
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई शाषक र हाकिमका रुपमा होइन ,जनसेवक र जनताको कारिन्दाको रुपमा प्रस्तुत गर्न अनुरोध गरेका छन् ।
गतसाता सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित सबै पालिकाका प्रमुखहरुलाई नेता श्रेष्ठले सामाजिक संजालमार्फत् आठबुँदे सुझाव दिँदै भनेका छन्, ‘भ्रष्टाचारको ‘भ’ र अनियमितताको ‘अ’ को छिटा बिल्कुल पर्न नदिनुहोस । स्वच्छता ,पारदर्शिता र सुशाशनमा नमुना बन्नुहोस् ।’
यस्तो छ नेता श्रेष्ठको सुझाव
हालै स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ र अधिकाँश स्थानको निर्वाचन परिणाम समेत घोषणा भैसकेको छ । निर्वाचन सम्पन्न गर्ने कार्यका निम्ति निर्वाचन आयोग, सरकार, राजनीतिक पार्टीहरु र आम जनसमुदायप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु र निर्वाचित हुनुहुने सबै जनप्रतिनिधिहरुलाई बधाई दिदै कार्यकालको सफलताको कामना गर्दछु ।
निर्वाचित जनप्रतिनिधिहरु, मुख्यतः हाम्रो पार्टीका तर्फबाट निर्वाचित हुनुभएका कमरेडहरुलाई म बिनम्रतापुर्वक निम्न कुरामा ध्यानाकर्षण गराउन चाहान्छु !
१–आफुलाई शाषक र हाकिमका रुपमा होइन, जनसेवक र जनताको कारिन्दाको रुपमा प्रस्तुत गर्नुहोस ।
२-भ्रष्टाचारको ‘भ’ र अनियमितताको ‘अ’ को छिटा बिल्कुल पर्न नदिनुहोस । स्वच्छता, पारदर्शिता र सुशाशनमा नमुना बन्नुहोस ।
३- जननीति लागु गर्नुहोस । नीति निर्माण, योजना तर्जुमा, बजेटको बाँडफाँड र कार्यान्वयनमा जनताको सहभागिता सुनिश्चित गर्नुहोस ।
४ -सामाजिक सुरक्षा भत्ता के कसरी संयोजन गरेर हुन्छ जनताको घरघरमै पुर्याउनुहोस् ।
५– बिकास स्थानीय सरकारको मुख्य कार्यभार हो । तर बिकासलाई जनमुखी बनाउन र समाजवादको आधार तयार पार्न ध्यान दिनु पर्दछ । घर–घरमा स्वच्छ खानेपानी र बिजुली, सरकारी बिद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी शिक्षा क्षेत्रमा बिशेष प्राथमिकता, जनस्वास्थ्य र स्वास्थ्यसेवालाई प्रभावकारी बनाउन जोड र कृषि सहित उत्पादन र रोजगारी केन्दृत बिशेष योजना र पर्यावरणको रक्षामा ध्यान केन्द्रित गरौं । बिना योजना जताततै डोजर लगाउने काम बिल्कुल नगरौँ ।
६– जननिर्वाचित प्रतिनिधिहरुको सेवा, सुबिधालाई न्यूनतम बनाउनुहोस् र अवाञ्छितरुपमा बृद्दि नगर्नुहोस् ।
७- गरीब, दलित, महिला र उत्पीडित एवं सिमान्तकृत समुदायको अधिकारको रक्षा र उत्थानमा ध्यान दिनुहोस् ।
८– आफुलाई मत दिने नदिने सबै जनता हाम्रा हुन् । त्यसैले कसैलाई भेदभाव र काखापाखा नगरी सेवा पुर्याउनुहोस् ।
अन्त्यमा, आदरणीय जनसुदायसमुदाय समक्ष पनि विनम्रतापूर्वक एउटा अनुरोध गर्न चाहान्छु । एकदिन भोट दिएपछि आफ्नो काम सिद्धियो भन्ने सोच तपाइहरुले राख्नुहुदैन । आफुले चुनेका प्रतिनिधिहरु प्रति लगातार निगरानि गर्नुहोस् र जनताको पक्षमा काम गर्न दवाव दिराख्नुहोस् ।’