Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

स्थानीय निर्वाचनमा किन तेस्रो बन्यो माओवादी ?



महान दशवर्षे जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलनलगायतका विभिन्न आन्दोलनहरुको परिणाम स्वरुप मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, मौलिक हक र अधिकारहरुलगायतका केही महत्वपूर्ण जनाधिकारहरु स्थापित भई नयाँ संविधान पनि जारी भइसकेको छ । नेपालको संविधानले स्थानीय तहलाई नै अधिकार सम्पन्न बनाउन जोड दिएको छ । संविधानको अनुसूची ८ मा २२ वटा विषयगत क्षेत्राधिकार तोकेको छ । ती क्षेत्राधिकारको प्रयोग र उपभोगको लागि स्थानीय तह स्वयम्ले नै नियम, कानुनहरु बनाउन सक्ने व्यवस्थापकीय अधिकार प्रदान गरेको छ ।

नेपालको इतिहासमा नै पहिलोपटक स्थानीय सरकार गठनको ऐतिहासिक अभियान चलिरहेको छ । यसबाट विगतकालको एकात्मक प्रणालीले सिंहदरबारमा केन्द्रित गरिएको जनताको अधिकारलाई जनताकै घरदैलोमा पुर्‍याइएको छ । स्थानीय जनतालाई नै अधिकार सम्पन्न गराई स्थानीय जनप्रतिनिधिहरुद्वारा नै सुशासन सञ्चालन गर्नुका साथै स्थानीय जनताद्वारा नै आफ्नो गाउँ र नगरको विकास आफैले गर्ने प्रणालीको सुरुवात भएको छ । यी सबै उपलब्धिहरु मुख्यतः दश वर्षको जनयुद्धको उपज हो । प्रचण्डको नेतृत्वमा माओवादी पार्टीले सशक्त ढङ्गले प्रतिवाद गर्दै आएको कारणले गर्दा राज्य पुर्नसंरचना गरी सिंहदरबारमा केन्द्रीत अधिकारलाई गाउँ र नगर तहसम्म अधिकार पुर्‍याउन सफल भएको हो । अतः यस उपलब्धिको संस्थागत स्थापना र रक्षा गर्ने मूल दायित्व पनि माओवादी आन्दोलनकै काँधमा आएको छ ।

कम्युनिष्ट आन्दोलन नेपाली राजनीतिमा मात्रै होइन, बरु धेरै फराकिलो र गहिराइसम्म पुगेको सामाजिक आन्दोलन हो । पार्टी भनेको आन्दोलनको साधन हो, साध्य होइन । देश, काल र परिस्थितिअनुसार जे आवश्यक हुन्छ पार्टी त्यसैगरी चल्छ । अर्थतन्त्रसहित समाजवादी क्रान्ति गरौं भन्ने सोचेर तत्कालीन एमाले र माओवादीबीच २०७४ मा एकता भयो । सुरुमा सबै एजेन्डामा हस्ताक्षर गरे पनि पार्टीका अध्यक्ष केपी ओली सिद्धान्त विपरीत चल्नु र पार्टी एकपक्षीय तथा प्रतिगामी ढंगले चल्न थालेपछि नेकपाबाट छुट्टिएर राष्ट्रियता र संविधानको रक्षार्थ माओवादी केन्द्रले आफ्नो मूल पार्टी माओवादी पुनर्गठित गरेर नयाँ ऊर्जाका साथ पार्टी बनाउनतिर लाग्यो । माओवादी पार्टीको आकार र संगठनभन्दा यसले बोक्ने विचार ठूलो रहेकोले देशको स्वाधीनता र राष्ट्रियताको पक्षमा माओवादी केन्द्र निरन्तर लागिरहेको छ । पार्टी पराजय हुनुका पछाडि यिनै कारणहरु प्रमुख रहेका छन् । यस्ता कमीकमजोरीहरुलाई केही सुधार गर्न सकियो भने माओवादीले जितेका र जित्दै गरेका आधारक्षेत्रहरुमा पुनः जित हासिल गर्न सक्छ ।

