
काठमाडौं । २०७४ मा भएको स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा (एमाले)ले काठमाडौंमा काठमाडौं महानगरसहित ७ पालिका जितेको थियो । ११ पालिकामध्ये एमालेले ७ पालिका जित्दा कांग्रेस ४ मा सिमित भएको थियो । तर, ५ वर्षमै काठमाडौंको नतिजा पुरै उल्टिएको छ ।
एकातिर महानगर एमालेको पोल्टाबाट स्वतन्त्रमा जाँदैछ भने टोखा र बूढानिलकण्ठ नगरपालिका बाहेक सबै पालिकामा एमाले पराजित हुने अवस्था बनेको छ । ०७४ मा दोब्बर मतसहित जितेको शंखरापुर नगरपालिकामा अहिले एमाले प्रतिस्पर्धी दलसमेत बन्न सकेन । शंखरापुरमा मुख्य प्रतिद्धन्द्धी एकिकृत समाजवादीलाई हराउँदै राप्रपा विजय भएको छ ।
टोखा र बूढानिलकण्ठमा पनि एमालेले निकै कम मतान्तरसहित जित हात पारेको छ । गठबन्धन र विभाजनको असर काठमाडौंमा एमालेले कागेश्वरी मनोहरा, किर्तिपुर नगरपालिका, तार्केश्वर नगरपालिका र शंखरापुर गुमायो ।
अहिले कांग्रेसले भने यसअघि हारेका सबैजसो नगरपालिका आफ्नो पक्षमा ल्याएको छ । ६ पालिका जितिसकेको कांग्रेसले मतगणना जारी भएको नागार्जुनमा पनि बलियो अग्रता कायम गरिरहेको छ ।