Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

पैयुको राजनैतिक तरंगमा बिर्सनै नसकिने बालकृष्ण



युरोपको समय साँझ साढे सात जति बजेको थियो । मेसेन्जरमा घन्टी बज्यो । मोबाइल हेरेको अशोकको फोन आएको रहेछ । अशोक गाउँले भतिज मेरो प्रिय बालसखा बालकृष्ण न्यौपानेको भाइको छोरा । स्पेनमा बस्छन बेला बखत कुरा भै रहन्छ । गाउँका कुरा, परिवारका कुरा, संगठनका कुरा, बिकास परिबर्तन आदिका कुरा । त्यो साँझ उनले अलि मधुर स्वरमा बोले ‘अङ्कल हाम्रो त बर्बाद भयो ।’ सम्हालिएर सुन्ने प्रयत्न गरें । जे जस्तो बर्बादी भएको भए पनि आँफु भन्दा साना केटाकेटीसंग कुरा गर्दा उनीहरु जति सुकै बुझक्कड भए पनि सम्झाउनै पर्छ भन्ने लाग्यो । भन त के भयो ? मेरो प्रश्न भुइँंमा खस्न नपाउंदै उनले भने– ‘हाम्रो ठुलोबा त रहनु भएन नि ।’ एकछिन मेरो आवाज रोकियो मैले केहि सोच्नै सकिन । के कसरि यस्तो घटना घट्यो उनले अलि अलि बिस्तार लगाए, मैले धेरै सोधपुछ गर्ने हिम्मत भएन । हुन्छ फोन राख भनें र उनीसंग बिदाबादी भएँ ।

अशोक, अर्जुन अनिलका ठुला बा सुर्यका बा स्कुल जीवनका मेरा सहपाठी बालकृष्ण न्यौपानेसंगको तस्विर सिनेमाको रिल जस्तै मेरो मानस पटलमा घुम्न थाले । आफ्नै घरको काँक्रो चोरेर पाखिम्बास देखी लिएर आउने र स्कुल पछाडिको कोदो बारीमा लुकाएर हाफछुट्टीमा पलाँसे गहिरामा लगेर लुकाएर खाएको घटनाले मलाइ निकै अधैर्य बनायो । तिनै बालकृष्ण अब यो संसारमा छैनन । उनीसंग अब भेट हुंदैन भनेर पत्याउनु पर्ने भएको छ । काँशीनाथ न्यौपानेका दुई छोरा बालकृष्ण र यज्ञ मध्ये बालकृष्णसंग मैले हाइस्कुलसम्म संगै पढ्ने अवसर पाएँ यज्ञ हाम्रो साहिँलो भाइ सहीद कृष्ण गौतमको सहपाठी हुन । स्कुल जीवनमा यज्ञ र कृष्ण पनि आपसमा घनिष्ठ सहपाठी थिए ।
बालकृष्णका हजुरबा बालानन्द हाम्रो घरमा नियमित जस्तै आउंथे । बा संग धर्मशास्त्रका कुरा गरेको मैले बाक्लै सम्झन्छु । म ६ कक्षामा पढ्दा एक दिन बालानन्द हजुरबा घर भन्दा अलि माथीबाटै बाको नाम लिएर चिच्याऊंदै आए ।

‘ओइ, लाल प्रसाद यो संसार कस्तो लाग्यो ? बा भैंसी दुहुँदै गरेको देखेर बुढा आँगनमै रोकिनु भयो । नौलो मान्छे देखेर भैसी उफ्रिन्छ भन्ने लागेरै होला । बा भैसी दुहेर निस्केपछि फेरि पहिलाकै प्रश्न दोहोर्याउनु भयो बालाइ । संसार कस्तो लाग्यो भनम मैले ? सबै हजुरलाई थाहै छनी, बाले जवाफ फर्काउनु भयो । यो सब मायाको जालो हो, अब म यो जालोबाट मुक्त हुन्छु, हाम्रो नेता अब कुश्मा तिरै घर बनाएर बस्छ होला । भैंसी मर्ने भए । काशिनाथलाइ व्यंग्य हानेको सजिलै बुझ्न सकिन्थ्यो ।

