
काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्न शुरु गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमका पहिलो ब्याचको २० जना फेलोहरुले सामाजिक उद्यमशीलताको सक्षमकर्ता अवार्ड प्राप्त गरेको छन् । नेपालउद्योग परिसंघ अन्तर्गतको सीएनआइवाइइएफ नेपालले यो अवाड प्रदान गरेको हो ।
सीएनआइवाइइएफ नेपाललले असार ११ गते काठमाडौंमा आयोजना गरेको सीएनआइवाइइएफ नेपाल स्टार्टअप फेस्ट २०२२ मा ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमअन्तर्गत पहिलो ब्याचका २० जना सहभागिहरुलाई सामूहिक रुपमा सो अवार्ड प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार २०७८ साल चैत ७ गतेदेखि शुरु गरिएको पहिलो ब्याचको फेलोशिप कार्यक्रमअन्तर्गत देशभरका ३ सय ५० जना आवेदक मध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाबिद्यालय आबद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा संचालन गरिरहेको छ ।
बैंकले फेलोशिप कार्यक्रमका सहभागिहरुले कृषि, सूचना प्रविधि, हस्तकला, खाद्यन्न, कपडा उत्पादन, कफीशप संचालनलगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएको जनाएको छ । हरेक महिना तीन दिन आवासीय सिकाइ र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोशिप तालिम ६ महिनासम्म चल्ने बैंकले जनाएको छ ।
बाँकी ६ महिनाका लागि सबै सहभागिहरुलाई मेन्टर सेवा दिएर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गरिने बताइएको छ । सामाजिक उद्यम विकासका लागि शुरु गरिएको यो नयाँ कार्यलाई प्रोत्साहन गर्न सामाजिक उद्यमशीलताको सक्षमकर्ता अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ ।
बैंकका अनुसार सीएनआइवाइइएफ नेपाल स्टार्टअप फेस्ट २०२२ युवाहरुलाई उद्यमशिलता प्रबर्धन गर्न आयोजना गरिएकोे थियो । यस कार्यक्रममा नेपालमा उद्यमशिलता विकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तित्वहरुबाट विभिन्न विषयहरुमा प्रेरणादायी वक्तब्यहरु प्रस्तुत गरिएको थियो ।
उक्त्त कार्यक्रममा ७ वटा नेपाली स्टार्टअपहरुले व्यवसाय विस्तारका लागी २४ करोड ५० लाख रुपैंया लगानी प्राप्त गरेका बैंकले जनाएको छ ।