
काठमाडौं । निर्वाचन आयोगले दिएको तथ्यांकअनुसार हालसम्म ६ सय ५३ पालिकाको अन्तिम परिणाम आएको छ । अन्तिम परिणाम आएका पालिकामध्ये नेकपा (एमाले)ले हालसम्म १७९ पालिकाको नेतृत्व जितेको छ । मतगणना चलिरहेका थप १८ पालिकामा पनि एमाले अग्रस्थानमा छ ।
एमालेले हालसम्म २ सय पालिकाको उपप्रमुख जितेको छ । उप्रमुखको लागि मतगणना जारी रहेका ३१ पालिकामा एमाले अग्रस्थानमा छ ।
अहिलेसम्म जितेको र अग्रस्थान कायम गरेको पालिकालाई हेर्दा एमालेले करिब २ सय पालिकामा नेतृत्व लिने सम्भावना देखिएको छ ।
१० जिल्लामा खोलिएन एमालेको खाता
एमालेले १७९ पालिकाको नेतृत्व जितेको भएपनि देशभरका १० जिल्लामा भने उसले खाता खोल्न सकेन । कतिपय जिल्लामा एमाले प्रतिस्पर्धी नै भएन ।
सुदूरपश्चिम प्रदेश डडेल्धुरामा एमालेको खाता खोलिएन । ७ पालिका रहेको डडेल्धुराको २ पालिकामा मात्रै एमाले प्रतिस्पर्धी बनेको देखियो ।
यता, समग्रमा कर्णाली प्रदेशमा एमाले केही कमजोर देखियो । एमालेले हुम्ला, मुगु, जुम्ला र रुकुम पश्चिम जिल्लामा खाता खोल्न सकेन । खाता खोल्न नसकेको जुम्ला र रुकुम पश्चिममा दोस्रो प्रतिस्पर्धीसमेत बन्न सकेन ।
यता, राम्रो प्रभाव क्षेत्र मानिएको लुम्बिनी प्रदेशकै दुई जिल्ला बाँके र रुकुम पूर्वमा एमालेले खाता खोल्न सकेन । बाँकेमा मतगणना जारी रहेका ४ पालिकामा एमाले प्रतिस्पर्धी भएपनि अग्रता लिइरहेका उम्मेदवारको अवस्था निकै बलियो देखिन्छ । मतगणना जारी रहेका पालिकामा एमालेले जित्ने सम्भावना कम छ ।
यता, गण्डकी प्रदेशको गोरखाका कुनै पनि पालिकामा एमालेले खाता खोल्न सकेन । एमाले गोरखामा निकै कमजोर प्रतिस्पर्धीको रुपमा देखियो ।
यता, बागमती प्रदेशको काभ्रेमा एमालेले हालसम्म कुनै पालिकामा खाता खोल्न सकेको छैन । धुलिखेल नगरपालिकामा एमालेका उम्मेदवार अग्रस्थानमा छन् । तथापी धुलिखेलमा एमालेका उम्मेदवार र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
मधेश प्रदेशको सर्लाही हालसम्म एमालेले कुनै पालिका जितेको छैन । तथापी बरहथवा नगरपालिकामा जारी मतगणनामा एमाले अगाडि छ । तर, बरहथवामा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।