घरमा बा संग कसैले गफ गरेको बेलामा सम्मुखमै उपस्थित भएर कुरा सुन्ने चलन पहिला थिएन । यसो कुनाकानीबाट सुन्ने गरिन्थ्यो । हिंड्ने बेलामा उहाँले मलाइ बोलाउनु भयो र भन्नु भयो, ‘हाम्रो क्रिश्णेलाइ बोकेखोला पढ्न पठाउने कुरा सुनेको थिएँ । तिमीहरु मिल्ने साथी हौ, तेस्लाई पनि सम्झा है संगै पढे हुन्छ ।’ जनसेवा नि मा वि हुवासको विद्यालय संचालक समितिसंगको केहि मनमुटावको कारण बालकृष्णको बुवाले उनलाई निर्मल जनसेवा मा वि मा पढाउने कुरा चल्दै थियो । यो कुराको इतिवृतान्तको मलाइ सबै स्मरण छ तर यसलाई व्याख्या गर्न यहाँ उपयुक्त ठानिनँ । पैयुँ गाउँपालिकाको राजनीतिक इतिहांस भन्ने मेरो अप्रकाशित लेखमा सबै समेटिएको छ । पुस्तकाकारमा अब केहि समय पछि उक्त लेख प्रकाशित हुनेछ ।

 

२०३६ सालको राष्ट्रब्यापि बिद्यार्थी आन्दोलनले बोकेखोलाको निर्मल जनसेवा मा वि को बातावरण राजनीतिमय भयो । मेजर भिम बहादुर राना स्कुलको संचालक समितिको अध्यक्ष हुनुहुन्थ्यो । हामीले स्कुलमा स्वतन्त्र बिद्यार्थी युनियन खोल्यौं । स्ववियुको अध्यक्षमा मेरो नाममा सर्वसम्मति जुट्यो । बालकृष्णले मलाइ जुरुक्कै पिठ्युमा बोके । घर फर्किने बेलामा रातिको ११ बजेको थियो । अर्थुनमा झरेर चप्पलको तुना बालेर त्रिबेणीसम्म आउँदा आगो निभ्यो । अँधेरी रातमा सेती खोलो तर्दा बालकृष्णका किताबहरु चुर्लुम्मै भिजे । हाम्रो घरको धन्सारमा सुटुक्क छिरेर परालमा दुवै जना मज्जाले सुतियो । अबेला घरमा आएको हुँदा पेटमा दौडेका मुसाहरु पनि निद्रासंगै शान्त बने ।

पर्वत जिल्ला पंचायतको उपसभापति काशिनाथ न्यौपाने त्यतिबेला हुवासमा मात्र हैन सिंगो दक्षिणभेकमा चर्चाको शिखरमा हुनुहुन्थ्यो । दक्षिण पर्वतका आम सर्वसाधारणमा काशिनाथप्रति अलि पृथक प्रकारको सकारात्मक सम्बन्ध र धारणा थियो । बिकास आयोजनामा सदरमुकामले साह्रै अपहेलना गरेकाले काशिनाथको सदरमुकाम आवत जावतले मानिसहरुमा आशा पलाएको थियो । कुरा त्यत्ति मात्र होइन काशिनाथ गरिब तथा दलित जनजातीहरुसबैसँग सम्मानपुर्वक बोल्थे । सानासाना बच्चाहरुलाई पनि साह्रै माया गर्थे ।

बालकृष्ष्ण न्यौपाने उहाँका जेठा छोरा अर्थात निर्दलीय पंचायतका घोर बिरोधि, मेरा एक असल मित्र । स्कुलको आन्दोलन बालकृष्णको बुबालाई पनि ठुलो टाउको दुखाइको विषय भएको थियो । जिल्लाबाट सीडिओले हैरान पाथ्र्यो अरे मैले सुनेको । साह्रै भएर होला एकपटक त बालकृष्णलाइ घरै जान गाह्रो भाको कुरा गर्नुहुन्थ्यो । स्कुलबाट फर्केपछि झोला बोकी बोकी नौबिसेको खेतमा पानी लगाएर राति घर जाने उनको पुरानो बानी थियो ।

May be an image of 1 person, standing and indoor
                                                                                 लेखकः उदयराज गौतम

