
राकेश राई, बोस्टनबाट । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्युइंग्ल्याण्ड च्याप्टरको हालै बोस्टनमा सम्पन्न छैठौ अधिवेसनले कर्ण बहादुर राईको नेतृत्वमामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अर्गनाइजेसनका केन्द्रीय सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि सुरेश चामलिङले कार्यक्रमको उद्घाटन गर्दै संसारमा राईहरुले जहाँ पाइला टेकेको छ, त्यहाँ राईहरु संगठित भएर आफ्नो संस्कार र संस्कृति विकास गरेको बताए । उनले काठमाडौँको बागबजारमा दाउरे बुढा अर्थात बुद्दिकर्ण राईको आँगनदेखी संसारको बिभिन्न कुनामा साकेलाको विस्तार यसको उदाहरण रहेको बताए । अहिलेको यो प्रयास भावी पिढीको लागी रहेको भन्दै उनले राईहरुको अस्तित्वको चिनारी भावी पुस्तालाई चिनाउनका लागि परदेशमा रहेका राईहरु बृहदरुपमा संगठीत हुनुपर्ने समेत बताए ।
अर्गनाइजेशनको न्यु इंग्ल्याण्ड सभापति मुक्ति नारायण राईले अर्गनाइजेशनको उद्देश्य राईहरुको भाषा, धर्म र संस्कृतिलाई विदेशमा पनि अनुशरण गरी यसको संम्बद्र्धन प्रवर्धन र संरक्षण गर्नु रहेको बताउँदै नेपालको सन्दर्भमा हाल चर्चामा आएको प्रदेश नं १ को नामांकन किरात प्रदेश नै राखिनुपर्दछ भन्नु भयो ।
अतिथिको तर्फबाट अधिवेशनको सफलताको लागि शुभकामना दिने क्रममा नेपाली समाजका उपाध्यक्ष लाक्पा शेर्पाले न्यू इंग्ल्याण्डमा राईहरूको संख्या कम भए पनि सामाजिक क्षेत्रमा उल्लेखनिय कार्य गरिरहेको भन्दै कार्य सफलताको कामना गरेका थिए ।
त्यस्तै अर्का अतिथि केपकोड नेपाली समाजका अध्यक्ष के बि राईले यूनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाले आफ्नो भाषा, धर्म र संस्कारको संरक्षणको साथै मुलुक र समाजको लागि अरू धेरै काम गर्न वांकी रहेको कुरा बताए । उनले त्यसको लागि अब फरक ढंगले अगाडी बढ्न जरूरी रहेको समेत बताए ।
सो कार्यक्रममा भरखरै जन्मिएका वालवालिकाहरू र नेपालबाट आएका नयां सदस्य तथा पाहुनाहरूलाई केक काटेर स्वागत गरिएको थियो ।
यसैगरी २०१९, २०२० र २०२१ को शैक्षिक वर्षहरूमा हाई स्कूल र कलेज ग्राजुएट गरेका विद्यार्थीहरूलाई विगत वर्षहरूमा जस्तै यसपटक पनि ट्रफीका साथै खादा ओढाई सम्मान गरिएको थियो ।
यस्तो छ नयाँ कार्यसमिति
संस्थाका पूर्व केन्द्रीय अध्यक्ष तथा निर्वाचन संयोजक विष्णु कुमार राई र केन्द्रीय सल्लाहाकार धौलाविर राईको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरि ११ सदस्यीय कार्य समितिको चयन गरेको छ ।
कर्ण बहादुर राई बोस्टनको अध्यक्षतामा गठित उक्त कार्यसमितिमा उपाध्यक्षहरु शेखर राई उत्तरी क्षेत्र, हरि राई दक्षिण क्षेत्र, महासचिव राकेश राई, कोषाध्क्ष चन्द्र राई, बोर्ड सदस्यहरु युवराज राई, कमल थुलुङ्ग, तेजेन्द्र खत्री राई, अनिल चोङ्गवाङ्ग, मनिकला राई, युबराज राई केप कोड रहेका छन् । साथै केंद्रीय बोर्ड प्रतिनिधिमा राजन कुथूमी र मुक्ति नारायण राई छन् ।
क्यालिफोर्निया च्याप्टरमा जोरबिर राई
यसरी नै अर्गनाइजेशनको क्यालिफोर्निया च्याप्टरको अधिवेशनले जोरबिर राईको अध्यक्षतामा ११ सदस्यीय समीती चयन गरेको छ ।
उपाध्यक्षमा श्रीमती जानुका राई, महासचिव टक्सन राई, सचिव राम कुमार राई, कोषाध्यक्ष सुश्री नविन राई, सदस्यहरु दियो राम राई, सौजन राई, श्रीमती हिरा राई, श्रीमती लक्ष्मी राई, श्रीमति गायत्री थापा राई, पूर्ण राई छन् । केंद्रीय बोर्ड प्रतिनिधि तेज राई र एकजना पछी चयन गरिने कुरा केंद्रीय उपाध्यक्ष जि एस राईले बताएका छन् ।