
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद थप उत्कर्षमा पुगेको छ । आन्तरिक विवाद बढीरहेको बेला अध्यक्ष उपेन्द्र यादव पक्षले बेग्लै बैठक बसालेर महत्वपूर्णं निर्णय गरेका छन् । सोमबार एकीकृत समाजवादीका मन्त्री फेरबदल भएकै समय अध्यक्ष यादवले आफु पक्षीय केन्द्रीय कार्यकारिणीको बैठक बसालेर महत्वपूर्णं निर्णय गरेका हुन् ।
यादव पक्षीय बैठकले सरकारमा सहभागि मन्त्रीहरु हेरफेरको निर्णय गरेको छ । बैठकले मन्त्री हेरफेर गर्न सम्पूर्णं अधिकार अध्यक्ष यादवलाई सुम्पेको छ ।
बैठकले पार्टी हित विपरित गतिविधि गर्ने नेताहरुमाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको पनि छ । यादव पक्षका एक संघीय परिषद् सदस्यले बताएअनुसार संघीय परिषद् अध्यक्ष भट्टराईलगायत केही नेतामाथि स्पष्टीकरण सोध्न बैठकले अध्यक्ष यादवलाई अधिकार दिएको छ ।
भट्टराई पक्ष अनुपस्थित भएको बैठकमा यादव पक्षका २० कार्यकारिणी सदस्यहरुको उपस्थिति थियो । संसदीय दल र केन्द्रीय समितिमा बहुमत जुटाएर जसपा आफ्नो पक्षमा पार्न संघीय परिषद् अध्यक्ष भट्टराईले रणनीति बनाइरहेका बेला यादवले बेग्लै बैठक बसालेका हुन् । बैठकमा भएको उपस्थितिलाई हेर्दा केन्द्रीय समिति र संसदीय दलमा यादव पक्ष पुनः बलियो देखिएको छ ।
देउवा र प्रचण्डको साथ यादवलाई
अहिले जसपाभित्र आन्तरिक सँगै बाहिरका शक्तिहरु निर्णायक देखिएका छन् । जसपाभित्रको विवादमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यादवलाई सहयोग गरेका छन् । जसपाभित्रका असन्तुष्टलाई लिएर भट्टराई पक्षले बेग्लै रणनीति बनाइरहेका बेला देउवा र प्रचण्डले यादवको पक्षमा माहोल बनाएका हुन् ।
बताइएअनुसार यादव पक्षलाई सन्तुलनमा राख्न देउवाले मन्त्रीहरुलाई फकाएका थिए । सरकारमा जाँदा नै ६ महिना पछि फिर्ता हुने सर्तमा गएका मन्त्रीहरु फिर्ता हुन अस्वीकार गरिरहेको बेला देउवाले फकाएका हुन् । असन्तुष्ट मन्त्रीहरुको पक्षमा भट्टराईले लबिङ्ग गरिरहेका थिए ।
मन्त्रीहरु आश्वस्त भएसँगै यादवले एक/दुई दिनभित्रै नयाँ मन्त्रीको सूची देउवालाई पठाउने तयारी गरेको बुझिएको छ । मन्त्री फेरबदलसँगै संघीय परिषद् अध्यक्षसहितका केही नेतामाथि स्पष्टीकरण सोध्ने तयारी छ ।