लन्डन । बेलायतका भावी प्रधानमन्त्रीकारूपमा हेरिएका नेता ऋषि सुनकले लेखक सलमान रुस्दीलाई अमेरिकामा छुरा प्रहार गरेको विषयमा इरानमाथि प्रतिबन्ध लगाउन आह्वान गर्नुभएको छ ।
आफ्नो पुस्तक ‘द सैटानिक भर्सेस’ लाई लिएर लामो समयदेखि ज्यान मार्ने धम्की खेप्दै आएका रुस्दीलाई शुक्रबार अमेरिकाको वेस्टर्न न्युयोर्क राज्यमा छुरा प्रहार गरिएको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका थुप्रै नेताहरूले उक्त घटनाको निन्दा गरेका छन् । “यदि सलमान रुस्दीमाथिको आक्रमण इरानको अपरेशन हो र आक्रमणकारीले इरानको प्रभावमा यो गरेको हो भने यसले हाम्रो इस्लामिक क्रान्तिको सफलता प्रमाणित गर्छ,“ भनी सुनकले टिप्पणी गरेको टेलिग्राफ पत्रिकाले उल्लेख गरेको छ ।
पचहत्तर वर्षीय लेखक रुस्दी सन् १९८१ मा आफ्नो उपन्यास ’मिडनाइट्स चिल्ड्रेन’ बाट चर्चामा आएका थिए । भारतमा जन्मेका लेखकले यो उपन्यासका लागि बुकर पुरस्कारसमेत जितेका थिए ।
तर उनको सन् १९८८ को पुस्तक ’द सैटानिक भर्सेस’ का कारण तत्कालीन इरानी क्रान्तिकारी नेता अयातोल्लाह रुहोल्लाह खोमेनी प्रशासनले उनका विरुद्ध फतवा जारी गरेको थियो । सो धम्कीले उनी केही वर्षसम्म भूमिगत थिए ।
यसैबीच इरानको पछिल्लो राजनीतिक विकासक्रमलाई औँल्याउँदै नेता सुनकले संयुक्त विस्तृत कार्ययोजना (जेसीपीओए) भनेर चिनिने इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने उसको प्रयासलाई व्यर्थ प्रयास भनेका छन् ।
उनले आणविक हतियार भएको इरानले आफ्नो सहयोगी राष्ट्र इजरायलको अस्तित्वमाथि खतरा उत्पन्न गर्ने र ब्यालिस्टिक मिसाइलका विभिन्न गतिविधिले सिङ्गो युरोपलाई खतरामा पार्ने टिप्पणी गरेका छन् । (रासस/एएनआई)
वि.सं.२०७९ साउन ३० सोमवार ०८:२६ मा प्रकाशित





























