Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

के हो डिप्रेसन ? कसरी गर्ने उपचार ?



१५ दिनदेखि दैनिकजस्तो उनीसँग भेट हुँदा उनको जवाफ “सधै ठिक छ दिदी” भन्थे । सधैँ झैँ त्यसदिन पनि उनलाई प्रश्न गरे, “भाई के छ तपाईंको आजको खबर ?” उनले प्रतिउत्तरमा भने, “डिप्रेस छु दिदी ।” उनले त्यसोभन्दा म आश्चर्यमा परेँ ।

“के भयो त त्यस्तो अचानक जसले गर्दा तपाईंलाई यस्तो महसुस भयो ?”, प्रतिप्रश्न गरेँ । उनले भने, “के हुनु र दिदी, मोबाइलको चार्जर बिग्रेर फोनमा ब्याट्री नभएर डिप्रेस छु ।”

धन्न अर्को मानसिक बिरामी थपिएन भन्ने सम्झेर मलाई थोरै सहज भयो । अनि हाँस्दै भने, “भाइ त्यसलाई पनि डिप्रेस भन्छन् त ?” उनले भने, “ल दिदी हाम्रो साथीले त यस्तोलाई नै डिप्रेस भन्छन त ।”

उनले मसँग यतिमात्र के भन्दै थिए, परबाट “बेड नम्बर ३२ को बिरामीको आफन्त आउनुस्” भनेर सिस्टरले बोलाउनु भयो । उनी “ल दिदी एकछिनमा आउछु है” भनेर त्यहाँबाट गए । उनी त्यहाँबाट गए तर उनले धेरै प्रश्न छोडेर गएजस्तो लाग्यो ।

मलाई मनमा कौतुहलता लाग्यो । यो ‘डिप्रेस’ भन्ने शब्द किन यति सस्तो ? डिप्रेस हुनु भनेको मोबाइलको चार्ज बिग्रेर हुनु हो त ? मलाई लाग्यो उनले मात्र यसरी बुझेका हुन् कि अरुले पनि यसरी नै सोच्छन् डिप्रेसका बारेमा ।

अर्को उनकै उमेर समूहको देखिने एकजना बिरामीको कुरुवा भाइसँग पनि यसबारेमा बुझाैं न भन्ने लागेर उनको नजिक गए । अरुकुरा गर्दै उनीसँग पनि त्यहि प्रश्न दोहोर्‍याएँ ।

“तपाईंको बुझाईमा डिप्रेस वा डिप्रेसन भनेको के होला भाइ ?” जवाफमा उनले भने, “कलेज जाने बेलामा ढिला भएर बस छुट्छ अनि डिप्रेस फिल हुन्छ नि ! कहिलेकाहीँ मोबाइलमा गेम खेलिरहेका बेला गर्लफ्रेण्डको फोन आएर धेरै डिस्टब गर्दा पनि डिप्रेस भएको जस्तो लाग्छ ।”

उनीहरुको बुझाईमा डिप्रेसन भनेको यस्तै थियो । कक्षा ११ र १२ मा पढ्ने ति दुई भाइहरुको जवाफले आम मानिसमा विशेषत युवायुवतीमा डिप्रेसनलाई कसरी लिँदा रहेछन् वा बुझ्दा रहेछन् भन्ने कुरा थोरै भएपनि थाहा भयो । साथै अर्कोकुरा युवा माझ ‘डिप्रेसन’ भन्ने शब्द चैँ अर्थ बुझेर भन्दा पनि सजिलोसँग “मलाई असहज भएको छ” भन्नलाई ‘डिप्रेसन’ लाई फेसनजस्तो प्रयोग गरेको होकि भन्ने मलाई महसुस भयो । हुन् त यसो भनिरहँदा यस समूहका हरेक युवाहरुले यसरी नै बुझ्छन् भन्ने जरुरी छैन ।

यसैबीच हाप्पी माइन्ड नामक संस्थाबाट मनोसामाजिक समस्या के हो ? यसको कसरी पहिचान गर्न सकिन्छ ? भन्ने विषयमा बसुन्धारास्थितसाउथ वेस्ट्रन कलेजका ११ र १२ कक्षाका झण्डै २५० विद्यार्थीहरुबीच छलफल तथा जानकारी गरायौं । ५–७ वटा मनोसामाजिक समस्याहरुका बारेमा उहाँहरुलाई बताउँदै “तपाइँहरुले यी मध्ये कुन–कुन समस्याका बारेमा सुन्नुभएको छ ?” भन्ने सामूहिक प्रश्न गर्‍यौं । उक्त प्रश्नमा हरेकले ‘डिप्रेसन’ भन्ने प्रतिउत्तर दिए । समय अभावको कारणले ती सबै भाइहरुसँग डिप्रेसनलाई कसरी बुझ्नुहुन्छ भनेर सोध्न त पाएनौ तर, यसबाट पक्का भयो कि डिप्रेसन भन्ने शब्दले भर्खरका युवाहरु माझ प्रसिद्धि कमाइरहेको रहेछ । बुझाई सबैको आ–आफ्नो किसिमको होलान् तर, वास्तवमा भन्नुपर्दा धेरै मनोसामाजिक समस्याका नामहरुमध्ये डिप्रेसन पनि एक हो ।

कसरी हुन्छ त डिप्रेसन ?

