
वसन्त अनुभव, घोराही, दाङ
उसलाई निकै कर गर्थे साथीहरू । तर ऊ सधैँ अस्वीकार गर्ने गर्दथ्यो ।
“तँ मुला ! के आइमाई जस्तो गर्छस् ? मर्द भएपछि नखाएको चिज खानुपर्छ, नगरेको चिज गर्नुपर्छ ।“ उमेशले उसलाई उक्सायो ।
‘हैन ! के साह्रो डराएको ? कि त नामर्द होस् र यार ? अब त शङ्का पो लाग्नथाल्यो ।’ बिमलले खिल्ली उडाउँदै भन्यो ।
‘जेपिटी ! बोल्न पाए भन्दैमा साह्रै नभन न यार ! यस्तो पनि मर्दाङ्गीको काम हुन्छ ? कुनै राम्रो काम गर् भन न, जतिबेला नि तयार छु । तर प्लिज ! यसमा करकाप नगर ।’ उसले अझै इन्कार गरिरह्यो ।
‘भो भो साथीहरू ! छोडिदेऊँ यसलाई । यो काम यसको वशमा छैन । जाँ ! बुढीको पछ्यौँरी ओढेर सुत् । कस्तो पानीमरुँवा साथी परेछ, भने ।’ उमेशको कुराले नराम्ररी पिरोल्यो, उसलाई । खपिनसक्नु पीडा भयो । झोकमा नजिकै राखेको गिलास उठाएर स्वाट्ट पार्यो ।
‘तिमी .. मु..मुलाहरू ! म.. लाई नामर्द भन्ने ..। देखिस् .. म के रहेछु ..?’ केही समयपछि ऊ भट्टीमा बसेर लर्बरिएको स्वरमा फलाक्दै थियो ।