
भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सुनिल प्रजापति पुनः निर्वाचित भएका छन् । निवर्तमान मेयर प्रजापतिले २९ हजार २०० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
प्रजापतिका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ३५२ मत प्राप्त गरेका छन् । २०७४को निर्वाचनमा पनि नेमकिपाका प्रजापति र कांग्रेसका कासुला प्रतिस्पर्धी बनेका थिए । ०७४को निर्वाचनमा कासुलाले ६ हजार ५६० मत प्राप्त गरेका थिए । तर प्रजापतिले ०७४को निर्वाचनमा २५ हजार ७३० मत प्राप्त गरेका थिए ।
यसैगरी, उपमेयरमा नेमकिपाकी रजनी जोशी पुनः निर्वाचित भएकी छन् । जोशी २९ हजार ६९५ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी रञ्जना खर्बुजाले २ हजार ७८४ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ र राप्रपाकी लक्ष्मी छुस्याबागले १ हजार १८० मत प्राप्त गरिन् ।