
डा. विदुर चालिसे, काठमाडौं
‘दिन्छु, दिन्छु, दिन्छु भनेपछि दिन्छु !’
उसँग नदिने कुरा त कुनै थिएन तर दिने कुरा पनि केही थिएन । प्रत्यक्ष भगवानको स्वरूपमा काया–पलटको अवतार लिएर ऊ कराइरहेको थियो । जहिल्यै पाइरहने तर कहिल्यै नपाउने मान्छेहरू प्यासले आँमुख गरेर आकासतिर फर्किरहेका थिए ।
ट्वाल्ल हेरिरहेको एकजनाको छोराले उस्को बाबुलाई भन्यो ।
‘आफ्नो हात जगन्नाथ ! अब म राजनीति गर्न लागेँ ।’
छोराको कुरा सुनेर बाबू अचम्म पर्याे । मेहनत गरेर पढिरहेको छोराको कुराले बिलखबन्द पर्याे। भविश्यमा छोरालाई डाक्टर वा इन्जिनियर बनाउने सोच बाबुको थियो । तुषारापात भयो । बाबुले छोरालाई सोधे ।
‘तँलाई कसले मन बिगार्याे र यस्तो कुरा गर्छस् ?’
‘हजुरले मलाई बिगार्नसम्म बिगार्नु भयो ।’
‘यति राम्रो कलेजमा पढ्छस् । पढाइ, आनीबानी एकदम राम्रो छ । के भो तिमीलाई ?’
माया र स्नेहको भावमा बाबुले सम्झाउन थाले । छोरो सम्झन तयार भएन । उसले बाबुलाई प्रतिप्रश्न गर्याे ।
‘हजुर महान डाक्टर हैन ?’
‘विशेषज्ञ पनि हो ।’
‘प्राध्यापक हैन ?’
‘उम, त्यो पनि हो त !’
‘लेखक अनि समाजसेवी पनि हैन ?’
‘लगभग सबै हो !’
‘ल सुन्नोस, तपाईं यश महान देशको महान नागरिक ! तपाईं बजारमा जनतालाई केही बेच्न सक्नुहुन्न तर हेर्नाेस त जाली, फटाहा, गुण्डा, भ्रष्ट्राचारी, व्यभिचारी, ज्यानमारा र दलालहरू तपाईलाई सबथोक दिन्छु भनेर बर्बराइरहेका छन्। त्यसकारण अब पढ्दिन म, राजनीति गर्छु !’
‘राजनीति गरेर के गर्छस् !’
‘पैसा, इज्जत, शान, दम्भ र अधिकार कमाउँछु अनि तपाईं जस्ता लाखौं मान्छेहरूलाई बेबकूफ बनाउँछु ।’
‘प्रतिष्ठा चाहिंदैन ?’
‘त्यो त घर, घडेरी, बङ्गला, गाडी र बैंक व्यालेन्स भएपछि आफै आउँछ !’
‘थुइक्क ललाली लाल !’
ऊ फोक्सोको सास खुस्किउन्जेल तुरूक तुरूक गरेर मन्चमा कराइरहेको थियो ।
‘परिवर्तन हाम्रै पालामा सम्भव छ !’