
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड(एससीटी) र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआरबीच अन्तर आवद्धताको लागि सम्झौता सम्पन्न भएको छ ।
हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फर्स्ट पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले सो सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंकद्वारा २०७८ माघमा जारी गरेको परिपत्रका आधारमा सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) तथा भुक्तानी सेवा प्रदायक (पीएसपी)लाई अन्तर आवद्धताको लागि दिएको निर्देशन अनुरुप सम्झौता सम्पन्न भएको जनाइएको छ ।
विगत २० वर्षदेखि कार्ड लगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आइरहेको स्मार्टच्वाईस टेक्नोलोजिज र युनियन पे(युनियन पे/वीच्याट)मा आबद्ध भुक्क्तानी संयन्त्रमार्फत कारोबार गर्न सकिने क्यूआर सेवा प्रदान गर्दै आएको फस्र्ट पे टेक्नोलोजिजवीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्ने आशा कम्पनीले लिइएको छ ।
यस सम्झौता पश्चात फर्स्ट पे क्यूआरको सुविधा लिएका बिभिन्न व्यापार-व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तर्गत रहेको भुक्तानी सेवा प्रदायक(पीएसपी) वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका व्यापार-व्यवसायले फर्स्ट पे नेटवर्कमा आबद्ध ग्राहकहरु मार्फत पनि भुक्तानी लीन मिल्ने भएको छ ।