बाबुराम न्यौपाने “उत्स“,दमक, झापा
१
नशालु मदिरा पिलाउँन लजाएर गएँ
मृदु उमङ्गको पञ्चैबाजा बजाएर गएँ
दुईदिलको अनूपम मेहफिल सजाउँन
प्रेमको किस्तीमा समर्पण सजाएर गएँ ।
२
गरीबको पसिनामा पौडन छोड्यो भने
अपराधको गुफातिर दौडन छोड्यो भने
मान्छे मानव भएर सगर्व बाँच्न सक्छ
सत्मार्गतिर बुद्धिको धार मोड्यो भने ।
३
यहाँ आँसु खसेको देख्छ र कस्ले
उसको बग्ने बाटो छेक्छ र कस्ले
आगोभै बलेको यो मनको व्यथा
कलममा समेटेर लेख्छ र कस्ले ।
४
पहिलो प्रेम चङ्गाझै चेट भो त के गरौँ
फेरि उमेर ढल्केपछि भेट भो त के गरौँ
प्रेमले पनि मुटुपोल्ने जलन दिंदोरहेछ
जातनै बाटो छेक्ने गेट भो त के गरौँ ।
५
समय जस्तै खोलो निरन्तर बगिरहेको छ
शक्तिशालीले कमजोरलाई ठगिरहेको छ
पैसाको कुरुप साम्राराज्य चलेको बेला
सम्पन्नले गरीबलाई युगयुग दगिरहेको छ ।
वि.सं.२०७९ असार ४ शनिवार ०८:२५ मा प्रकाशित