केहिदिन पढाइ समेत ठप्प भयो । माहोल निकै टकरावपूर्ण भयो । राष्ट्रिय बिकास सेवाका शिक्षकहरु शंकर दाहाल, जायस्वर चापागाईँं लगायतले पंचायती ब्यवस्था बिरुद्ध सचेत बिद्यार्थीहरु एकजुट हुनुपर्ने र बिद्यार्थी आन्दोलनको उद्धेस्य के हो भन्ने कुरा आन्तरिक रुपमा प्रशिक्षित गर्दथे । अंग्रेजी शिक्षक राजेन्द्र प्रसाद तिवारीको बिद्यार्थी आन्दोलनप्रति सकारात्मक दृष्टिकोण थियो । बिद्यार्र्थी नेताहरु सुरेन्द्र भुसाल, टिकाराम लेकाली, कम्निस्ट नेता राम प्रसाद भुसाल, पूर्व बिद्यार्थी जयनारायण तिवारी आदिको आडभरोसा र प्रशिक्षणले आन्दोलन सोंचे भन्दा प्रभावकारी बन्यो । तत्कालिन समयमा हामीलाई स्थानिय समर्थनको निकै आवस्यकता थियो । यसको कथा अलि लामो छ , यहाँ सबै व्याख्या गर्न सान्दर्भिक पनि छैन । मात्र कुरा के भने आन्दोलनको नेतृत्वमा म अग्रपंक्तिमा भएकोले बालकृष्णका बा काशिनाथ न्यौपानेले त्रिबेणि स्कुलको आन्दोलन र स्व वि यु खारेज गर्ने सम्बन्धमा धारणा बुझ्न, कुरा गर्न टेक बहादुर आलेमार्फत मलाइ घरमै बोलाएको खबर आयो । उहाँ त्यतिबेला जिल्ला पंचायतको उपसभापति हुनु हुन्थ्यो । स्वाभाविक रुपमा पंचायती व्यवस्थाका नेताहरु पंचायत बिरुद्धको आन्दोलन दबाउन मूल नेतृत्वलाई फकाउने, माया गर्ने अलि बढी सहानुभूति राख्ने कुरालाई बुझ्न सकिने भयो । किन, किन मलाइ यसपटक यो विषयमा कुरा गर्न उहाँको घरमा जान मन लागेन । कुरा एक कान, दुइ कान, मैदान हुँदै बोकेखोलाको स्कुल सम्म पुग्यो भने साथीहरुले गद्धार धोकेबाज भन्न बेर लाउदैनथे । १,२ महिनामै स्कुलको मात्र हैन, मुलुककै कायापलट गरिन्छ भन्ने लाग्थ्यो त्यति बेला । सोझै काशिनाथको घर जान्न भन्न सकिने अवस्था पनि थिएन ।

बाहिरबाट हेर्दा उनको भूमिका तत्कालिन पैयुँ खोलाको बर्र्गीय आन्दोलनमा धेरैले थाहा नपाए पनि संगठनले दिएको जिम्मेवारी पूरा गर्नेमा उनको नाम एक नम्बरमा आउंथ्यो । जोखिम मोल्न सक्ने तर जस लिन नहतारिने मित्र बालकृष्णले बिद्यार्थी कालपछि पनि लामो समय नेकपा (मसाल) मा आफ्नो जिम्मेवारी पूरा गरे । सामाजिक शोषण अन्याय र बेथितिका बिरुद्ध आगो ओकल्न सक्ने मेरा लगौंटी मित्र धर्तीबाट सदका लागि बिदा भए ।

बालकृष्णसंग कुरा राखें । सल्लाह देलान भनेको त, जनैले खानी भेट्न गयौ भने स्कुलमा लगेर सप्पै पोल खोल्दिन्छुुु भने, कुरा सकियो । स्कुल हड्ताल र दक्षिण पर्वतको जाग्दो विद्यार्थी आन्दोलनलाई कसरी दमन गर्ने भन्ने नीति कहाँ कसरी र केके बन्दैछ भन्ने कुरा हामीलाई लगभग थाहा हुन्थ्यो । हरेक गतिविधिको सुक्ष्म निगरानी गर्ने इलाकीय संयन्त्रहरुले डुम्रे भंज्यांगदेखि लुंखुसम्म तथा बिहादीदेखि चिन्नेखर्क सम्मका पन्च गतिविधिको जानकारी लिन्थ्यो । केहि चर्चित पंचहरुले पनि हामीलाई यस्तो सुराकी दिन्थे। २ थरि पंचहरु थिए त्यतिबेला । पहिलो नम्बरका पंचहरु हामीलाई निकै माया गरे जस्तो गर्थे भेट हुँदा ओहो बाबुहरू अस्तिको भाषण निकै राम्रो गर्नु भयो भन्थे । हामीलाई सबैभन्दा खतरा उनीहरुबाट हुन्थ्यो । अर्काथरी पंचहरु थिए अगाडी निकै मुर्मुरिन्थे । खाउँला जस्तो गर्थे । तर हामीहरुलाई यो श्रेणीका पन्चहरुबाट खास डर हुँदैनथ्यो । किनकि यो श्रेणिका पंचहरुले हामीलाई भित्रभित्र माया गर्थे । गतिविधिको मौन समर्थन गर्थे ।

