
काठमाडौं । खासै सबाल जवाफ नर्फकाउने प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच चुनावको दिन दोहोरी चलेको छ । मतदान गरेपछि दुवैले एकअर्कालाई घोचपेच गर्दै अभिव्यक्ति दिएका छन् ।
मतदानका लागि डडेल्धुरा पुगेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले चुनाव नहुने भ्रम तोडिएको बताए । उनले तोकिएकै समयमा निर्वाचन गराउनु सरकारको सफलता भएको बताए । ओलीतर्फ संकेत गर्दै देउवाले लोकतन्त्र निर्वाचन विरोधी शक्तिहरु पनि निर्वाचनमा सहभागि भएको बताए ।
“अहिले चुनाव भइरहेको छ, निर्वाचनविरोधी शक्तिहरू पनि आएका छन्”, ओलीतर्फ संकेत गर्दै देउवाले भनेका छन्, “निर्वाचन गराउन सरकार सफल भएको छ, स्थानीय तहको समृद्धि र विकासका निम्ति यो निर्वाचन महत्त्वपूर्ण छ ।”
देउवाले आफुँप्रति संकेत गर्दै प्रतिक्रिया दिएको विषयमा ओलीले पनि भक्तपुरबाटै जवाफ फर्काएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गरे लगत्तै पत्रकारसँगको कुराकानीमा ओलीले चुनाव नगराउने प्रयास असफल भएको बताए ।
उनले प्रधानमन्त्री देउवालाई आफुुँलाई चुनाव सारौं भनी प्रस्ताव पठाएको समेत दाबी गरे । कानुनी बाध्यता र जनताको दबाबका बीच सरकारले चुनाव गराएको ओलीको भनाई छ ।
“ वैशाख ९ गते उहाँले चुनाव सारौँ भनी प्रस्ताव पठाउनुभएको थियो, मैले देशलाई यस्ता कुरा गरेर अब द्वन्द्वतिर नधकेल्नुहोस् भनेँ, अलोकतान्त्रिक बाटो नहिँड्नुहोस् भनेर अलिक राम्रैसँग खबर पठाएको थिएँ”, ओलीले भनेका छन्, “निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि, कानुनले बाध्यता भएपछि उहाँहरू तयार भएको हो ।”