कीभ, युक्रेन । युक्रेनको दक्षिणी खेरसन क्षेत्रमा आक्रमणका क्रममा निप्रो नदी तरेका रूसी सैनिक आवागमनका लागि रणनीतिक मानिएको पुलमा क्षति पुगेपछि थप कठिनाइको सामना गर्नुपरेको जनाएको छ ।
मस्कोको सेनाले युक्रेनमाथि आक्रमणको सुरुआतमा डेनिप्रोको दक्षिणी सहर खेरसन कब्जा गरेको थियो । यो नै उनीहरूले अहिलेसम्म जितेको एक मात्र क्षेत्रीय राजधानी हो ।
यस क्षेत्रमा उनीहरूले नियन्त्रण गरेका तीन पुलहरूमध्ये दुई सडक यातायातका लागि र एउटा रेल आवागमनका लागि महत्वपूर्ण मानिएका थिए । हालैका हप्ताहरूमा बारम्बार पुलहरूमा बमबारी भएपछि रूसी सेनालाई पनि रणनीतिकरूपमा समस्या परेको युक्रेनको दाबी छ ।
सबैभन्दा महत्वपूर्ण खेरसनको उपनगरीय क्षेत्रमा एन्टोनिभ्स्की पुल जुलाईको अन्त्यदेखि मिसाइल आक्रमणको तारो बनेको छ ।
क्षेत्रीय सांसद सर्गी खलानले युक्रेनी टेलिभिजनलाई बताएअनुसार रूसी सैनिकका लागि नदी पार गर्ने एक मात्र तरिका एन्टोनिभ्स्की पुल नजिकैको पेन्टुन हो । जसले ‘उनीहरूको आवश्यकतालाई पूर्णरूपमा पूरा गर्न सक्दैन’।
युद्ध चर्किएमा समयमै उद्धार गर्न नसकिने जान्दाजान्दै रुसले आफ्नो कमाण्ड सेन्टरलाई नदीको बायाँ किनारामा सार्न लागेको उनले बताए । खलानका अनुसार दाहिने किनारामा तैनाथ २० हजार रुसी सैनिकले तत्कालका लागि पैदलै पुल पार गर्न सक्नेछन् ।
एन्टोनिभ्स्की पुलको उत्तरपूर्वमा करिब ५० किलोमिटर (३१ माइल) दूरीमा रहेको नोभा काखोभका पुललाई यसै साता निशाना बनाइएको थियो ।
खलानले शनिबार युक्रेनी सेनाले यसहप्ताको सुरुमा पुलमा आक्रमण गरेको र रूसीहरूलाई आफ्नो सेना पुनः आपूर्ति गर्न गोलाबारुद, उपकरण र खाद्यान्न ढुवानी गर्नबाट रोकेको बताएका थिए ।
बेलायतको रक्षा मन्त्रालयले जारी गरेको ब्रिफिङमा डेनिप्रोको पश्चिमी किनारमा रूसको नियन्त्रणमा रहेको क्षेत्रमा जाने दुई वटा सडक पुल प्रयोगविहीन भएको बताइएको छ । (रासस÷एएफपी)
वि.सं.२०७९ साउन ३० सोमवार ०८:३० मा प्रकाशित





