यतिबेला चौतर्फी आक्रमणमा रहेको पार्टीको प्रतिरक्षा गर्दै पार्टी निर्माणको अबको अभिभारा सबै माओवादी आन्दोलन र जनयुद्धसँग सम्बन्धित पार्टी र कार्यकर्ताको काँधमा आएको छ । पार्टी एकतालाई शिरोपर गर्दै निरन्तर क्रान्तिको दिशामा अघि बढ्नु नै माओवादीहरुको अबको बाटो हुनु आवश्यक छ । स्थानीय निर्वाचनमा माओवादी तेस्राे बन्नुका कारणबारे यहाँ केही चर्चा गरिएकाे छ ।

पार्टी विभाजन

दशकौंको साहसिक र रक्तरञ्जित इतिहास बोकेको पार्टी शान्ति प्रक्रियामा आएपछि एकल केन्द्रिकृत नेतृत्व र केन्द्रीयतामा चलेको पार्टीलाई बहुपदिय नेतृत्व मानेर जाने निर्णय भएपश्चात पार्टीभित्र विभिन्न खाले गुट–उपगुटहरु निर्माण हुन थाले । पार्टी एकिकरणको नाममा जस लिन र फाइदाको लागि माओवादी बन्नेहरु अघि जाने र जनयुद्ध लडेर आएका नेता कार्यकर्ताहरु पछाडि पर्दै जाने अवस्था बन्यो ।

पार्टीको एउटा सशक्त धार जो जनयुद्ध लडेर आएको थियो त्यो धारको बहिर्गमनले पार्टीलाई धेरै कमजोर बनाइदियो । विभाजित अवस्थामा निर्वाचनमा होमिएको पार्टी केही कमजोर बन्न पुगेपनि माओवादीमाथि अझै पनि जनताको आशा, भरोसा अनि माया छ भन्ने उनीहरुले दिएको मतले देखाइदिएको छ । यद्यपी माओवादी केन्द्र यसमै सन्तुष्ट बनेर ढुक्क भएर बस्ने अवस्था भने छैन् ।

सहर केन्द्रित नेतृत्व

माओवादी नेता कार्यकर्ता यो वा त्यो बहानामा सहर केन्द्रीत हुन पुगे । जंगल र जनताका छाप्रोमा जीवन गुजारेका नेता कार्यकर्ता सहर पसेपछि सहरको हावाले छोयो र गाउँ पुरै बिर्सिन थाले । नेताहरुले सहरको सपना देखे, ठूला–ठूला महलका सपना देखे अनि आफ्नै सपना पूरा गर्न लाग्दा जनताको जनजीवीकाको मुद्दा पछाडि पर्न थाल्यो । नेताहरुले हिजो जनतालाई देखाएका सपनाहरु बिर्सिए अनि समाजका कथित ठेकेदारहरुसँगै उठबस गर्दै आफ्ना नितान्त व्यक्तिगत सपना पूरा गर्ने बाटोतिर लागेको पाइयो ।

मुखले हामी सबैभन्दा पृथक छौं भन्ने तर, व्यवहारमा पुरानै समाजका ठेकेदारहरुजस्तो जीवनशैली अपनाउँदा जनताले विश्वास गर्न छाडे र पार्टी हार्दै जान थालेको केन्द्रीय नेताहरुले स्वीकार्न जरुरी छ । पार्टीले सर्वहारा क्रान्तिको बाटोबाट बिचलित हुँदै जान थाल्दा बिरोधीहरुले त्यहीअनुसार आक्रमण गर्दै जान थाले । अन्ततः पार्टीले त्यसको प्रतिरक्षा गर्न नस्कदा पार्टी विचलनको बाटोतिर जाँदा स्थानीय तहको निर्वाचनमा पार्टीका गढ मानिएका ठाउँ नै भत्कँदै गएको देखियो ।

कार्यकर्ता पलायन

पार्टी सफल हुने भनेको उसको संगठन र संगठित कार्यकर्ताले हो । हिजो लाखौंको संख्यामा संगठित वाइसिएल, मजदूर र विभिन्न जनवर्गीय संगठनहरुको कार्यकर्ताहरुलाई जिबिकोपार्जनको कुनै बाटो न पार्टीले देखाउन सक्यो न उनीहरु आफै गर्न सके । जुन कार्यकर्ताहरु हिजो पार्टी बनाउन र युद्धका कठिन मोडमा पनि बिचलित थिएनन्, पार्टीलाई उचाइमा पुर्‍याउँदै देशलाई गणतन्त्रमय बनाउने कार्यकर्तालाई पार्टीले संरक्षण गर्न नसक्दाको फलस्वरुप कार्यकर्ताहरुमा शिथिलता पैदा हुँदै गयो । हिजो युद्ध लडेकै कति जनमुक्ति सेनाका कमाण्डर युवाहरु आज खाडी तथा भारतलगायत अन्य देशमा पसिना बगाइरहेका छन् । त्यसको हिसाब र उनीहरुको योगदानको मूल्यांकन पार्टीका नेताहरुले गर्न नसक्दा अन्ततः पार्टी कमजोर हुँदै गयो ।

