्सीलर पदका लागि भएको उत्त निर्वाचनमा ७ प्रतिश्प्रर्धीलाई पछि पार्दै रानाभाट काउन्सीलर पदमा निर्वाचित भएका हुन् । अन्य २ जना पनि सोहि पार्टीका उम्मेदवार विजयी भएको बताइएको छ ।
इंग्ल्याण्डस्थित नर्थ योर्कसायर काउन्टी काउन्सिलमा नेपालीमूलबाट पहिलोपटक प्रतिष्पर्धा गरेका डा. जगन्नाथ शर्मा ८ मतले पराजित भएका छन् । कन्जरभेटिभ पार्टीका उनले ५५१ मत प्राप्त गर्दा ग्रीन पार्टीका केभिन फोस्टरले ५५९ मत ल्याएर विजयी भएका थिए । कोलबर्न टाउनका पूर्वमेयर तथा काउन्सिलर शर्मा दुईतिहाइ मत पाएर कोलबर्न एन्ड हिप्सवेल काउन्सिलरमा भने निर्वाचित भएका छन् ।
बेलायतका विभिन्न क्षेत्रमा हालै भएको निर्वाचनमा उम्मेदवार बनेका ११ मध्ये पाँच नेपाली निर्वाचित भएका छन् भने ६ जना पराजित बनेका छन् ।
जसमा वकिङ बरोको उम्मेदवार बनेका पूर्वगोर्खा मेजर चित्रबहादुर राना पराजित भएका छन् । कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका राना यसअघि तीनपटकसम्क काउन्सीलर पदमा निर्वाचितभएपनि यसपटक भने पराजित बनेका हुन् ।
त्यसैगरी बेडवर्थ एण्ड ननिटन बरोमा पहिलोपटक लेबर पार्टीबाट काउन्सिलर पदमा उम्मेदवार बनेका पूर्व गोर्खा भीम सारू, रसमोर बरोको चेरीउड वडामा कञ्जरभेटिभ पार्टीबाट पहिलोपटक उम्मेदवार बनेकी सुमन पुन, स्वीण्डनको मेनिङटन एण्ड वेस्टर्नमा पहिलोपटक कञ्जरभेटिभ पार्टीका उम्मेदवार बनेका पूर्वगोर्खा ज्ञानप्रसाद गुरुङ, लन्डनको वाटफोर्ड बरो होलीवेल वडामा कञ्जरभेटिभ पार्टीका तर्फबाट काउन्सीलर पदको उम्मेदवार बनेका सञ्जय पन्त र कञ्जरभेटिभ पार्टीबाट बेजिङस्टोक तथा डीन काउन्सिलको ब्राइटन हिल वडाको उम्मेदवार बनेकी एनआरएनए युकेकी पूर्वअध्यक्ष पुनम गुरुङले निर्वाचनमा सम्मानजनक मत ल्याएपनि जित हासिल गर्न भने सकेनन् ।
बेलायतको राजनीतिमा पहिलोपटक निर्वाचनमा होमिएका भीम, सुमन, ज्ञानप्रसाद, सञ्जय र पुनमले जित हासिल नगरे पनि सम्मानजनक मत ल्याएर भविष्यका लागि अगाडि बढ्ने बाटो तय गरेको भन्दै बेलायतबासी नेपालीहरुले खुसी व्यक्त गरेका छन् ।