
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ । बाँस्कोटाको गृहपालिका मण्डनदेउपुर नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उठेका नेकपा (एस)का टोकबहादुर वाइबा निर्वाचित भएका छन् ।
मेयरमा निर्वाचित वाइबाले ९ हजार ४०६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका विदुरप्रसाद सापकोटाले ८ हजार ३५१ मत पाए । वाइबा यसअघि पनि मण्डनदेउपुरको मेयर थिए । एमाले विभाजनसँगै नेकपा एस रोजेका वाइबा काभ्रे जिल्ला अध्यक्षसमेत हुन् ।
मण्डनदेउपुरको उपमेयरमा पनि एमाले पराजित भएको छ । उपमेयर कांग्रेसका विष्णुमणी नेपाल निर्वाचित भएका छन् । उपमेयरमा निर्वाचित नेपालले ११ हजार ३०५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी सरिता ढकालले ६ हजार ९२४ मत ल्याएकी छिन् ।