कमजोर प्रचार–प्रसार

माओवादी पार्टी प्रचार प्रसारको हिसाबले पनि ज्यादै कमजोर देखियो ! माओवादी निकटको प्रेस सेन्टरलाई बाइपास गरि माओवादीबाटै प्रताडित भएपछि नेताहरुसँग दुरी बन्न पुग्दा आमसञ्चारको क्षेत्रमा माओवादीको उपस्थिति कमजोर हुँदै गयो । सामाजिक सञ्जालहरुमा माओवादीको विरुद्धमा संगठित रुपमा फरक पार्टीका कार्यकर्ताहरुबाट आक्रमण हुँदै गयो र त्यसको प्रतिरक्षा पनि माओवादी कार्यकर्ताले गर्न सकेको देखिएन । माओवादी पार्टीप्रति आस्थावान नेता, कार्यकर्ता पत्रकारहरुको निर्वाचनको समयमा ज्यादै कमजोर उपस्थिति देखियो, चाहे त्यो मिडियामा होस्, चाहे त्यो सामाजिक सञ्जालमा । माओवादी केन्द्रका नेतृत्वले प्रेस सेन्टर नेपाललाई आफ्नो निकटको संगठन हो भनेर बुझ्न जरुरी छ । यदि प्रेस सेन्टरलाई बाइपास गरिरहने हो भने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा स्थानीय निर्वाचनमा भोगेको पीडा भन्दा बढी भोग्नु पर्ने स्थिति आउन सक्छ ।

उम्मेदवार चयन

अब ठूला नाराबाट होइन, साना कामबाट जनताको मन मुटुमा पस्न सकिन्छ । जनतालाई माओवादी पार्टी हाम्रो पार्टी हो भन्ने बनाउन सकिन्छ । चुनाव जित्नु र हार्नुमा उम्मेदवारको सामाजिक गतिबिधि, उसको नैतिक सामाजिक आचरण, जनसम्बन्धहरु सँधै प्रमुख रहने गर्छन् । कतिपय गाउँपालिका र नगरपालिकाहरुमा त्यहाँका जनतासँग राम्रो सम्बन्ध नभएका, जनमानसमा नभिजेका व्यक्तिहरुलाई उम्मेदवार बनाउँदा पनि पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेको हो । माओवादी पार्टी चुनाव घोषणा हुनुभन्दा अघि अर्को कार्यक्षेत्रमा खटाइएका नेता कार्यकर्तालाई फरक क्षेत्रमा उम्मेदवार बनाउँदा पनि जनताको बीचमा जान कठिन भएको हो । कतिपय ठाउँमा पारिवारिक बिरासतलाई आधार मानेर पनि टिकट वितरण गरिएका कारण पनि पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेको कुरा नेतृत्वले मनन गर्न जरुरी छ ।

एमसीसीले अलमल

माओवादीले सदनमा एमसीसी समर्थन गरिरहँदा आफ्ना सम्पूर्ण जनवर्गीय संगठनलाई एमसीसीको विरोधमा सडक प्रदर्शन तीव्र पार्न निर्देशन दियो । पार्टी नेतृत्वबाट आएको निर्देशन भन्दै माओवादीले देशभर प्रदर्शन पनि ग¥यो । संगठन संरचनाभन्दा बाहिर रहेर दिइने यस्तो निर्देशनले माओवादी पार्टीको कमजोर धरातल पुष्टि गर्छ । यसबाट असन्तुष्ट केही कार्यकर्ता फागुन १६ गते एमसीसी पास भएको दिन प्रदर्शनमा सहभागी थिएनन् । देशभर पनि केही असन्तुष्ट नेता–कार्यकर्ताले माओवादी नै परित्याग गरिसकेका थिए ।