प्रश्न आउन सक्छ कि, आफु या अरुलाई डिप्रेसन भएको कसरी थाहा पाउने ? क्षणीकरूपमा कुनै कारणबस दुःखी भइन्छ भने यसलाई सामान्यतयाः मानिसका मनमा अचानक आउने भावनाको रूपमा लिने गरिन्छ । तर, लामो समयसम्म दुःखी भन्दा पनि उदास रहने, उदास देखिने जसले गर्दा आफ्नो दैनिक व्यक्तिगत र सामाजिक जीवनमा नै असर गरिरहेको छ भने यसलाई डिप्रेसन भएको अनुमान गर्न सकिन्छ ।

अभियानकै क्रममा कसै कसैले भन्नु हुन्छ “मेरो टाउको १०० किलोको भारले किचेको जस्तो भएको छ । मेरो शरीरमा जहिल्यै थकान मात्र महसुस हुन्छ । खै के भयो आजभोली निन्द्रै लाग्दैन तर, ढल्कीरहुँ जस्तो लागिरहन्छ । जति निदाए पनि निन्द्रै पुग्दैन । अथवा टोलाएर मात्र बस्छ । गफ गर्न खोज्दैन ।” पहिले जस्तो नभएर यस्तै यस्तै गुनासो गरिरहन्छ । यसलाई डिप्रेसनको सुरुवाती चरण भएको भन्न सकिन्छ ।

यी पनि डिप्रेसनका लक्षण हुन्

हामीले डिप्रेसनको समस्या भएको पहिचान त्योसँग सम्बन्धित केही लक्षणबाट थाहा पाउन सक्छौं । जानौं डिप्रेसनसँग सम्बन्धित केही लक्षण :

– आफ्नो सोचाईहरुमा आफु एक्लो, उदासिन र हतोत्साहि भएको महसुस हुनुका साथै कुनै कुरामा पनि आशावादी नहुने ।

– आफुलाई मनपर्ने क्रियाकलापहरुमा पनि आफुलाई इच्छा र जागर नचल्ने ।

– शरीरमा तागत नभएको अनि जहिल्ये पनि थकान जस्तो महसुस गर्ने ।

– चिड्चिडापन हुने ।

– खाना र निन्द्रामा गडबडी हुने ।

– शारीरिक रूपमा दुखाई या परिवर्तन महसुस हुने । जस्तै : टाउको दुख्ने, पेट दुख्ने, ढाड दुख्ने ।

– उपचारपश्चात पनि पेटमा वा शारीरिक दुखाई कम नहुने ।

– एकाग्र भएर गर्नुपर्ने कार्यहरुमा अप्ठेरो हुने ।

– आफुले दैनिक गर्ने काम पनि गर्न असहज महसुस हुने ।

– कसै कसै मादक पदार्थ सेवन गर्नेतर्फ जाने ।

सामान्यतयाः यस्तो लक्षणहरुलाई पनि डिप्रेसनको सुरुवाती लक्षण मान्न सकिन्छ । यस्तो अवस्थामा त्यस्ता व्यक्तिको ख्याल गरिएन वा व्यक्ति स्वयम् आफै पनि आफुलाई के भइरहेको छ भनेर मनोसामाजिक विज्ञसँग परामर्श गरेन भने कालान्तरमा यसले जोखिम अवस्थामा पुर्‍याउन सक्छ ।

डिप्रेसन र जोखिम अवस्था

डिप्रेसन बढ्दै जाँदा यसले जोखिम निम्त्याउँछ । अहिले आत्महत्या गर्ने प्रमुख कारणहरुमा डिप्रेसन पनि एक हो । डिप्रेसनका कारण हुने गहिरो निराशापन र उदासीनताले गर्दा व्यक्तिले यसबाट भाग्ने एउटा उपाय केवल मृत्यु नै हो भन्ने सोच्छन् ।

जस्तै : आफु बँच्नुको कुनै अर्थ छैन भन्दै मर्ने र मार्ने कुरा गरिरहनु ।

– जीवनप्रति अलिकति पनि आशावादी नरहनु ।

– मृत्यु र मारिने कुराहरुको बारेमा अनौठो कुराहरु मात्र गरिरहने ।

– आफुले नजिक ठानेको व्यक्तिसँग आफ्नो अन्तिम भेटको बिदाई माग्नु ।

– म भएन भने सबै ठिक हुन्छ र सबै खुसी हुन्छन भने म किन बाँच्ने, मेरो कारणले सब दुःखी छन् भन्ने लाग्छ भने ।

यदि तपाईंहरुको आफन्त, साथीभाई र छरछिमेकमा कुरा हुँदा माथि दिइएका बुँदाहरुमध्ये कसैले तपाईंसँग यस्तै भनिरहेको छ भने यसलाई हल्कारूपमा लिएर “जे पायो त्यै सोचेर जवाफ नदिनुहोला । बरु उसको भावनालाई मनन गरेर उसको कुरामा चासो दिएर सुन्नु र उसको मन बुझ्न जरुरी हुन्छ । साथै यस्तो भवना आउने व्यक्तिलाई मनोचिकित्सक वा मनोवैज्ञानिक कहाँ परामर्शको लागि जान उत्प्रेरणा दिनु तथा लैजानु उपर्युक्त हुन्छ ।

नेपालीमा एक भनाइ छ नि “सुख बाँडे दोब्बर, दुःख बाँडे आधा” तर हामी के भन्छौं भने सही ठाउँमा, सही व्यक्तिसँग आफ्नो मनको भावना बाँड्नु भयो भने आधा वा झनै दोब्बर, तेब्बर फाइदा हुन्छ । किनकी, डिप्रेसनले गर्दा हुने असर छालजस्तो हुन्छ । त्यसैले बेलैमा आफ्ना आफन्त साथी भाइलाई पनि त्यस्तो भएको छ भने पहिचान गरौं र आफुले सक्दो सहयोग गरौं । ताकि, भोली समय वितिसक्दा मैले केही गर्न सकिन भनेर पश्चाताप गर्नु नपरोस् ।

(लेखिका सुब्बा साइको सोसल काउन्सुलर हुन् ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।