काशिनाथले न्यौपानेले आफ्ना मन मिल्ने दानाकाजी श्रेष्ठ जस्ता मित्रहरुसंग संगै बसेर आंफुहरु रसियन कम्युनिष्ट भएको कुरा गर्थे । एकपटक काशिनाथ न्यौपाने र दानाकाजी श्रेष्ठसंगै काठमांडू भ्रमण गर्न गएको कुरा मैले थाहा पाएँ । काठमांडू पुगेपछि काशिनाथ पंचनेता नबराज सुबेदीलाई भेट्न जानु भयो अनि दानकाजी श्रेष्ठ रसियन कम्युनिस्ट भएकोले केशरजंग रायमाझीलाई भेट्न गएको घटना मैले थाहा पाएको थिएँ । पछि बालकृष्णले थाहा पाएपछि कुरा भयो आखिर के फरक पर्यो त केशरजंग रायमाझी दर्बार पसेको हामी नजन्मदै हो भनेर ठट्टा भयो । अघोषित रुपमा बालकृष्ण न्यौपानेले यी गतिविधिको संयोजन गर्दथे । पंचायतको बिरुद्धमा तत्कालिन समयमा कुनै गतिबिधि गर्नु भनेको ज्यानको जोखिम मोल्नु थियो । एउटा सम्पन्न परिवारमा जन्मेर पाखिम्बासे साहुको नातीले वर्ग संघर्षमा भाग लिनु चानेचुने कुरो थिएन । बालकृष्ण यिनै अब्बल क्रान्तिकारी बिद्यार्र्थी नेता थिए ।

एउटा घटना सम्झिन्छु टेक बहादुर आलेलाई धेरै चिया पिउन कसरि छोडाउन सकिन्छ होला भन्ने गफ भयो पुलामीको भट्टिमा । पुलामी बाजेले पत्याउनु भएन । बालकृष्णले जुक्ति निकाले । पार्टीलाई भनेर धेरै चिया पिउन नपाउने नियम बनाउने भन्ने कुरा आयो । त्यो कुरा सम्भव थिएन । आले सरको स्वास्थ्य नबिग्रोस भन्नेमा बालकृष्णले फुराएको जुक्ति पार्टीभित्र चर्चाको बिषय भएको थियो ।

बाहिरबाट हेर्दा उनको भूमिका तत्कालिन पैयुँ खोलाको बर्र्गीय आन्दोलनमा धेरैले थाहा नपाए पनि संगठनले दिएको जिम्मेवारी पूरा गर्नेमा उनको नाम एक नम्बरमा आउंथ्यो । जोखिम मोल्न सक्ने तर जस लिन नहतारिने मित्र बालकृष्णले बिद्यार्थी कालपछि पनि लामो समय नेकपा (मसाल) मा आफ्नो जिम्मेवारी पूरा गरे । सामाजिक शोषण अन्याय र बेथितिका बिरुद्ध आगो ओकल्न सक्ने मेरा लगौंटी मित्र धर्तीबाट सदका लागि बिदा भए । अब पत्याउनु बाहेक अरु विकल्प रहेन । केहि समय पहिला फोन गरेको थिएँ तर त्यस दिन सम्पर्क हुन सकेन । छोरीले फोन उठाइन ।

२०३६ सालको जनमत संग्रहमा हामी जिउ ज्यान दिएर खटियो । बहुदलको पक्षमा प्रचार गर्न बाइनडाँडा, भुर्तेल्थोक, हुल्कांग, धरादी, सौर्र्कोटको कमाण्डिङ्गको नेतृत्व बालाकृष्णले गरे । भुटेका मकै मुलाको साग खाँदै हामीहरु प्रचारमा लागियो । आन्तरिक रुपमा हामीलाई केशबहादुर गुरुङ, खगेन्द्र भुर्तेलले सहयोग गर्नु भयो यद्यपि बाहिर उहाँहरु खाटी पन्च हुनुपथ्र्यो । एकदिन मर्दिखोलामा झरेपछि बालकृष्ण र टेक बहादुरको जोडका तोड बिबाद भयो । जनैले खानि राजाले हार्छ, हजुर किन ढिपी गर्नु हुन्छ ? बाल कृष्णले जंगीएर बोलि हाले । बालकृष्णको ‘जनैले खानी’ भन्ने कसम सुनेपछि ‘सुर्यचन्द्र आकाशमा छउन्जेल राजतन्त्र फाल्छु भनेर कोशिश नगर्नु’ बिस्तारै टेक बहादुरले अर्कोे दनक दिनु भयो । एकछिन मौनता छायो ।

