Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

बेवारीसे शब उठाउने विनय : जसको आफ्नै कहानी बेग्लै छ



binay4एक समय उनकै जीवन वेवारिसे थियो । जीवन बेसुरको भएको थियो । आफैलाई सम्हाल्न सकेका थिएनन् । लहलहैमा लागेको रहरले उनको जीवन भित्र–भित्र जलाउँदै लगेको थियो । तर, उनी त्यहाँबाट मुक्ति चाहान्थे । नयाँ जीवन सुरु गर्न चाहान्थे । तर, कसैको साथ थिएन । एक्लो थिए । आमाको सानैमा मृत्यु भयो । श्रीमतीले पनि दुव्र्यसनीकै कारण छोडेर गइन् । बाबुले पनि उनीसहित संसार छोडेर गए । अनि त एक्लो भए उनी । झन जाड, रक्सी र चुरोटको दलदलमा फसे । तर, उनी मुक्ति चाहान्थे । कसैले यस्तो जीवनबाट बाहिर ल्याइदिओस भन्ने आस गर्थे । उनी मागेर सम्म खान नसक्ने थिए । तर, नियतिलाई उनको जीवन त्यसै सकियोस भन्ने पनि थिएन् । अनि त आफन्तमार्फत जीवन परिवर्तनको बाटोमा लम्किए उनी । आफूजस्ता धेरैलाई जीवनको उज्यालो बाटो देखाए । एक समय आफै बेसाहारा बनेका विनयजंग बस्नेत अहिले सडकमा छोडिएका, सडकमा आउन बाध्य पारिएका, उपचार नपाएकाहरुको सहारा बन्ने प्रयास गरिरहेका छन् । अनि बर्षौसम्म आफन्त नभएकै कारण अस्पतालको शबगृहमा अलपत्र परेका शबहरुको आत्मालाइ शान्ति र मुक्ति दिने अभियानमा लागेका छन् ।

binay3

हालै स्वास्थ्य मन्त्रालयले ७५ जिल्लाका ८४ सरकारी अस्पतालमा बेवारीसे रहेका शबहरुको त्यहाँको प्रशासनसँग मिलेर दाहसंस्कारको गर्ने अनुमति दिने भएको छ । उनी भन्छन, ‘सरकारले मेरो कामको मूल्यांकन गरेको छ, खुसी छु ।’ उनै विनयजंग बस्नेतसँग संसारन्युज डटकमले गरेको कुराकानी ।

परिचय, जन्म शिक्षा
महालक्ष्मी नगरपालिका ललितपुर, वडा नं ७ को टिकाथलीमा जन्मिए । आमा उर्वशी बस्नेत, बुबा श्याम बहादुर बस्नेत महालेखामा फस्टक्लास अफिसर हुनुहुन्थ्यो । एसएलसी महेन्द्र शान्ति माध्यमीक विद्यायल बालकोटबाट । बानेश्वरको मिन भवन कमर्श क्याम्पसबाट विविएस गरे ।

लहलहैमा दुव्र्यसनी बने
कलेज पढ्दै थिए । साथीभाइहरुले चुरोट खाएको देख्दा मलाई पनि खान मन लागयो । साथीहरुले खाएको देख्दा स्मार्ट देखिने । चुरोट खाँदा सान अर्कै । आफूलाई आफैले हिरो मानिने । त्यसैले मैले पनि लहलहैमा लागेर खान सुरु गरेँ । हाम्रो घरसँगै नेवार बस्ति थियो । भजन किर्तन बिहे भोजमा साथीहरुले थोरै खानुपर्छ । अनि साहस आउँछ । डर भाग्छ । नाच्न जानिन्छ भनेर उक्साउँथे । अनि त त्यही पालामा अलि अलि खाए पनि । खास छाङबाट सुरु गरे । बालकोटको साथीले मोटाउनु मन छ भने बेलुका बेलुका १ जग छाङ खाउँ भनेर भने । दुब्लो थिए । मोटाइन्छ भनेर खान सुरु गरे । मलाई छाङ खाउ भन्ने साथी धर्म राना भाट हुन । जो केही समय अगाडि तराइ टेलिभिजनमा पनि थिए । तर, साथीलाइ कसैले त्यस्तो भनेको रहेछ, त्यहि कुरा मलाई मजाकमा भने मलाई साँचो लाग्यो र मोटाइन्छ भनेर खान सुरु गरे ।
जसरी पुग्ने पुग्ने खर्च
विद्यार्थी लाइफमा त्यस्तै हो । हा हा र हु हु हुन्छ धेरै । त्यो लाइफ अर्कै हुन्छ । कौशलटारबाट ट्रलिबसमा आइन्थ्यो कलेज । हो हल्ला गरेर पैसा पनि तिर्दैनथ्यौ । खोइ किन हो, जहाँ इच्छा त्यहाँ उपाए भनेजस्तै खानका लागि पैसा पनि जुट्थ्यो । बुबाको अगाडि लुकेर खाएँ । आमा म १७ वर्ष हुँदा बितिसक्नु भएको थियो । घरमा बाउछोरा मात्रै थियौं । एक्लो महसुस हुन्थ्यो । सायद आमा साथमा भइदिनुभएको भए, यस्तो लतमा लाग्थिन होला । त्यसपछि त पाटनको गल्ली गल्ली हुँदै खोकना सम्म पुगिन्थ्यो । जे गरिराछु ठिक गरीराछु भन्ने घमण्ड लाग्थ्यो ।

एफएममा पनि काम गरे
मैले हिट्स, क्लासिक एफएममा स्थापनाकाल देखि नै प्राविधिक रुपमा काम गरे । त्यतिबेला सगरमाथा रेडियो पनि भर्खर खुलेको थियो । त्यहाँ पनि तीन महिना रिर्पोटर भएर काम गरे । सगरमाथाका किरण नेपाल र घमराज लुइटेल दाइको सामुदायिक रेडियो कार्यक्रम सुनेर म अति नै प्रभावित भएको थिए । समाजका लागि यस्तो काम गर्नुपर्छ भन्ने लाग्थ्यो । पछि पर्यावरण चक्र रेडियोका संचालक अष्टमान मर्हजनको सम्पर्कमा पुगे । उहाँसँग संयोगले भेट भएको थियो सिडियो कार्यालय ललितपुरमा । उहाँ उक्त रेडियोको प्रसारण अनुमति लिन आउनु भएको रहेछ त्यहाँ । सिडियोसँग रेडियो कार्यक्रमको बारेमा कुरा गरेको सुनेपछि म पनि कामगर्न इच्छुक रहेको बताए । उहाँले आउनुस् सबै मिलेर गर्ने हो भनेर भन्नु भयो । अफिसमा जाँदा त्यस्तो केहि थिएन् । सुरुवात देखि नै खटेर लागे । ९ वर्ष सम्म काम गरे । तर, राम्रोसँग पैसो पाइन् । मलाई सानैबाट सामाजिक काममा लाग्नुपर्छ भन्ने भएकोले समुदायका लागि केही गर्न र आफ्नो नामको लागि फ्रिमा काम गरे । त्यतिबेला प्रतिक थापा, दिपक वली लगायतका साथीहरु थिए मसँगै त्यहाँ ।
गलत नम्बरले लभ पर्यो
जीवनमा कहिँलेकाँही अचम्म हुँदो रहेछ । त्यतिबेला मेरो जावलाखेलमा टिकट काउन्टर पनि थियो । कान्तिपुरमा पुतलीसडकमा रहेको कन्सल्टेन्सीको विज्ञापन रहेछ विदेश पठाउने सम्बन्धमा । मामाको छोराले “दाइ यो नम्बरमा फोन गरेर बुँझौ न विदेश पढ्न जानुप¥यो भनेर’ भन्यो । कन्सल्टेन्सीको नम्बर ४२८५१२ थियो । मैले ५२८५१२ मा फोन डायल गरेछु । अगाडि ४ हान्नुपर्नेमा ५ हानेछु । अनि फोन अन्तै पुगेछ । फोन युवतीले उठाइन् । उनको नाम कमला थापा रहेछ । आज तपाइहरुको सूचना आएको रहेछ । बाहिर पढ्न जानका लागि बुझ्नु थियो भने । उनले ‘ब्लफ कल हान्नु भएको हो, मजाक गरेको हो, कोहो तपाइ ? भनेर गाली गरिन् । मैले होइन् ब्लफ कल होइन बरु नम्बर गलत भएर तपाइलाई आयो होला भने । मेरो टिकट काउन्टर छ जावलाखेलमा भने । उनले फोन राखिन् । पछि त दिउँसो फेरि आफै फोन गरिन् ।  मैले बुझ्नु भयो, ब्लफ हानेको हो त ? भनेर प्रश्न गरे । उनले ‘होइन रहेछ भनिन् ।’ एसएलसी दिएर बसेकी रहिछन् । फोनमा कुराकानी भइरह्यो । पछि एसएलसीको रिजल्ट आएपछि भेट भयो । चिया खुवाइन् । अनि त्यसको ३ वर्षपछि बिहे गरे ।

दुव्र्यवसनी भएकै कारण उनले छोडिन्
उनी नर्स हुन् । ओम नर्सिङ इन्स्च्युटको पहिलो व्याच हुन् । मैले नै नर्सिङ पढ भनेर सल्लाह दिएको थिए । उनका बुबा जीवन थापा गृहमन्त्रालयमा काम गर्नुहुन्थ्यो । आमा पनि अफिसमै काम गर्ने । उनी मेरो बानी देखेर दिक्क भएरै छोरी लिएर माइत बसिन् । छोडपत्र भएको थिएन् । तीनवर्ष अघि कानुनीरुपमा उनकै माग अनुसार छोडपत्र पनि दिए । उनी राम्री थिइन् । धेरै कोशिष गरिन् मलाई कुलतबाट छुटाउनका लागि अन्त्यमा उपाय नलागेर आफै टाढा भइन् । सायद उनी भएको भए म त्यो अवस्थामा पुग्ने थिइ्न ।
बुवाको मृत्यु
दुई दिदीबहिनीहरु छन, भावना र सम्झना । उनीहरुको बिहे भइसकेको थियो । बुबा र म एक्लै थियौं घरमा । बुबा रिटार्यड भइसक्नु भएको थियो । एकदिन खाना खाएर बुबा साथीकोमा जानलाग्नु भएको थियो । बुबाको साथी युएनमा काम गर्नुहुन्थ्यो । उहालाई सबैले गुरुवा भनेर बोलाउथ्यौं । उहाँको घर लाजिम्पाटमा थियो । उहाँको पनि श्रीमती नभएको र बुबाको पनि श्रीमती नभएकाले दुवैजना खुब मिल्नुहुन्थ्यो । कहिले हाम्रोमा त कहिले उहाँकोमा तास खेलेर बस्नुहुन्थ्यो । बुबा त्यहि जाने भनेर हिड्नु भएको थियो बिहानको खाना खाएर । बेलुका आउनु भएन । मलाई लाग्यो गुरुवाकोमै बस्नु भयो । अर्को दिन पनि बुवा नआएपछि सबैले खोजी गयौं । गुरुवाले अघिल्लो दिननै रोटि खाएर हिडेको बताउनु भयो । नजिकैको पसलमा रक्सि खानु भएको रहेछ बुवाले । पछि एक्सीडेन्मा परेर प्रहरीले अस्पताल पनि पु¥याएका रहेछन् । को हो को भन्ने लागेछ । बुबाको परिचय खुल्ने केही थिएन । धन्न कोटको खल्तीमा चेक रहेछ ऐभरेष्ट बैंकको । त्यहि चेकको आधारमा महालेखाको कर्मचारी भन्ने पत्ता लगाएर हामीलाइ खबर आयो । पछि टिचिङमा पुगेर हेर्दा बुबालाई भेटेनौ । हामीलाई लागेथ्यो बुवा जिउँदै हुनुहुन्छ भन्ने । तर, बुवाको मृत्यु भइसकेको थियो । पछि बुझ्दै जाँदा आफन्त समयमै नपुग्दा र को हो भन्ने थाहा नपाएकाले बुवाको शब शबगृहमा बेवारीसे शबहरुको लाइनमा राखिएको थियो । त्यहि बेवारीसे शबबाट वुवाको शब निकालेर पशुपतिमा दाहसंस्कार गर्यौ ।

रिहाब सेन्टरको यात्रा

आमाको मृत्यु भइसकेको । श्रीमतीले छोडिसकेको र बुबाले पनि छोडेर गइसकेपछि म एक्लो भए । त्यतिबेला जीवन कता कता पुग्यो थाहै भएन । म, त एकदमै अन्तिम अवस्थामा पुगे । खान खान पनि पाइन् । आफन्तले पनि बहिष्कार गर्न थाले । नुहाएर चिटिक्क परेर दसैंमा टिका लगाउन आफन्तकोमा जाँदा उनीहरुले यो नआए पनि हुन्थ्यो जस्तो गर्न थाले । सबैबाट तिरस्कृत पनि भए । आज सोच्छु, सबै मेरै कारणले भएको हो । तर, पनि त्यस्तोबेला नै हो आफन्तको साथ र मायाको खाँचो पर्ने । र एक्लै छोड्न नहुने । म यस्तो भइसकेको थिए की चुरोट खान नपाएर बाटोमा पसल अगाडि चुरोट खाएर फ्याकेका ठूटा लाइट बालेर बटुलेर ल्याएर समेत खाए । पछि मामाको छोरा नविन खड्का हाल अमेरिकामा छन् । उनी अमेरिकाबाट नेपाल आएको बेलामा भेट्न खोजे मलाई म ठेगानमा नबस्ने भएकोले भेट्न सकेनन् । अन्तमा अमेरिका जानुभन्दा पहिले मेरी कान्छी बहिनी भावनाले दाइको उद्धार गरिदिनु प¥योृ भनेर रोइछन् । पछि राति भेट्न आए । म रातीमा घर आउँथे । उनले भेटेर रिहाव सेन्टर जानुपर्छ दाइ भने । जीवनमा मैले दुव्र्यवसनबाट मुक्त हुन खोजिरहेको थिए । उनले त्यसो भनेपछि म जान तयार भए । सबै खर्च उनले नै गरे । उनले नै नयाँ जीवन दिए मलाई ।

रिहाव सेन्टरमा डाक्टर र पाइलट पनि
कुलतको जीवनबाट मुक्ति चाहिरहेको थिए । नविनले सहयोग ग¥यो । चोभारको रिचमण्ड फेलोसिप रिह्याब सेन्टर ३ महिना बसे । मलाई अचम्म लाग्यो । त्यहाँ त म जस्ता मात्र होइनछ त्यहाँ त डाक्टर, पाइलट, कर्मचारी पनि रहेछन् । पत्रकार जमिम साहका भाइ, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराइका भाइ शिवराम भट्टराई, पत्रकार जमिम शाहका भाइ मक्सुद शाह लगायतका थुप्रै प्रोफेसनल क्षेत्रका मानिसहरु पनि थिए । तीन महिना त्यहाँ बसेर पछि डे केयरको रुपमा रेगुलर मामाघर जावलाखेलमा बसेर त्यहाँ गए । विष्णु शर्मा त्यहाँका अध्यक्ष हुनुहुन्थ्यो । काउन्सीलिङ गर्ने त्यहाँ शिशिर थापा र रवि सिलवालबाट म प्रभावित भए । उहाँहरुले जीवनको उज्यालोका बारेमा धेरै कुरा सिकाउनु भयो ।

सामाजिक सेवाको सोँच
बुवाको शब टिचिङ अस्पतालको शब गृहमा वेवारीसे शबहरु सँग थियो । किनकी वुवालाई सडक दुर्घटनमा परेपछि टिचिङमा लगिएको रहेछ । हामीले बेवारीसे शबहरुसँगै राखिएको बुवाको शब त लिएर गएर दाहसंस्कार ग¥र्यौ । तर, मनमा एउटै भुटो भइरह्यो त्यहाँ भएका अरु शबको कसले दाहसंस्कार गर्यो होला ? के उनीहरुका आफन्त आएर लगे त यो कुराले धेरै दिन सम्म सताइरह्यो । अनि त दृढ सोँच बनाए, देशभरीका अस्पतालमा भएका वेवारीसे शवहरुको दाहसंस्कार गर्ने र उनीहरुको आत्मालाई मुक्ति दिने । त्यहि सोँच साकार बनाएको छु अहिले ।binay2

अहिलेसम्म पाटन टिचिङ अस्पताल महाराजगँजबाट ४४ वटा वेवारीसे शब लगेर शब दाहसंस्कार गरे । उनीहरु कसका बाबु थिए, कसका छोरा, कसका श्रीमती कसका श्रीमान त्यो थाहा पाउन सकिएन । उनीहरु बेवारीसे थिए । कोही नभएको अनि कसैले पनि वास्ता नगरेको । आज लाग्छ मेरो यो कामले बाबुआमा खुसी छन् । जब पशुपतिमा लगेर उनीहरुको दाहासंस्कार गर्छु अनि माथि हेर्छु, आमा बुबालाई सम्झन्छु । अनि लाग्छ बाबु आमाले स्वर्गरुपी घरको वार्दलीमा बसेर आर्शिवाद दिइरहनु भएको छ । अनि यहि भन्नु भएकोछ, “जसको कोही छैन उनीहरुको तिमी आफ्नो बनेर सेवा गर छोरा, हामी खुसी छौं ।”

एक्सन फर सोसल चेन्ज र वेवारिसे व्यवस्थापन र पुर्नजीवन
अहिले हामीले केन्द्र एक्सन फर सोसल चेन्ज र वेवारिसे व्यवस्थापन र पुर्नजीवन केन्द्र नामक संस्था दर्ता गरेर काम गरिरहेका छौं । यसमा संरक्षक लाल बहादुर मर्हजन, दिपक गौतम, रेखा बस्नेत, पवित्रा लामा, प्रनिशा खरेल, राष्ट्रिय बक्सिङ खेलाडी म्याक्स बस्नेत र म लगायतको टिमले स्वयमसेवकको रुपमा काम गरिरहेका छौं ।

युवालाई कुलतबाट बचाउन डकुमेन्ट्री बनाउँदैछु
लागु औषधका दुव्र्यसनी युवाहरुलाई कुलतबाट कसरी बचाउने भन्ने अभियान स्वरुप मेरो पनि अभिनय रहेको ‘नदेखिएका आँसुहरु’ नामक जनचेतनामुलक डकुमेन्ट्री छिट्टै ल्याँउदैछौ । कति साथीहरु आफ्नो वास्तविकता भन्न डराउनुहुन्छ । तर, मैले भोगेको जीवन अरु कसैले पनि भोग्नु नपरोस् भन्ने यो डकुमेन्ट्रीको उद्धेश्य हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्