
काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ । ६ महानगरमा पाँच दलीय गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ ।
काठमाडौंमा भने त्रिपक्षी प्रतिस्पर्धा भएको छ । काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साहसँग एमाले उम्मेदवार केशव स्थापित र पाँच दलीय गठबन्धनकी उम्मेदवार सिर्जना श्रेष्ठ प्रतिस्पर्धामा छन् । तर, काठमाडौंमा बालेन झण्डै दोब्बर मतले अगाडि छन् ।
दिउँसो अपरान्ह ३ः१५ सम्मको मतगणनाको नतिजालाई हेर्दा बालेनले २८ हजार ८८२ मत ल्याएका छन् भने स्थापितले १५ हजार ३१२ र श्रेष्ठले १४ हजार ७९८ मत ल्याएकी छिन् । काठमाडौंमा मतगणनाको सुरुवातदेखि नै साहले दोब्बर मतले लिड गरिरहेका छन् । मतपरिणामको अवस्थालाई हेर्दा काठमाडौंमा साहले नै जित्ने सम्भावना बढी देखिन्छ । एमाले र गठबन्धनबीच दोस्रो को बन्ने भन्ने मात्रै प्रतिस्पर्धा हुने सम्भावना छ ।
यता, निकै चासोको साथ हेरिएको भरतपुरमा मुख्यतः गठबन्धनकी साझा उम्मेदवार माओवादी नेतृ रेनु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीबीच प्रतिस्पर्धा चलिरहेको छ । भरतपुरमा रेनु तीन बढी मतले अगाडि छिन् । उनले २१ हजार ४९२ मत ल्याउँदा एमालेका सुवेदीले १८ हजार २७० मत ल्याएका छन् । जहाँको प्रतिस्पर्धालाई हेर्दा गठबन्धन उम्मेदवारलाई जित्न सजिलो देखिन्छ ।
यता, पोखरा महानगरमा पनि निकै कडा प्रतिस्पर्धा भइरहेको छ । जहाँ गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका नेता धनराज आचार्य र एमाले उम्मेदवार कृष्णबहादुर थापाबीच प्रतिस्पर्धा देखिन्छ । आचार्य थापाभन्दा ३ हजार बढी मतिले अगाडि छन् । आचार्यले २६ हजार ९६९ मत ल्याउँदा थापाले २३ हजार ६९८ मत ल्याएका छन् । पोखरामा भइरहेको मतगणनामा सबैजसो वडामा आचार्य अगाडि देखिन्छन् ।
काठमाडौंसँगै जोडिएको ललितपुर महानगरमा गठबन्धनको साझा उम्मेदवार एवं कांग्रेस नेता चिरीबाबु महर्जन प्रतिस्पर्धीभन्दा झण्डै दोब्बरले अगाडि छन् । पूर्वमेयर महर्जनले २१ हजार ३११ मत ल्याउँदा एमालेका हरिकृष्ण व्यञ्जनकारले १२ हजार १४९ मत ल्याएका छन् । ललितपुरमा महर्जनलाई चुनाव जित्न सजिलो हुने आकंलन गरिएको छ ।
यता, व्यापारिक नगर वीरगञ्जमा गठबन्धनका साझा उम्मेदवार जसपा नेता राजेशमान सिंह र एमालेका उम्मेदवार विजयकुमार सरावगीबीच प्रतिस्पर्धा छ । जहाँ सरावगी भन्दा झण्डै दोब्बर मतले सिंह अगाडि छन् । सिंहले २२ हजार ५९६ मत ल्याउँदा सरावगीले ११ हजार ७८५ मत ल्याएका छन् । मतगणनाको अहिलेसम्मको ट्रेण्डलाई हेर्दा चुनाव जित्न गठबन्धन उम्मेदवारलाई सहज हुने देखिन्छ ।
विरगञ्जमा जस्तै विराटनगरमा पनि गठबन्धनको साझा उम्मेदवार नागेश कोइराला निकटमत प्रतिस्पर्धीभन्दा धेरै अगाडि छन् । अन्य महानगरमा जस्तै विराटनगरमा पनि गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा देखिएको छ । गठबन्धनका साझा उम्मेदवार नागेश कोइरालाले २५ हजार ३१२ मत ल्याउँदा एमालेका उम्मेदवार सागरकुमार थापाले १८ हजार ८३५ मत ल्याएका छन् । जहाँ स्वतन्त्र उम्मेदवार र राप्रपाका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । तर, अहिलेसम्मको मतपरिणामको ट्रेण्डलाई हेर्दा गठबन्धनका उम्मेदवार कोइराला धेरै बलियो अवस्थामा छन् । झण्डै ७ हजार मतान्तरको कारण पनि उनलाई चुनाव जित्न सजिलो हुने देखिन्छ ।