राजा बिरेन्द्रले निर्दलीय पंचायती ब्यबस्था वा बहुदलिय शाशन ब्यबस्था भनेर रोज्नेमा जनमत संग्रहको चुनाब गराउने घोषणा भर्खर गरेका थिए । मेजर बा,बाल कृष्णका बा, आले सर लगायत धेरैलाइ निर्दल बिरोधि गतिबिधि बढेकोमा ठुलो टाउको दुखाइको विषय भएको थियो । युवाप्रति आले सर धेरै सकारात्मक हुनुहुन्थ्यो । हाम्रो कुरा नमिले पनि उहाँले फेरि फेरि भेटौं है भन्दै त्यो दिन बिदा भैयो । अलि पर पुगेर फेरी बोलाउनु भयो , ‘जिल्लाबाट वारेण्ट काट्न सक्छ मैले अलि अलि सुनेको छु सतर्क रहनु ।’ राजतन्त्रात्मक देश बेलायतबाट प्रशिक्षित भएर होला सायद त्यतिबेला निर्दलीय पंचायती व्यबस्थाको पक्षमा र खासमा अझै भन्नुपर्दा राजतन्त्रप्रति टेक बहादुर सरको ठुलो सम्मान थियो ।
बेलायती जनताले एकपटक फालिसकेको राजतन्त्रलाई किन फेरि ससम्मान स्थापित गराए भनेर उहाँले राम्रै व्याख्या गर्नुहुन्थ्यो । बेलायती फौजको सिपाही भएर पनि राजनीतिक चेत उहाँमा राम्रो थियो । जो कोहिमा त्यतिबेला त्यस्तो राजनीतिक ज्ञान हुँदैनथ्यो । हाम्रो बिचमा राजनीतिक समझदारी हुन नसकेकोमा उहाँ गम्भीर हुनुहुन्थ्यो । यद्धपी उहां पछि कडा गणतन्त्रवादी बन्नुभयो ।

२०३६ सालको बिद्यार्थी आन्दोलनको राँको देशैभरी फैलियो । सीडिओ कार्यालयले म लगायत केहि साथीहरुलाई वारेण्ट पुर्जी जारी गर्यो । झन्डै ३५ दिन स्कुल नगई वारेण्टको म्याद गुजार्ने निधो गरियो । एक जना हवल्दारको कमाण्डमा ५ जना पुलिस दिनभरी स्कुलमा र अर्थुन बजारमा मार्च पास गरि रहन्थे । बालकृष्ण पनि स्कुल जान छाडे म पनि जान सकिनँ । स्थिति जटिल बन्यो । दिनेशलाई पक्रेछ । कुश्मा लैजान भनेर खोर पोखरा पुर्याएको रहेछ । पिसाबले च्याप्यो भनेर अलि तल कान्लामा झरेको पुलिसको आँखा छलेर भागेछन । जहाज चलाउने पाइलट बनाउँछु भनेको ८ कक्षामा पढ्दै गर्दा राजनीति गरेर पक्राउ पुर्र्जी पायो भनेर घरमा बाले भन्न थाल्नु भयो । आन्दोलनको ताप नशा नशामा भिजिसकेको थियो । बहुदललाई जिताउन कम्मर कसेर लागियो ।

