काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की नेतृ रेणु यादवले पार्टीको सबै जिम्मेवारी त्यागेको घोषणा गरेकी छन् ।
पूर्वमन्त्री समेत रहेकी यादवले बिहीबार एक विज्ञप्ति जारी गर्दै व्यक्तिगत कारणलेमा रहन नसक्ने बताउँदै सबै जिम्मेवारीबाट अलग रहेको घोषणा गरेकी हुन् ।
‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु,’ यादवद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु ।’
यस्तो छ यादवद्धारा जारी विज्ञप्ति
मितिः २०७९ असार ३०
आदरणीय अध्यक्ष ज्यू,
जनता समाजवादी पार्टी (जसपा) नेपाल
विषयः पदीय जिम्मेवारीमा नबस्ने सम्बन्धमा ।
म रेणुकुमारी यादव करिव १५ वर्षदेखि आफ्नो मेहनत, लगनशीलताका साथ अनेकौँ कठिन परिस्थितिमा विभिन्न बाधा–अवरोध, उतारचढाव र आरोह–अवरोह पार गर्दै पार्टीका हितका लागि पूर्ण रूपमा इमान्दारी र नैतिकताका साथ सक्रिय रुपमा जिम्मेवारीहरू पूरा गर्दै आइरहेकी यहाँलाई अवगत नै छ ।
विभिन्न कालखण्डमा पार्टी पटक–पटक टुटफूट र अनेक किसिमको पड्यन्त्रका सिकार भइरहँदा पनि आफू विचलित नभई सदैव मधेस र मधेसी जनतालगायत सम्पूर्ण उपेक्षित वर्ग र समुदायको हकहितका लागि पार्टीको पक्षमा चट्टानी अडान लिएको सर्वविदितै छ ।
यहाँहरुको साथ–सहयोग, विश्वास र सदभावकै कारणले गर्दा मैले विभिन्न पदीय दायित्वमा रही काम गर्ने सुनौलो अवसर पाएँ । पदमा रहिरहँदासम्म मैले आफ्नो व्यक्तिगत क्षमता, विवेक, राजनीतिक अनुभवले पार्टीको निर्देशनमा रही इमान्दारी, निष्ठापूर्वक पूर्ण जिम्मेवार भई आफ्नो पदीय जिम्मेवारीलाई पूरा गर्न भरपूर प्रयास गरेको छु । मैले आफ्नो कार्यकालमा के–कस्ता कामहरु गरे त्यसको तुलनात्मक समीक्षा पार्टीले पछि आवश्य नै गर्नेछ ।
यहाँहरुसँग सहकार्य गरिरहँदा मैले राजनीतिक र व्यक्तिगत जीवनमा धेरै कुरा सिक्ने, बुझ्ने, जान्ने मौका र अवसर पाएँ ।
यद्यपि वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु। तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु।
पार्टी र सरकारको विभिन्न सम्मानित पदमा रहिरहँदा यहाँले गर्नुभएको सहयोग प्रति म कृतज्ञता र आभारी रहनेछु । साथै मेरो यस प्रकारको निर्णयले गर्दा यस पार्टी र पार्टीका इमान्दार नेता तथा कार्यकर्तामा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छु ।
धन्यवाद ।
रेणु कुमारी यादव
केन्द्रीय कार्यकारणी सदस्य एवं
केन्द्रीय सदस्य
जनता समाजवादी पार्टी नेपाल
वि.सं.२०७९ असार ३० बिहीवार १७:२१ मा प्रकाशित






























