
काठमाडौं । सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो दल हो, नेकपा (एकीकृत समाजवादी) । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एसको सबैभन्दा बढी १४ सांसद छन् । तर, प्रदेशसभाको पहिलो दल भएपनि स्थानीय तहको निर्वाचनमा भने सुदूरपश्चिममा एसको अवस्था निकै नै सर्मनाक देखिएको छ ।
९५ पालिका रहेको सुदूरपश्चिम समाचार तयार गर्दासम्म एसले जम्मा १ वटा पालिका जितेको भने परिणाम नआएका पालिकामध्ये १ वटामा मात्रै एसको अग्रता छ । परिणाम आएका र आउन बाँकी गरी ३ पालिकामा मात्रै एस दोस्रो दल बनेको छ । सुदूरपश्चिमका अधिकांश पालिकामा एस प्रतिस्पर्धीको रुपमा समेत आउन सकेन ।
कुन जिल्लामा एसको अवस्था के ?
नेकपा (एस)ले कैलालीको घोडाघोडी नगरपालिकाबाट खाता खोलेको छ । घोडाघोडीमा एसका खड्कबहादुर रावत विजयी भएका छन् । त्यस्तै, कैलालीकै चुरे गाउँपालिकामा एस दोस्रो बनेको छ । १३ पालिका रहेको कैलालीमा ६ वटाको मात्रै मतगणना बाँकी छ तर, अन्य कुनै पनि पालिकामा एस प्रतिस्पर्धी छैन ।
यता, ९ पालिका रहेको कञ्चनपुरमा एस प्रतिस्पर्धीको रुपमा देखिएन । नतिजा आएको कञ्चनपुरको बेदकोटमा मात्रै एस तेस्रो बनेको छ ।
७ पालिका रहेको डडेल्धुराको सबै पालिकाको नतिजा आएको छ । तर, एस डडेल्धुराको नवदुर्गा बाहेकमा प्रतिस्पर्धीको रुपमा समेत देखिएन । नवदुर्गामा पनि एसका उम्मेदवारलाई कांग्रेसले हराएको छ ।
यस्तै, १० पालिका रहेको बैतडीमा पनि एस निकै कमजोर देखियो । सबै पालिकाको नतिजा आएको बैतडीमा एस सुर्नया गाउँपालिकामा मात्रै दोस्रो बनेको छ ।
१० पालिका रहेको अछाममा हालसम्म ८ पालिकाको नतिजा सार्वजनिक भइसकेको छ । तर, अछामका कुनै पनि पालिकामा एस दोस्रोसमेत बन्न सकेन ।
त्यस्तै, ६ पालिका भएको दार्चुलाका सबै पालिकाको नतिजा आएको छ । तर, एस सबै पालिकामा प्रतिस्पर्धीको रुपमा देखिएन । दार्चुलाका कुनै पनि पालिकामा एसले सय मत कटाउन सकेन ।
केन्द्रका पर्यटनमन्त्री प्रेम आलेको गृह जिल्ला डोटीमा पनि एसको अवस्था निकै कमजोर देखियो । ९ पालिका रहेको डोटीका सबै पालिकाको नतिजा आएको छ तर, एस कुनै पनि पालिकामा दोस्रो प्रतिस्पर्धीसमेत बनेन् । मन्त्री आलेको गृहनगर जोरायल गाउँपालिकामा एस तेस्रो प्रतिस्पर्धीको रुपमा देखिएको छ ।
त्यस्तै, १२ पालिका रहेको बझाङमा दुई पालिकाको नतिजा मात्रै आउन बाँकी छ । मतगणना नसकिएको केदारस्यूँ गाउँपालिकामा एसले अग्रता लिइरहेको छ । तर, तलकोट गाउँपालिका बाहेकमा एस दोस्रो बन्न सकेन ।
९ पालिका रहेको बाजुराका ३ पालिकाको नतिजा आउन बाँकी छ । नतिजा आएका र आउन बाँकी पालिकामा एस प्रतिस्पर्धीको रुपमा देखिन्न ।