
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव तालमेल नगरी लड्ने संकेत गरेका छन् । सोमबारबाट काठमाडौंमा शूरू भएको एकीकृत समाजवादीको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले अरुमाथि भरोसा गरेर चल्न नहुने बताए ।
“स्थानीय चुनावबाट पाठ सिकेका छौं, अरुमाथि भरोसा गरेर चल्ने होइन, आफैं तयारी गर्ने हो”, अध्यक्ष नेपालले भनेका छन्, “१६५ संघीय र ३३० वटै प्रदेश सभा सदस्यका लागि ठोस् जिम्मेवारी दिनैपर्छ । तयारी अहिलेदेखि नै गर्नुपर्छ ।”
उनले स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा उम्मेदवार नउठाउँदा र छाड्दा घाटा परेको बताए । “सबै ठाउँमा उम्मेदवार उठाएको भए अहिलेको भन्दा दोब्बर, तेब्बर मत प्राप्त गर्ने थियौं तर, त्यसो भएन”, उनले भनेका छन्, “यदि सबै ठाउँमा उम्मेदवार उठाए प्रतिनिधिसभा र प्रदेशसभामा २० लाख भोट ल्याउन सक्छौं, केही सिट सुरक्षित गर्न सक्नेछौं ।”
उनले मंसिरमा चुनाव हुने सम्भावना रहेकाले अहिलेदेखि नै आआफ्नो कार्यक्षेत्रमा खटिन कार्यकर्तालाई निर्देशन दिए । “प्रत्येक कार्यकर्ता जनताको घरघरमा गएर कलम चिन्हको प्रचार गर्नुस्”, नेपालले भने ।