काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि विभिन्न ७ आरोप लगाएका छन् । मंगलबारदेखि काठमाडौंमा सुरु आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा उनले यादवको आलोचना गर्दै प्रतिवेदन लेखेका हुन् ।
भट्टराईले आफ्नो प्रतिवेदनमा यादवमा वैचारिक, संगठनात्मक, कार्यशैली, व्यवस्थापन, सुशासन जस्ता विषयमा समस्या देखिएको बताएका छन् । सोही कारण नै पार्टी पुनर्गठन गर्नुपरेको भट्टराईको भनाई छ ।
क्षेत्रीय दलमा सीमित गर्न खोजियो
भट्टराईले जसपालाई क्षेत्रीय पार्टी बनाउन खोजेको आरोप अध्यक्ष यादवमाथि लगाएका छन् । उनले मूलतः यादवमा वैचारिक पक्षमा समस्या रहेको निष्कर्ष निकालेका छन् । उनले कम्युनिष्ट सोंच नछाडेको पनि आरोप यादवमाथि लगाएका छन् ।
भट्टराईले मधेश आन्दोलनको गरिमाबाट ब्याज मात्र खान खोजेको आरोप यादवमाथि लगाएका छन् । मदन परियारको आयोगले दिएको १० प्लस १ प्रदेशको मोडेललाई विकसित र परिमार्जन गर्नेतर्फ ध्यान नदिएको भट्टराईको आरोप छ ।
संगठन कब्जा गर्ने सोंच
भट्टराईले यादवमाथि ‘पार्टी कब्जा गर्ने’ सोंच हाबी भएको बताएका छन् । उनले पार्टीभित्रको सांगठनिक पक्ष व्यवस्थापन हुन नसक्नुको कारण पनि यादवको पार्टी कब्जा गर्ने सोंच भएको निष्कर्ष निकालेका छन् । कार्यकर्तालाई निराश बनाउने र पलाउन गराउने भूमिका नेतृत्वबाट भएको उनको भनाई छ ।
यादवले आफ्ना केही निश्चित मान्छेलाई मात्रै बोकेर हिँडेको भट्टराईको आरोप छ । उनले पार्टीभित्र जिम्मेवारी बाँडफाँड गर्ने र तहगत इन्चार्ज तोक्ने काम हुन नसक्नुमा यादवको नियत खराब रहेको निष्कर्ष निकालेका छन् ।
अराजक कार्यशैली
भट्टराईले यादवको कार्यशैलीमै समस्या रहेको बताएका छन् । उनले बहमुतको निर्णय मान्नुपर्ने परिपाटीलाई समेत यादवले उल्लंघन गरेको बताएका छन् । बहुमतबाट गरिएका निर्णयलाई रुलिङ गर्ने, माइनट, परिपत्र गर्ने विषयमा यादवले अनिच्छा देखाएको आरोप भट्टराईको छ ।
बैठक बोलाउनसमेत फरक विचार राख्नेलाई सूचना नै नदिने गरेको आरोप भट्टराईको छ । सबैजसो बैठकहरु औपचारिक खालको मात्रै बनाउने गरेको आरोप भट्टराईले लगाएका छन् ।
यस्ता छन् अन्य आरोपहरु
वि.सं.२०७९ असार २८ मंगलवार १७:०३ मा प्रकाशित




























