
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृह प्रदेश गण्डकीमा उनको पार्टी शून्य भएको छ । ११ जिल्लाको कुनै पनि स्थानीय तहको नेतृत्वमा जसपाका उम्मेदवारहरू निर्वाचित भएनन् ।
भट्टराई आफैं गृहजिल्ला गोरखामा भने पार्टीको तर्फबाट चुनावी कमाण्डरका रुपमा खटिएका थिए । उनले निर्वाचन अघि जसपाको पक्षमा ठूलो जनलहर आएको बताउने पनि गर्दथे । तर, एमालेसँग तालमेल गरे पनि भट्टराईले गोरखामा जसपाको साख जोगाउन सकेनन् । भट्टराईको गृह जिल्लामै जसपा शून्य बन्यो ।
भट्टराई जस्तै पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठको गृह प्रदेश बाग्मतीमा पनि जसपा शून्य भएको छ। प्रदेशका १३ जिल्लामा एउटा पनि स्थानीय तह नेतृत्वमा जसपा उम्मेदवार जित्न सकेनन् ।
यता, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि जसपाको उपस्थिति शून्य बन्न पुग्यो । सुदूरपश्चिममा यसअघि देखिएको लहर पनि अहिलेको निर्वाचनमा देखिएन ।
जसपाले मधेश प्रदेश, प्रदेश १ र लुम्बिनीमा मात्रै आफ्ना उम्मेदवारलाई जिताउन सकेको छ । तर, मधेशमै जसपाको साख गिर्दो छ । मधेशमा जसपा कमजोर मतसहित तेस्रो शक्ति बनेको छ ।