
फर्शुराम भुर्तेल, हातेमालोचोक, पर्वत । गण्डकी प्रदेश पैँयू गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राज मल्ल ठकुरीले पैँयूको समृद्धि सबैको साझा सपना भएको बताएका छन । गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गर्न आयोजित औपचारिक समारोहमा उनले समृद्धिका लागी सबैसँग हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हिजोसम्म कुनै राजनैतिक दलको मात्र जिम्मेवारीमा भएका आफुहरु अब जनप्रतिनिधिमा रूपान्तरण भएको बताउँदै उनले मतका कारण कोही पनि जिम्मेवार बिहीन बन्नुनपर्ने कुरा व्यक्त गरेका छन् ।
निर्वाचन जीत हारको विषय नभएर लोकतन्त्र सुदृढिकरणको प्रक्रिया भएको बताउँदै मल्लले सबैसँग समन्वय र सहकार्यको नीति बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सहायक निर्वाचन अधिकृत समेत रहेका पैँयू पालीकाका कार्यकारी केशव लामीछानेको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा निर्वाचन अधिकृत भुमिप्रसाद शर्मा, नवनिर्वाचित उपाध्यक्ष याम कुमारी राना,प्रहरी निरीक्षक खगेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो । उपाध्यक्ष याम कुमारी राना लगायतले बोलेको सो कार्यक्रममा निर्वाचीत जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको थियो ।