झन्डै ३,४ दिन पछिको कुरा हो, छोरालाई जसरि पनि भेट्न पठाइदिनु भनेर काशिनाथले बालाई खबर पठाउनु भएछ । खोलाको जिउँदो मान्छे हो, लबस्तरो छैन एकपटक भेट्न जा भनेर बाले कडा आदेश गर्नु भो । ए राम, अब फेला परियो भन्ने लाग्यो मन मनमा । विद्यार्थीको हुलको बिचमा भए त मज्जाले थर्काइन्थ्यो । एक्लै काशिनाथसंग कहिल्यै कुरा गरेको थिइनँ । एकपटक बालकृष्ण सँग गएर उनको घरमा भात खाएको थिएँ । त्यतिबेला उनि घरमा थिएनन । पुलामिको चिया पसलमा भेट्ने रे, भनेपछि के–के भन्ने होलान भनेर मनमा अनेक तर्कना खेल्यो । जे त पर्ला बालकृष्णका बाउ त हुन् भनेर जाने बिचार गरें । लामा लामा काला जुँगा, अग्लो शरीर सेतो पाइण्ट धर्के सर्ट लगाएका उच्च व्यक्तित्वका धनि काशिनाथलाइ भेट्ने बित्तिकै बुवा नमस्कार भने, उदय बाबु यता आउ त भनेर चिया पसलको पछाडी लगे भन्नुभयो, ‘हेर, हाम्रो कृष्णेले त तिम्लाई गुरुनै मान्छ क्यारे, तिमीहरु २ जना अलि दिन घुम्न जावो, यसो पोखरासम्म पुगेर के के गतिबिधि छ कापीको पानामा टिपेर ल्याउनु ।’ मैले केहि बोलिन । यति कुरा फटाफट भनेर उहाँ हिंडी हाल्नु भयो । मैले मेरो कुरा राख्नै पाइन ।

त्यति बेला ठूला मान्छेहरु आँफु भन्दा सानाको कुरा खासै सुन्दैनथे सुनिहाले पनि त्यसलाई त्यति महत्व दिंदैनथे । तुलनात्मक रुपमा अन्य ठुला बडाहरु भन्दा काशिनाथमा अलि पृथक गुण थियो । उनी दलितहरु, खेलाडि र बिद्यार्थीहरुलाई अलि बढि माया गर्थे अनि गफ गाफ गर्थे मज्जाले । बिरेन्द्र च्यालेन्ज शिल्ड प्रतियोगितामा हाइजम्पतर्फ जिल्लामा म दोस्रो बन्दा उनले मलाइ कुश्माको बडा चौरमा बोकेरै दुई फन्को लगाए । त्यो घटना म कहिल्यै बिर्सन्न ।

असामयिक रुपमा रुपमा काशिनाथ न्यौपानेको मृत्यु भयो । दक्षिण पर्वतका सपना सेलाए । नयाँ चेतना र बर्गीय मुक्ति आन्दोलनको रापले सेकिएका मेरा बाल दौंतरी बालकृष्ण आफ्ना सन्तानको उन्नति प्रगति हेर्न नपाइ यस धर्तीबाट बिलाए । मन मष्तिष्कमा राजनीतिको बिजारोपण हुँदा कम्युनिष्ट आन्दोलनबाट प्रभावित, प्रशिक्षित र ब्यबहारिक राजनीतिका प्रेरक दृष्टान्त हुन बाल कृष्ण । पहाडको बसाइ सरेर बर्दिया गए पनि उनि पर्बतमै सपना देख्थे । बसाईं सराइमा हरेक मानिसका आ आफ्नै कथा ब्यथा हुन्छन । रहर कमैको हुन्छ होला । सामाजिक रुपान्तरणको अग्रभागमा उनि बर्दिया जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला सदस्यको भूमिकामा रहेका थिए ।

मृत्युपश्चात उनको अन्त्यष्टि कर्म गर्न जन्मस्थान हुवास लैजाने परिवारको चाहनालाई कोरोनाको निहुँ बनाएर उनको शवमाथि स्थानिय निकायले जुन अड्को थाप्ने काम गर्यो त्यो जायज अनि मानविय थिएन । त्यो प्राकृतिक न्यायको सिद्धान्तसंग मिल्ने कुरो थिएन । त्यो सरासर अन्धविस्वाश थियो । त्यसमा कुनै बैज्ञानिक र मानविय सोंच थिएन । भाइछोराहरु यज्ञ,सुर्य, अर्जुन अशोक, अनिल, छोरीहरु लगायत सम्पूर्ण परिवारजनमा यो आकष्मिक घटनाले पारेको असैह्य पीडाप्रति हार्दिक समबेदना प्रकट गर्दछु । दिवंगत बालसखा बालकृष्ण प्रति हार्दिक श्रद्धासुमनपुर्बक क्रान्तिकारी अभिबादन अर्पण गर्दछु ।

(बालकृष्णका साथी उदय गौतम, पैयुक्षेत्रका वरीष्ठ राजनीतिज्ञ हुन । उनले यो लेख २ बर्ष अगाडी सार्वजनिक गरेका थिए )


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा