Logo
२२ मंसिर २०७९, बिहीबार
     Thu Dec 8 2022
E-paper
  English Edition
   Unicode
Logo

गठन्धनमा सकस : कसरी फुक्ला सिट बाँडफाँटको गाँठो ?



काठमाडौं । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका सत्ता साझेदार दलहरुबीच सिटको विषय थप सकसपूर्णं बन्दै गएको छ । दलहरु पूर्ववत् अडानमा रहीरहँदा बाँडफाँटको आधार तय गर्न बनेको कार्यदल पनि बेकामे बनेको छ । बाँडफाँटको मोडालिटी बन्न नसक्दा गठबन्धनका पछिल्ला बैठकहरु अर्थहिन बन्दै गएका छन् ।

पछिल्ला बैठक सहमति उन्मुख नदेखिएसँगै नेताहरु एक–अर्काप्रति कडा टिप्पणीमा समेत उत्रिएका छन् । नेताहरुका टिप्पणी तालमेल नहुने दिशातिर उन्मुख देखिन्छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निरन्तर गठबन्धन नेतृत्वकर्ता कांग्रेसविरुद्ध आक्रामक शैलीमा देखिएका छन् । उनले कांग्रेसकै कारण सत्ता गठबन्धन भंग हुने अवस्थामा आएको समेत टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले कांग्रेसबाट अन्य दललाई अपमान गर्ने काम भएको बताउँदै आएका छन् ।

“हामीले छलफल चलाइरहेका छौ, तर कांग्रेसमा अहंकार देखिएको छ”, अध्यक्ष नेपालले एक कार्यक्रममा भनेका छन्, “हामीलाई सय सिट चाहियो, उब्रिएको तिमीहरु बाँड भन्छन्, हामीले उनीहरुलाई जवाफ दिएका छौं, हैसियतभन्दा बढी माग्ने काम नगर ।” उनले सम्मानजनक भागबण्डा नभए गठबन्धन छोडेर एक्लै चुनाव लड्ने समेत बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि एक्ला–एक्लै चुनावमा जाने अवस्था आउनसक्ने संकेत गरेका छन् । प्रचण्डले कांग्रेस इतरका शक्तिबीच बेग्लै मोर्चा बनाउने प्रयास पनि भएको बताएका छन् ।

“नेपाली कांग्रेसले भागबण्डामा सहमति नजुटाए हामी छु्ट्टै चुनाव लड्छौँ, समाजवादीसँग एकताको प्रयास भइरहेको छ, छलफल सकारात्मक पनि हुँदै गएको छ, सहमति जुटेपछि हामी संयुक्त घोषणापत्र जारी गर्छाैं”, प्रचण्डले एक कार्यक्रममा भनेका छन् । प्रचण्डले सत्तागठबन्धन नै टुट्न सक्ने पनि संकेत गरेका छन् ।

यता, गठबन्धनको मुख्य नेतृत्वकर्ता कांग्रेस भने सय सिटभन्दा मुनिमा सहमति नगर्ने लाइनमा देखिएको छ । कांग्रेसले स्थानीय तहको निर्वाचनको आधारमा आफु सबैभन्दा बलियो भएको दाबी गरिरहेको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल कुनको पार्टीको जनमत कस्तो छ भन्ने आधारलाई ध्यान दिनुपर्ने बताउँछन् । “सिट यति–उतिभन्दा पनि बलियो सिट कांग्रेसले दाबी गर्ने हो”, पौडेलले भनेका छन्, “कुन क्षेत्रमा जनमत कति छ ? कुन दलको अवस्था बलियो छ । कसको जनलहर कति छ ? सबै कुरालाई गहिरोमा अध्ययन गरेर नै हामीले सय सिटको दाबी गरेका हौँ, जुन सही छ ।”

कांग्रेसले जित्ने स्थानमा अर्को दललाई टिकट दिइए गठबन्धनलाई नै नोक्सान पर्ने जिकिर उनको छ । यद्यपी, कांग्रेसभित्रै नेताहरुको दाबीप्रति पनि प्रश्नहरु उठिरहेका छन् । स्वयम् प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा भने लचक हुने अवस्थामा देखिएका छन् । देउवाले गठबन्धन तोडिए कांग्रेसलाई नोक्सान हुने आकंलन गरेका छन् ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा देउवाले अन्य दललाई पनि सम्मान महसुस गर्नेगरि खाका बनाउन नेताहरुलाई निर्देशन गरेका छन् । उनले कांग्रेस सबैभन्दा लचक हुन आवश्यक रहेको पनि नेताहरुलाई बताएका छन् ।

“मोटामोटी कति लचक हुने भन्ने छ, गठबन्धनको नेतृत्वकर्ता हामी हो, हामी सबैभन्दा बढी लचक हुनुपर्छ, अरुलाई आग्रह गर्नुपर्छ”, देउवाले नेताहरुलाई गरेको निर्देशनलाई उद्र्धत गर्दै एक नेताले भनेका छन् । जित्ने आधारसहित बाँडफाँटको खाका बनाउन नेताहरुलाई देउवाको निर्देशन छ ।

दलहरुबीच एकातिर बाँडफाँटको मोडालिटीमा सहमति छैन भने अर्कोतिर सिट संख्यामा पूर्ववत् अडान कायमै छ । १६५ सिटमा दलहरुको दाबी संख्या भने २ सयभन्दा बढी छ । गठबन्धनमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चा २ सिटमा दाबी प्रस्तुत गरेका छन् । यसमा सबै दल लचिलो नभएसम्म बाँडफाँट टुंगीने अवस्था छैन ।

यसअघि बिहीबार बसेको गठबन्धनको बैठकमा दलहरुबीच कांग्रेसले ८५–९०, माओवादीले ४५–५०, एकीकृत समाजवादीले १८–२०, जसपाले १५–१८ सिट लिनुपर्ने छलफल भएको थियो । तर, निष्कर्ष भने निस्कन सकेको छैन ।

सत्ता साझेदारबीच आइतबार पनि पुनः सिट बाँडफाँटबारे बैठक बस्दैछ । यदी आइतबारको छलफलमा सहमति हुन नसके दलहरु आ–आफ्नै ढंगबाट अगाडि जाने सम्भावना रहेको सत्ता गठबन्धनकै नेताहरुले बताएका छन् । त्यस्तो भएका वाम दलहरुबीच नयाँ मोर्चाबन्दी हुने सम्भावना धेरै छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पुष्पा न्यौपाने । घर नुवाकोट । दरबारमार्गस्थित केल्मीको शोरुमा संचालक । तर, उनै पुष्पाको

मान्छेको जिवनमा सम्बन्धको धेरै महत्व हुन्छ तर जब विश्वास टुट्छ वा विश्वास टुट्ने डर

काठमाडौं । नेकपा (एमाले)का निम्ति हालको सत्ता गठबन्धन निकै टाउको दुखाईको विषय बनेको छ

काठमाडौं । भारतको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहका सहयोगी सन्दिप राना नेपाली कांग्रेसको समानुपातिकको