ठुला नेता काठमाडौं, साना जिल्लामा

पार्टीमा एक से एक नेताहरू थिए तर, उनीहरु गाउँघरमा थिएनन् । आफ्नो स्तरको अर्को नेतासँग तर्सिने, उसँगसँगै काम गर्न सक्ने नैतिक साहस र गरिमा भएको नेतृत्व थिएन सदरमुकाममा थिएन । गुटहरू थिए, तर नेतृत्वले क्रान्ति र पार्टीको भविष्यलाई देखादेखी दाउमा लगाउन्नथ्यो । आफ्नै गुटको नेतालाई प्रश्न सोध्ने र असहमत हुन सक्ने वातावरण थियो ।

एमाले–कांग्रेसले पुरानो गढ जोगाउन भए भरको शक्ति लगाएका थिए । माओवादी केन्द्रमा आन्तरिक रुपमा संगठन सुदृढ भएर चल्न नसक्दा, गठबन्धनभित्रका कांग्रेसलगायत अन्य दल इमान्दार नभइदिँदा उम्मेदवार नभएको ठाउँमा पनि रुखमा मत खस्यो । माओवादीलाई कहीँ कांग्रेस–एमाले मिलेर हराए, कहीँ नेताहरु एकजुट हुन सकेननन् भने कहीँ आफ्नै–आफ्नै लडेर पनि हारेको निर्वाचन नतिजाले देखायो भने कतै टिकट नपाउने प्रतिशोध साध्ने क्रममा आफ्नै पार्टीका नेताका विरुद्ध लागे । चुनाव हारेपछि पार्टीका कारण हारियो भन्ने र चुनाव जितेपछि आफ्नै कारण जितेको ठानेर फेरि पार्टी कमिटी र जनतामा नफर्कने समस्या हिजोका आधार क्षेत्रहरूमा बढ्दै गएको देखिन्छ ।

स्थानीय तहको परिणामलाई हेर्दा, माओवादी केन्द्र अस्तित्व रक्षाकै अवस्थामा देखियो । एकाध पालिका बाहेक माओवादी केन्द्रका उम्मेदवार जित्न होइन, तेस्रो स्थानमा आउन संघर्ष गर्नुपर्ने अवस्थाम बन्यो । जति ठाउँमा संगठन बनेका छन्, त्यहाँ पनि व्यवस्थित र संगठित कार्यकर्ता छैनन् । कतिपय वडामा त उम्मेदवारसमेत नपाउने अवस्था देखियो ।

एकताको वैचारिक आधार

राजनीतिक बजारमा अनेकौं तरङ्ग देखिन थालेका छन् । अनेकौं आशंकाहरु पनि सँगै जन्माउन खोजिएको छ । एकता देशको आवश्यकता हो, जनताको चाहना हो । तसर्थ, मिल्ने भनेपछि बिमतिका विषयलाई पनि साँघुरो बनाउँदै जानुपर्छ । विचार र संगठनमा एकताको बिन्दु खोज्नुपर्दछ । निर्वाचनपछि बाम एकता वार्ता त अगाडि बढिरहेको छ । तर, जनमानसमा वैचारिक मुद्दाको रणनीतिक महत्वबोध भन्दा एकताको मिति प्राथमिकतामा छ । सञ्चार माध्यमहरु हरेक छलफललाई निर्णायक वार्ताका रुपमा प्रसार गरिहेका छन् । यसलाई एकताप्रति जनतामा निहित व्यग्र प्रतीक्षाको अभिव्यक्तिका रुपमा बुझ्न सकिन्छ । तर, दार्शनिक, वैचारिक पक्षमा एकरुपता कायम गर्ने सवालमा मात्र नभएर वैचारिक समझदारीलाई लिपिबद्ध गर्नसमेत निश्चित समयको आवश्यकता पर्दछ, एकतामा समय लाग्नुमा यही कारण नै मुख्य हो । सवाल नयाँ पार्टी निर्माणको हो, एकीकृत पार्टीको बलमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिलाई मजबुत बनाउनु हो, त्यसका लागि नेताहरुले आफ्ना आग्रह पूर्वाग्रह त्याग्न सक्नु पर्दछ । विश्व राजनीतिमा कम्युनिष्ट आन्दोलन प्रतिरक्षात्मक अवस्थामा रहेको परिस्थितिमा नेपालमा कम्युनिष्टहरुको एउटै केन्द्र बन्दा विश्व कम्युनिष्ट आन्दोलनकै निम्ति त्यो शक्तिशाली सन्देश हुन सक्दछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा