
काठमाडौं । स्थानीयतहको निर्वाचन आज हुँदैछ ।
देशैभरीका स्थानीयतहमा ३५ हजार जनप्रतिनिधि चुन्नका लागि १ करोड ७७ लाख ३३ हजार २३ जना मतदाताले देशैभरीका निर्वाचन वुथबाट मत हाल्दैछन् ।
निर्वाचन आयोगका अनुसार देशैभरी रहेका १ करोड ७७ लाख ३३ हजार २३ मतदातामा ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५३० महिला र १८३ जना अन्य मतदाताले आज आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।
आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म देशैभरीका २१ हजार ९५५ मतदान केन्द्रबाट मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।
आज हुने स्थानीय तहको निर्वाचनबाट ७५३ पालिकामध्ये २९३ मा नगर प्रमुख (मेयर) र ४६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुने छन् भने सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष निर्वाचित हुनेछन् । साथै ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ महिला सदस्य, ६ हजार ७४३ दलित महिला सदस्य र १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुने पनि आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४, मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७०, बागमती प्रदेशमा ३४ लाख १२ हजार ८६९, गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४११, लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४५७, कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता रहेका छन् ।
त्यसैगरी देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह छन् ।
निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा पाँचदलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्र, नेकपा (एकिकृत (समाजवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र जनमोर्चाले देशैभरीका स्थानीयतहमा तालमेल गरेका छन् भने गठबन्धनको मुख्य प्रतिश्प्रधी रहेको नेकपा एमालेले राप्रपा, राप्रपा नेपाल लगायतका दलसँग केही स्थानीयतहमा आवस्यकता अनुसार चुनावी तालमेल गरेको छ ।