
काठमाडौं । गठबन्धनको उम्मेदवारविरुद्व उभिएका भरतपुरका नेता तथा कार्यकर्तामाथि नेपाली कांग्रेसले कारबाहीको निर्णय गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले भरतपुरमा पाँच दलीय गठबन्धनको उम्मेदवारविरुद्ध उभिएका नेताहरुमाथि कारबाही गरेको जनाएको हो ।
कांग्रेसले पूर्वसांसद भिमबहादुर श्रेष्ठसहित ५ जना नेतालाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । निलम्बन पर्नेमा पूर्वसांसद श्रेष्ठसहित पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेल छन् ।
कांग्रेस कार्यबहाक मुख्यसचिव डा. प्रदिप पराजुलीद्धारा जारी विज्ञप्तिअनुसार सबै नेताहरुलाई पार्टीको विधान र अनुशासन उल्लंघन गरेको कारण निलम्बन गरिएको हो ।
कांग्रेसले यसअघि पनि भरतपुरमा गठबन्धनको उम्मेदवारविरुद्ध खडा भएका केही नेताहरुलाई कारबाही गरिसकेको छ । भरतपुरमा गठबन्धनको साझा उम्मेदवार रेणु दाहालको विरुद्धमा कांग्रेसकै जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् । उनी र उनको समर्थकलाई कांग्रेसले यसअघि नै कारबाहीको निर्णय गरिसकेको थियो ।