
२६ वैशाख, काठमाडौँ । चेन्नाई सुपर किंग्सले आफ्नो एघारौँ खेलमा दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै आफ्नो चौँथो जित हासिल गरेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो । चेन्नाईका लागि ब्याटिङ्गमा डेवन कन्वेले ४९ बलमा ८७ रन विस्फोटक पारी खेलेका थिए । दिल्ली क्यापिटल्सका लागि बलिङ्ग तर्फ एनरिच नोत्र्जेले सर्वाधिक ३ विकेट हात पारेका थिए ।
२०९ रनको विशाल लक्ष्य पछाएको दिल्लीले पुरै २० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । दिल्लीको टिम १७.४ ओभरमा ११७ रन बनाएर अलआउट हुन पुगेको थियो । दिल्लीका लागि ब्याटिङ्गमा मिचल मार्शले सर्वाधिक २५ रन बनाएका थिए भने चेन्नाईका लागि बलिङ्गमा मोइन अलिले सर्वाधिक ३ विकेट हात पारेका थिए ।
त्यसैगरी हिजै भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले सनराइजर्स हैदरावादलाई ६७ रनले पराजित गर्दै आईपिएल अकं तालिकाको चौँथो स्थानमा उक्लिएको छ ।